नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको निधनमा ने.क.पा. (मसाल) ले गहिरो दुःख प्रकट गर्दै उहाँप्रति उच्च श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै हामीले उहाँका सन्तप्त परिवारजन र इष्टमित्रहरुप्रति पनि समवेदना प्रकट गर्दछौँ । उहाँ नेपाल कम्युनिस्ट आन्दोलनको धरोहर हुनुहुन्थ्यो । उहाँहरूले गठन गरेको कम्युनिस्ट पार्टीको अहिले कैयौँ टुक्राहरूमा विभाजन भएको छ र उनीहरुका बीचमा गम्भीर प्रकारका राजनीतिक मतभेद छन् वा संघर्षहरु चलिरहेका छन् । तै पनि उहाँ नेपालको कम्युनिस्ट आन्दोलनसित सम्बन्धित सबै पक्षहरूको आदरणीय नेता हुनुहुन्थ्यो र सबैले उहाँलाई सम्मान गर्दै आएका छन् । उहाँको निधनबाट पुरै कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको छ । उहाँ जीवनभर नै माक्र्सवादीलेनिनवादी सिद्धान्त र उद्देश्यहरूप्रति इमान्दार र दृढ रहनु भयो । त्यसैले उहाँबाट हामी सबैले शिक्षा लिनु पर्दछ । उहाँले जसरी आफ्नो सम्पूर्ण जीवन कम्युनिष्ट आन्दोलनका लागि समर्पण गर्नुभयो त्यसबाट भावी पुस्ताहरुले पनि उहाँबाट प्रेरणा लिइरहनेछन् भन्ने हामीले विश्वास गरेका छौं ।
हाम्रो पार्टीले सर्वोच्च अदालतको एकल इजलासले माथिल्लो कर्णालीको जलबिद्युत परियोजनासम्बन्धी सम्पूर्ण कारवाहीलाई रोक्नका लागि दिएको अन्तरिम आदेशलाई स्वागत गर्दछ । केही दिन पहिले सञ्चारमाध्यमहरूले प्रकाशित गरेको समाचार अनुसार सर्वाेच्च अदालतको डबल बेन्चले माथिल्लो कर्णालीसम्बन्धी जलविद्युत परियोजनालाई संसद्को दुईतिहाई बहुमतद्वारा अनुमोदन गर्न आवश्यक नभएको फैसला दिएको थियो । त्यो फैसलाले माथिल्लो कर्णालीको प्राकृतिक श्रोत साधनसम्बन्धी सम्झौताको मात्र गलत व्यवस्था गरेको थिएन, त्यसले प्राकृतिक श्रोत र साधनबारे सम्झौताका लागि दुईतिहाई बहुमतको अनुमोदन नचाहिने अत्यन्त गलत प्रकारको नजीर समेत स्थापित गर्ने प्रयत्न गरेको थियो । त्यसबाट देशमा राष्ट्रघातको गम्भीर खतरा उत्पन्न भएको थियो । अहिले अपरकर्णालीसम्बन्धी सर्वोच्च अदालतको इजलासले गरेको फैसलाबाट त्यस प्रकारको राष्ट्रघातको खतराबाट बचाउनका लागि केही सम्भावना देखापरेको छ । तैपनि त्यो खालि अन्तरिम आदेश मात्र भएकाले त्यो आदेशबाट माथिल्लो कर्णाली सम्बन्धी सम्झौताबाट सम्भावित राष्ट्रघातबाट देशलाई बचाउनका लागि व्यापक जनमत, जनदवाव र जनआन्दोलनको आवश्यकता छ । त्यसका लागि त्यो क्षेत्रका जनताले चलाइरहेको आन्दोलनसित ऐक्यबद्धता प्रकट गर्दै त्यो सम्झौताका विरुद्ध व्यापक जनमत र जनदबाव सिर्जना गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
यस सन्दर्भमा अरु दुईवटा कुराहरुप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्रथम, उच्चस्तरीय राजनीतिक नेताहरु र सरकारका गलत, अराष्ट्रिय र भ्रष्ट नीतिहरुका कारणले नै माथिल्लो कर्णाली सम्बन्धी सम्झौता हुन गएको हो । त्यसकारण राजनीतिक दल र सरकारका त्यस प्रकारका गलत र भ्रष्ट नीतिहरुका विरुद्ध व्यापक जनचेतना उठाउनु पर्ने आवश्यकता छ । द्वितीय, हामीले खाली माथिल्लो कर्णाली सम्बन्धी राष्ट्रघाती सम्झौताबाट मात्र होइन, त्यही प्रकारका पहिले भएका वा पछि हुने सम्झौताहरुबाट जलसम्पदा सहित देशका अन्य प्राकृतिक स्रोत र साधनहरुको रक्षा गर्नका लागि पनि व्यापक जनचेतना उठाउनु पर्ने आवश्यकता छ ।
