नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल)ले संविधानसभाको विघटन भएको यतिलामो समयसम्म पनि राष्ट्रिय सहमतिको सरकारको गठन हुन नसकेकोमा गम्भीर चिन्ता प्रकट गर्दछ । राष्ट्रिय सहमतिको सरकारको गठन नहुँदा संविधानसभाको चुनाव र संविधानको निर्माणका कार्यहरु समेत अवरुद्ध भएका छन् । त्यसको परिणामस्वरुप वर्तमान सरकार अनिश्चित कालसम्म रहिरहने, देशमा अधिनायकवादी शासन कायम हुने, अराजकता र  अशान्तिको वातावरण तयार हुने तथा  गणतन्त्र र राष्ट्रियता समेत समाप्त हुने खतरा बढ्दै गइरहेको छ । वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार गठन हुन नदिने र यही सरकारलाई नै निरन्तरता दिने रणनीतिमा कटिवद्ध भएको देखिन्छ । सरकारको त्यही नीति रहिरहेको अवस्थामा तेस्रो जनआन्दोलनमा जानु बाहेक अन्य कुनै विकल्प छैन भन्ने हाम्रो पार्टीको मत रहँदै आएको छ र अहिले पनि त्यही कुरामा जोड दिन्छ ।
राष्ट्रपतिद्वारा बारम्बार राष्ट्रिय सरकारको गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गर्नुका बाबजुद त्यो दिशामा कुनै प्रगति हुन सकेको छैन । खास गरेर माओवादी वा गठबन्धन सरकारको नीतिका कारणले त्यो कार्य अवरुद्ध भइरहेको छ । अहिलेको संवैधानिक व्यवस्था, राजनीतिक सन्तुलन र देशको राजनीतिक अवस्था समेतमाथि विचार गर्दा राष्ट्रपतिद्वारा राजनीतिक दलहरुलाई राष्ट्रिय सहमतिको सरकारका लागि आह्वान गर्ने बाहेक अरु कुनै खास निर्णयात्मक कदम उठाउनसक्ने सम्भावना पनि कमै देखिन्छ । त्यो अवस्थामा वर्तमान सरकारलाई विस्थापित गरेर राष्ट्रिय सहमतिको सरकारको गठनका लागि सशक्त आन्दोलन उठाउनु बाहेक अरु कुनै खास विकल्प देखिंदैन । त्यसका लागि हाम्रो पार्टीले सबै राजनीतिक शक्तिहरुको ध्यान आकर्षित गर्न चाहन्छ ।
यो आम रुपमा थाहा भएको कुरा हो कि संविधानको निर्माण नभइकन संविधानसभाको विघटन हुनुका पछाडि संघीयता पनि एउटा मुख्य कारण हो ।  खास गरेर राज्य पुनर्संरचनाको सन्दर्भमा माओवादीले अगाडि ल्याएका अवधारणाहरुका कारणलेनै जेष्ठ २ गतेको सम्झौता लागू हुन सकेको थिएन र संविधानको निर्माण नगरिकन संविधानसभाको विघटन भएको थियो । अहिले पनि राष्ट्रिय सहमतिको सरकारको निर्माणका सन्दर्भमा माओवादीहरुले बारम्बार त्यस प्रकारका धारणाहरुलाई अर्थात्, संविधानका विवादित् प्रश्नहरुमा उनीहरुका धारणाहरुमा सहमतिलाई पूर्व शर्तका रुपमा प्रस्तुत गरिरहेका छन् । वास्तवमा उक्त विषयहरुमा भएका विवादहरु संविधानसभाद्वारा संविधानको निर्माणको क्रममा टुंगिने विषयहरु हुन् । त्यसकारण त्यस प्रकारका अवधारणाहरुलाई सहमतिको पूर्व शर्तका रुपमा राख्नुको अर्थ राष्ट्रिय सहमतिको सरकारको गठनको मार्गमा ढोका बन्दगर्ने नीति अपनाउनु नै हो ।
अहिलेको स्थितिमा माओवादी नेतृत्वले राष्ट्रिय सहमतिको गठनका लागि लचिलो नीति अपनाउने निर्णय गरे पनि वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकारको गठनका लागि मार्ग प्रसस्त नगर्ने सम्भावना देखिन्छ । प्रचण्ड र भट्टराईका बाहिर आएका वक्तव्यहरु वा उनीहरुका अभिव्यक्तिहरुमा भएका विरोधाभाषबाट त्यस प्रकारको संकेत मिल्दछ । एकातिर, आफ्ना क्षेत्रीयतावादी सोचाईहरुलाई पूरा गर्नका लागि वर्तमान सरकार प्रतिको मधेशवादीहरुको बलियो समर्थन र, अर्कातिर, आफ्ना विस्तारवादी उद्देश्यहरु पूरा गर्न वर्तमान सरकारलाई लामो समयसम्म टिकाइराख्ने भारतीय विस्तारवादको नीतिका कारणले नै उनीहरुको नेतृत्वले निर्देशन दिए पनि भट्टराई सरकारले राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त नगर्ने सम्भावना देखिन्छ । त्यो स्थितिमा राष्ट्रिय स्तरमा शक्तिशाली जनआन्दोलनको आवश्यकता कैयौंगुणा बढेर जान्छ । त्यस प्रकारको जनआन्दोलन हुन सक्ने छ वा छैन ? त्यसले नै नेपालमा गणतन्त्रको सुदृढीकरण र राष्ट्रियताको रक्षाको भविष्यलाईपनि निर्धारित गर्नेछ ।
