नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

एमाले र ने.का.को गठबन्धन सरकारका अर्थमन्त्रीद्वारा प्रस्तुत बजेट परम्परावादी प्रकारको छ । त्यसका मुख्य कमजोरीहरू के छन् भने, प्रथम, त्यसले सामन्ती संरचनामा सुधारका लागि कुनै खास योजना ल्याएको छैन । त्यसरी त्यसमा भूमिसुधारको पक्षलाई पूरै उपेक्षा गरिएको छ । द्वितीय, त्यसले विदेशी पूँजीलाई बढीभन्दा बढी सुविधा दिने नीति अपनाएको र राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहना दिने तथा संरक्षण गर्ने कुरालाई उपेक्षा गरेको छ । तृतीय, विकासको नीति परम्परावादी प्रकारको छ र विकेन्द्रित र संतुलित प्रकारको विकास नीति अपनाउने कुराको उपेक्षा गरिएको छ । चतुर्थ, विदेशस्थित प्रवासी नेपालीहरूको हक र अधिकारको रक्षा गर्ने र उनीहरूलाई मताधिकार सुनिश्चित गर्ने कुरालाई पूरै उपेक्षा गरिएको छ । वर्तमान सरकारको चरित्रगत प्रकारको विशेषताका कारणले नै यस प्रकारको बजेट आएको छ । 

कृषि हाम्रो अर्थतन्त्रको आधारभूत अङ्ग हो । कृषिको उत्पादकत्व र वैज्ञानिक कारणद्वारा नै त्यसको विकास हुन सक्दछ । तर जमीनमा मेहनतकश किसानहरूको स्वामित्व तथा उनीहरूमाथिको सामन्ती शोषणको अन्त नगरिकन कृषिको विकास हुन सक्दैन । अर्थतन्त्रको विकासका लागि उद्योगको विकासले पनि निर्णयात्मक महत्व राख्दछ । अहिलेको बजेटले विदेशी पूँजीलाई बढीभन्दा बढी सुविधा दिने नीति अपनाएको छ । तर राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहित गर्ने तथा विदेशी प्रतिस्पर्धाबाट उनीहरूको संरक्षण गर्ने दिशातिर ध्यान दिएको पाइन्न । विशेष आर्थिक क्षेत्रहरूको योजना पनि बढी विदेशी पूँजीको हितमा छ र त्यसले मजदुरहरूको अधिकारमा कटौती गर्दछ । त्यसकारण विशेष आर्थिक क्षेत्रहरूमा जोड दिने बजेटको नीतिलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ । त्यसरी अहिलेको बजेट कृषि र राष्ट्रिय उद्योग दुवैको हितमा छैन । 

नेपालमा सरकारले विद्युतसम्बन्धी सबै ठूला परियोजनाहरू विदेशीहरूलाई दिने नीति अपनाउँदै आएको छ । अहिले पनि सरकारले त्यही नीति अपनाएको छ । हामीले जल विद्युतसम्बन्धी ठूला परियोजनाहरू पनि राष्ट्रिय लगानीमा सञ्चालन गर्ने वा आवश्यकतानुसार, तिनीहरूलाई सञ्चालन गर्न राष्ट्रिय हितमा आँच नपुग्ने गरी विदेशी ऋण लिने नीति अपनाउनु पर्दछ । तर सरकारले जल विद्युत योजनाहरू विदेशीहरूलाई दिने नीति अपनाउँदै आएको छ र त्यो नीति राष्ट्रिय हितका विरुद्ध छ ।

नेपालमा अहिलेसम्म अपनाइदै आएको विकास नीतिमा आमूल परिवर्तनको आवश्यकता छ । अहिलेसम्मको विकास नीतिमा परिवर्तन गरेर विकेन्द्रित र संतुलित प्रकारको विकास नीति अपनाइनु पर्दछ । त्यसरी नै सबै दूरवर्ती, दुर्गम, पिछडिएका र ग्रामीण क्षेत्रहरू सहित देशको सर्वाङ्गीण विकास हुन सक्ने छ । त्यसैले विकेन्द्रित र सन्तुलित प्रकारको विकास नीति अपनाउनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिंदै आएको छ । 

सरकारले स्थानीय निर्वाचन सम्पन्न गर्ने जुन नीति अपनाएको छ, त्यसलाई हाम्रो पार्टीले दृढ समर्थन गर्दछ । तर संविधानसभाभित्र र बाहिरका पनि कतिपय राजनैतिक शक्तिहरूले स्थानीय निर्वाचनको विरोध गर्ने र त्यसलाई सफल हुन नदिने नीति अपनाएको सन्दर्भमा त्यो चुनावलाई सफल पार्नु सजिलो हुने छैन । हाम्रो पार्टीले स्थानीय निर्वाचनलाई सफल पार्न सरकारको नीतिलाई पूरा सहयोग दिनेछ । 