नेकपामाओवादीका नेताहरूद्वारा राष्ट्रिय स्वाधीनताका पक्षमा पूर्व राजा ज्ञानेन्द्र सबैभन्दा राष्ट्रवादी भएको तथा उनीहरूसित सहकार्य गर्न सकिने कुरा बताएका छन् । अहिलेको अवस्थामा राष्ट्रियताका अगाडि गम्भीर खतरा उत्पन्न भएको र त्यसका पक्षमा व्यापक राष्ट्रिय आन्दोलन गर्नु पर्ने आवश्यकता भएको कुरा सत्य हो । तर त्यस सन्दर्भमा राष्ट्रियताको पक्षलाई प्रधानता दिएर गणतन्त्रको पक्षलाई गौण बनाउने कुराको हामीले लगातार विरोध गर्दै आएका छौँ । हाम्रो पार्टीले लोकतन्त्र र गणतन्त्र दुबैमाथि समान रूपले जोड दिदै आएको छ । तैपनि अहिले राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएको, त्यसलाई सुदृढ गर्ने कार्य अझै बाँकी रहेको, राजावादीहरूले राजतन्त्र, हिन्दू राज्यको पुनस्र्थापनाका लागि सङ्गठित रूपले प्रयत्न गरिरहेको तथा पूर्व राजाको सक्रियता पनि बढिरहेको अवस्थामा लोकतन्त्र वा गणतन्त्रका रक्षाको प्रश्न प्रधान भएको छ । यो स्थितिमा राजावादीहरूको विरुद्ध प्रहार केन्द्रित गर्नु राष्ट्रिय आवश्यक भएको छ । त्यस प्रकारको अवस्थामा राष्ट्रियताको पक्षलाई प्रधान बताएर पूर्व राजा र पूर्व पञ्चहरु समेतसित सहकार्य गर्ने सोचाइ अत्यन्त घातक सोचाइ हो । त्यस प्रकारको सोचाइले प्रतिगमनलाई नै बल पुयाउने कुरा प्रष्ट छ । यस प्रसंगमा नेपालमा राजाहरुको निरंकुश शासन भएको बेलामा नै कालापानीमा भारतीय सेनाले कब्जा जमाएको, कैयौं स्थानहरुमा सीमा अतिक्रमण भएको तथा भारतसित कैयौं गोप्य सम्झौताहरु समेत भएको वास्तविकता माथि ध्यान दिंदा राजा वा राजतन्त्रको मातहतमा राष्ट्रियताको रक्षा हुन सक्दछ भन्ने सोंचाई पनि भ्रामक भएको कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौं ।
हामीले माओवादीको राष्ट्रियताका पक्षमा जोड दिने नीतिलाई समर्थन गर्दै आएका छौँ । तर त्यसलाई प्रधान ठान्ने विश्लेषणबाट राजावादीहरूसित कार्यगत एकता वा सहकार्यको निष्कर्ष निस्कने तथा त्यसरी प्रकारान्तरले उनीहरूले आफ्नो सशस्त्र सङ्घर्षको कालमा अपनाएको राजासित छद्म कार्यगत एकताको नीतिको पुनराबृत्तिको सम्भावनाबारे आशङ्का प्रकट गर्दै आएका थियौँ । अहिले माओवादी नेताहरूले छद्म रूपले होइन, खुला प्रकारले नै पूर्व राजासित सहकार्यमा जोड दिन थालेका छन् । उनीहरूले राष्ट्रियताको आन्दोलन, संविधानसभाको चुनाव, लोकतान्त्रिक संविधान र गणतन्त्रप्रति अपनाउँदै आएको नकारात्मक दृष्टिकोणका पछाडि राजावादीहरूसितको छद्म गठबन्धनले काम गरेको त थिएन ? यो आशङ्का प्रकट गर्दै आएका थियौँ । तर अहिले पूर्व राजाको सन्दर्भमा उनीहरूले प्रकट गरेका विचारहरूबाट उनीहरुको नीयत त्यस प्रकारको भए वा नभएपनि त्यसबाट क्रान्तिकारी उद्देश्यलाई होइन, प्रतिगमनलाई