अहिले माओवादी र सत्ता गठबन्धनका तर्फबाट संविधानसभाको चुनावको ठाउँमा त्यसको पुनस्र्थापनामा जोड दिने विचारहरु पनि अगाडि आइरहेका छन् । ४ वर्षको अवधिमा पनि संविधानको निर्माण गर्न असफल भएको संविधानसभाको पुनस्र्थापनाको कुनै औचित्यता छैन । त्यसैले हाम्रो पार्टीले संविधानसभाको नयाँ निर्वाचनमा जोड दिंदै आएको छ । संविधानसभाको पुनस्र्थापना वास्तवमा अहिलेको सत्तालाई लम्बाउने एउटा षडयन्त्र मात्र हो । त्यसैले हाम्रो पार्टीले संविधानसभाको पुनस्र्थापनको कुनै पनि प्रयत्नको विरोध गर्दै त्यसको पुनःनिर्वाचनमा नै जोड दिन्छ ।
देशमा महिलाहरुमाथि बढ्दो हिंसाको घटनाप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता र क्षोभ प्रकट गर्दछ । त्यस सिलसिलामा हामीले निष्पक्ष छानवीन गरेर अपराधिहरुमाथि शीघ्र र प्रभावशाली कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं । हाम्रो यो पनि स्पष्ट मत छ कि अहिले देशमा महिलाहरुमाथि भइरहेको हिंसामा वृद्धि वास्तवमा एकातिर, सम्पूर्ण समाजमा महिलाहरुमाथिको अन्यायपूर्ण र भेदभावपूर्ण प्रणाली र, अर्कातिर, देशमा बढिरहेको दण्डहीनताको परिणाम पनि हो । समाजका सबै क्षेत्रहरुमा महिलाहरुप्रति भेदभाव गरिन्छ, जसभित्र सम्पत्तिमा महिलाहरुको असमान अधिकार पनि सामेल छ । महिलाहरु माथि हुने हिंसात्मक कार्यहरुका लागि कारवाही र सजायको लागि कुनै प्रभावशाली व्यवस्था छैन । त्यसका साथै देशमा अपराधका घटनाहरु लगातार बढ्दै गइरहेका छन् । स्वयं राजनीतिक शक्तिहरुका तर्फबाट संगठित रुपमा अपराधजन्य कारवाहीहरु गरिने गर्दछन् वा राजनीतिक शक्तिहरुद्वारा त्यस प्रकारका अपराधजन्य कारवाहीहरुलाई संरक्षण प्राप्त हुने गर्दछ । ती सबैको सम्मिलित परिणामस्वरुप महिलाहरुमाथिका हिंसात्मक घटनाहरु लगातार बढ्दै गइरहेका छन् । त्यो अवस्थामा सम्पूर्णरुपमा महिलाहरुप्रतिका अन्यायपूर्ण र भेदभावपूर्ण सामाजिक प्रणाली तथा देशका सबै क्षेत्रमा बढीरहेका अपराधजन्य कारवाहीहरुका लागि कडा सजायको व्यवस्था गर्दै तात्कालिन रुपमा महिलाहरुमाथि हुने हिंसात्मक कारवाहीहरुका लागि पनि प्रभावशाली कारवाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
महिलामाथिका हिंसाका सन्दर्भमा नयाँ दिल्लीमा हालै घटेको दामीनी माथि चलिरहेको बसमा सामूहिक बलात्कारको घटना पनि विशेष रुपले उल्लेखनीय छ । भारतमा महिलाहरुको हक र अधिकारको संरक्षणका लागि संवैधानिक र कानूनी रुपमा प्रसस्त व्यवस्था गरिएको छ । त्यसका बाबजुद दिल्लीमा त्यस प्रकारको जघन्य अपराध हुनसक्यो । भारतमा ठूलो पैमानामा त्यस प्रकारका घटनाहरु भइरहेका समाचारहरु पनि लगातार आइरहन्छन् । दिल्लीमा भएको त्यो घटना र भारतभरी महिलाहरुमाथि हुने हिंसात्मक कारवाहीहरुबाट सामाजिक व्यवस्थामा आमूल परिवर्तन नहुँदासम्म महिलाहरुमाथिका अन्याय र अत्याचारहरु बन्द नहुने कुरा प्रष्ट गर्दछ । त्यो अवस्थामा महिलाहरुमाथिको हिंसालाई समूलरुपमा अन्त्य गर्न विद्यमान सामाजिक व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्ने  आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । तर अहिले कतिपय राजनीतिक शक्ति वा महिला संगठनहरुले पनि सामाजिक व्यवस्थामा आमूल परिवर्तन नगरिकन महिलाहरुमाथिका हिंसालाई समाप्त गर्न आवाज उठाएको पाइन्छ । त्यो सिमाभित्र पनि महिलाहरुमाथि हुने हिंसाको विरोधका प्रयत्नहरुलाई समर्थन गर्दै विद्यमान सामाजिक व्यवस्थामा नै आमूल परिवर्तन गर्न संगठित र व्यापक रुपमा आन्दोलन उठाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्बन्धित सबै पक्षहरुसित अपील गर्दछ ।  

मिति ः २०६९ पौष १७ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.