हाम्रो पार्टीले प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि रु. १ करोड छुटाउने जुन नीति अपनाएको छ, त्यसलाई सही मान्दछ । त्यो नीतिले विकासलाई विकेन्द्रित र सन्तुलित रूपले अगाडि बढाउन केही मद्दत पुग्नेछ । तर त्यस सन्दर्भमा हाम्रो पार्टीले, प्रथम, त्यो रकमलाई अरू वृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । द्वितीय, प्रत्यक्ष र समानुपातिक सभासदहरूका बीचमा भेदभाव गर्ने कुनै पनि नीतिलाई गलत मान्दछ । त्यसको साथै हाम्रो पार्टीले सभासदहरूद्वारा रकम हिनामिना र भ्रष्टाचार गर्न नपाउने कडा व्यवस्था गर्नुपर्ने आवश्यकतामा पनि जोड दिन्छ । 

पर्यटनबारे पनि सरकारले परम्परावादी प्रकारको नीतिमा जोड दिएको छ । पर्यटनको सन्दर्भमा ग्रामीण पर्यटनमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । पर्यटनका दृष्टिले देशका प्रत्येक गाउँ, महत्वपूर्ण छन् र ऐतिहासिक, सांस्कृतिक र सामाजिक दृष्टिले प्रत्येक गाउँका आफ्नै विशेषता र विविधता छन् । त्यो अवस्थामा ग्रामीण पर्यटनको विकासमा जोड दिने बित्तिकै नेपालको पर्यटन व्यवसायमा एकैपल्ट गुणात्मक विकास हुनेछ । केही सामान्य पूर्वाधार तयार पार्ने बित्तिकै ग्रामीण पर्यटनको विकासमा धेरै मद्दत पुग्ने छ । 

देशका विभिन्न शोषित, उत्पीडित वर्ग, जन समुहहरूको हितका लागि बजेटले कुनै व्यवस्था गरेको देखिन्न । त्यस सन्दर्भमा मजदुर, किसान, महिला, जनजाति, दलित जाति, आदिका हितहरूका लागि बजेटमा कुनै खास व्यवस्था गरिएको छैन । बालबालिकाको हितका लागि पनि कुनै खास ध्यान दिइएको छैन । जेष्ठ नागरिकहरूले लामो समयदेखि स्वास्थ्य, यातायात आदि समेतबारे सामान्य प्रकारका सुविधाहरूका माग गरेर आन्दोलन गरिरहेका छन् । उनीहरूका न्यायपूर्ण मागहरू पूरा गर्नेतिर पनि बजेटले कुनै खास ध्यान दिएको पाइन्न । 

मानव सूचकाङ्कका आधारमा पिछडिएका जात, जातिको सूची तयार पारेर उनीहरूका हितहरूको संरक्षणका लागि विशेष व्यवस्था गरिनु पर्दछ । उक्त प्रश्नमा सरकारले कुनै खास ध्यान दिएको पाइन्न । 

नेपालको जनसङ्ख्याको ठूलो भाग विदेशमा बस्दछ । विदेशमा बस्ने नेपाली नागरिक वा प्रवासी नेपालीहरूका हक, हितको संरक्षण तथा मताधिकारका अधिकारका लागि देशभित्र र विदेशमा समेत उनीहरूले लामो समयदेखि आवाज उठ्दै आएको छ । विदेशमा नै मतदाता परिचयपत्र दिने व्यवस्था नगर्दा नेपाली नागरिकहरू ठूलो सङ्ख्यामा मतदानको अधिकारबाट बन्चित हुने गरेका छन् । त्यो अवस्थामा उनीहरूका हक, हित, मताधिकार र विदेशमा नै मतदाता परिचय पत्र बनाउन विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता छ । त्यसका साथै विदेशस्थित आवासीय नेपालीहरूका न्यायपूर्ण हक हितका लागि पनि विशेष ध्यान दिन हाम्रो पार्टीले विशेष जोड दिन्छ । उक्त पक्षबारे पनि बजेटमा कुनै व्यवस्था गरिएको छैन ।

महङ्गी देशको गम्भीर समस्या बनेको छ । अहिले वजेटले त्यसमा नियन्त्रणको लागि कुनै ठोस व्यवस्था गरेको छैन । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि तथा पेट्रोलियमका कारणले त्यसका लागि ठूलो पैमानामा हुने गरेको घाटाका कारणले जनजीवन तथा देशको अर्थतन्त्रमा नै ठूलो क्षति पुग्ने गरेको छ । त्यो समस्याको समाधानका लागि सरकारले कुनै खास सन्तोषजनक योजना प्रस्तुत गरेको छैन । 

बजेटमा कतिपय सकारात्मक पक्षहरू पनि छन् । तर गतकालका अनुभवमाथि विचार गर्दा तिनीहरूका कार्यान्वयनबारे पूरै विश्वास गर्न सकिने अवस्था छैन । सरकारका भ्रष्ट, नोकरशाही स्वरूप तथा सत्तारूढ राजनैतिक शक्तिहरूको गैर जिम्मेवार दृष्टिकोणका कारणले अहिले पनि बजेटका सकारात्मक पक्षहरू पूरै लागू हुने बारेमा पनि शङ्का देखिन्छ । त्यसैले हाम्रो पार्टीले व्यापक जनदवावद्वारा तिनीहरूका कार्यान्वयन गर्नुपर्ने तथा अन्य जनपक्षीय र प्रगतिशील मागहरू पूरा गराउन पनि व्यापक जनमत तयार पार्नु पर्ने आवश्यकतामा जोड दिन्छ । 

२०७१०३३१


.....................
मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.