नै बल पुग्ने कुरा स्पष्ट छ । अहिले उनीहरुले संविधानसभाको ठाउँमा गोलमेच सम्मेलनको कुरामा निकै जोड दिइरहेका छन् । तर संविधानसभाको कार्य गोलमेच सम्मेलनले गर्न सक्दछ भन्ने सोचाईलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न । त्यस सन्दर्भमा उनीहरुले पूर्व राजा वा राजावादीहरुलाई पनि गोलमेच सम्मेलनमा सहभागि गराउने माग गरे भने पनि त्यो कुनै आश्चर्यको कुरा हुने छैन । अहिले माओवादीहरुले पूर्व राजा र पूर्व पञ्चहरुबारे समेत जुन प्रकारका विचारहरु अगाडि ल्याएका छन्, त्यसबाट कुनै क्रान्तिकारी उद्देश्यहरूलाई होइन, पूर्व राजा वा राजावादीहरूको राजतन्त्र र हिन्दू राज्यको पुनस्र्थापनालाई नै बल पुग्ने सम्भावना छ । त्यसैले हाम्रो पार्टीले लोकतन्त्र, लोकतान्त्रिक संविधान, गणतन्त्र तथा  अहिलेको अवस्थामा संविधानसभाको चुनावलाई कमजोर पार्ने वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रतिगमनलाई बल पुयाउने सबै प्रकारका विचारहरूका विरुद्ध व्यापक जनचेतना उठाउनु पर्ने तथा जनमत र जनदबाव सृजना गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ । हामीले माओवादीहरुसित पनि ०६२०६३ को आन्दोलनका उपलब्धिहरु, गणतन्त्र, संविधानसभाको चुनाव र स्वयं उनीहरुले अपनाउँदै आएका सिद्धान्त र नीतिहरु समेतमाथि ध्यान दिंदै राजावादी वा प्रतिगमनलाई बल पुग्ने प्रकारका सबै विचारहरुलाई सच्चाउनका लागि अनुरोध गर्दछौं ।
नागरिकता नभएका व्यक्तिहरुको नाम पनि मतदाता सूचीमा सामेल गर्ने प्रश्नमा सरकार र सर्वोच्च अदालत तथा स्वयं सर्वोच्चभित्र पनि चलिरहेको एक प्रकारको द्वन्द्व र त्यो क्रममा देखापरिरहेका परस्पर विरोधी मतहरूबारे हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । पहिले नागरिकता नभएका व्यक्तिहरूको नाम पनि मतदाता सूचीमा सामेल गर्ने भन्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । तर पछि चार दलको सहमति, रेग्मी सरकारको निर्णय तथा राष्ट्रपतिको अध्यादेशद्वारा पुनः नागरिकता नभएका व्यक्तिहरूको नाम पनि अन्य प्रमाणहरुका आधारमा मतदाता नामावलीमा सामेल गर्ने व्यवस्था गरियो । पछि सर्वोच्चको एउटा इजलासले त्यो निर्णयलाई खारेज गरी खालि नागरिकता भएका व्यक्तिहरूलाई मात्र मतदान गर्ने अधिकार हुने आदेश दिएको थियो । अहिले पुनः सर्वोच्चको अर्को इजलासले पहिलेको व्यवस्थालाई खारेज गरी नागरिकता नभएका व्यक्तिहरूको नाम पनि मतदाता नामावलीमा सामेल गर्ने आदेश दिएको छ । त्यो अन्तरिम आदेशबाट देशमा नागरिकता नभएका विदेशीहरू पनि संविधानसभाको चुनाव वा अन्य निर्वाचनहरूमा मतदाता बन्न पाउने छन् । त्यसको परिणामस्वरूप विदेशीहरूले ठूलो सङ्ख्यामा नेपालको चुनावमा भाग लिने तथा देशमा फिजीकरणको खतरा बढ्ने सम्भावना छ । नागकिता नभएका व्यक्तिहरूलाई पनि मतदानको अधिकार दिनका लागि सरकार वा अदालतद्वारा बारम्बार भइरहेका परस्पर विरोधी निर्णयहरूले नेपालको प्रशासन र न्यायपालिकामा समेत गम्भीर प्रकारको असन्तुलन भएको कुरालाई नै बताउँछ । नागरिकता नभएका व्यक्तिहरुलाई पनि मतदानको अधिकार दिने निर्णयहरूका पछाडि नेपालमा वास्तविक नेपालीहरूका तुलनामा विदेशीहरूलाई बहुमतमा ल्याएर देशलाई फिजी बनाउनका लागि विदेशी शक्तिहरूले योजनाबद्ध प्रकारले षडयन्त्र गरिरहेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । यस प्रकारको स्थितिप्रति गम्भीर ध्यान दिएर नेपाललाई फिजीकरणको खतराबाट बचाउनका लागि हाम्रो पार्टीले सबै देशभक्त नेपालीहरूसित अपिल गर्दछ ।
अहिले निर्वाचन आयोगले प्रकाशित गरेको तथ्यांक अनुसार करिब ५३ लाख नेपालीहरुको नाम फोटो सहितको परिचयपत्रको सूचीमा समावेश भएको छैन । खास गरेर विदेशमा  भएका नेपाली नागरिकहरुले आफ्नो नाम सूचीकृत गर्न नपाउँदा ठूलो संख्यामा नेपालीहरुको नाम छुट्न गएको हो । त्यसका लागि हाम्रो पार्टीले विदेशस्थित नेपालीहरुलाई पनि फोटो सहितको परिचयपत्रमा नाम लेखाउनका लागि व्यवस्था गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएको छ । बेग्लाबेग्लै देशहरुमा भएका राजदुतावास, वाणिज्य दुतावास आदिद्वारा ती देशहरुमा नै नाम लेखाउने वा फोटो सहितको परिचयपत्र बनाउने काम गरिएको भए त्यति ठूलो संख्यामा नेपालीहरु आफ्नो अधिकारबाट बञ्चित हुने थिएनन् । कतिपय ठूला देशहरुमा एक भन्दा बढी संख्यामा फोटो सहितको परिचयपत्र बनाउने केन्द्रहरुको व्यवस्था गरेर पनि त्यो कार्य सम्पन्न गर्न सकिन्छ ।
भारत बाहेक अन्य देशहरुमा जाने सबै नेपालीहरु पासपोर्ट लिएर नै गएका हुन्छन् । त्यसकारण त्यहाँ त्यस प्रकारको व्यवस्था गर्न कुनै खास कठिनाइ थिएन । भारतमा जाने नेपालीहरुसित पनि प्रायशः सबैसित नागरिकतापत्र हुन्छ । भारतमा करिब आधा दर्जन प्रमुख शहरहरुमा फोटो सहितको परिचयपत्र बनाउने केन्द्रहरुको स्थापना गरेर काम गरिएमा त्यो कार्य पूरा हुन सक्दथ्यो । त्यसैले हाम्रो पार्टीले त्यो विषयमा ध्यान दिनका लागि सरकार र निर्वाचन आयोगसित समेत अनुरोध गर्दछ । अझै पनि नाम दर्ताको केही समय बढाएर त्यो कार्य पूरा गर्न सकिन्छ र त्यसका लागि हाम्रो पार्टीले विशेष जोड दिन्छ । 
अहिले देशमा रोजगारीका लागि देशमा जानेहरुको संख्या लगातार बढिरहेको अवस्थामा विदेशस्थित नेपाली नागरिकहरुको नाम फोटोसहितको परिचयत्रिमा छुट हुँदा देशमा गम्भीर प्रकारको राजनीतिक असन्तुलन देखापर्ने स्थिति उत्पन्न भएको छ । एकातिर, भारतसितको खुला सिमानाका कारणले उनीहरु ठूलो संख्यामा सजिलैसित नेपालमा प्रवेश गर्ने र विभिन्न प्रकारले नेपालको नागरिक, वंशज नागरिक वा मतदाता बन्दै जाने र, अर्कातिर, नेपालका वास्तविक नागरिकहरु विदेशमा भएकाले फोटो सहितको परिचयपत्र वा मतदाताहरुको नामावलीमा उनीहरुको नाम दार्ता नहुँदा त्यसबाट देशमा गम्भीर प्रकारको राजनीतिक असन्तुलन पैदा हुने र देशको राष्ट्रियतामा नै गम्भीर खतरा पुग्ने सम्भावना छ । त्यसकारण उक्त प्रश्नहरुप्रति गम्भीर ध्यान दिन ने.क.पा. (मसाल)ले सम्बन्धित सबै पक्षहरुसित अपील गर्दछ ।

मिति ः २०७० श्रावण १० गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.