नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatदस्ताबेज

नेपाल कम्युनिष्ट पार्टी (मसाल)को शुद्धीकरणसम्बन्धी प्रस्ताव
(ने.क.पा.(मसाल)को २०७१ वैशाख २०देखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकद्वारा पारित)

प्रस्तावना
    नेकपा (मसाल) को आठौँ महाधिवेशनको सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीले शुद्धीकरण कार्यक्रमको सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको राजनैतिक भूमिका वा जिम्मेवारीलाई अरू सशक्त, व्यापक, उच्च र क्रान्तिकारी प्रकारले सम्पन्न गर्न योग्य बनाउनका लागि पार्टीको अहिलेको अवस्थामा सुधार गर्नु पर्ने आवश्यकता छ । हामीले यो प्रयत्न गर्नु पर्दछ कि महाधिवेशनपछि पार्टी त्यस प्रकारको राजनैतिक भूमिका र जिम्मेवारी पूरा गर्न बढी सफल होस् । त्यही उद्देश्य पूरा गर्ने कुरालाई ध्यान राखेर महाधिवेशनभन्दा पहिले पार्टी शुद्धीकरणको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । हाम्रो पार्टीले त्यस प्रकारको राजनैतिक भूमिका त्यो बेला नै पूरा गर्न सक्नेछ, जब पार्टीका केन्द्रदेखि सेलसम्मका सबै समितिहरू वा सदस्यहरूमा पार्टीका नीति, कार्यक्रम र निर्णयहरूलाई अनुशासित र सक्रिय भएर कार्यान्वयन गर्ने वा आफ्ना जिम्मेवारीहरू पूरा गर्ने स्प्रिट हुनेछ उनीहरू निम्न पुँजीवादी दृष्टिकोणबाटमाथि उठ्नेछन् र उनीहरूमा उच्च प्रकारको सर्वहारा दृष्टिकोणको विकास हुनेछ ।
सैद्धान्तिक र रणनैतिक रूपमा हाम्रो पार्टीले क्रान्तिकारी सिद्धान्त, उद्देश्य वा आधारभूत कार्यक्रमप्रति सधै सम्झौताहीन नीति अपनाउँदै आएको छ भने कार्यनैतिकरूपमा देशको तात्कालिक अवस्था र आवश्यकता अनुसार ठोस नीति पनि अपनाउँदै आएको छ । हाम्रो पार्टीले गणतन्त्र, राष्ट्रियताको पक्षमा तथा सङ्घीयताको विरुद्धमा लगातार दृढ नीति अपनाउँदै आएको छ । सम्पूर्ण पञ्चायत कालमा निरङ्कुश राजतन्त्रका विरुद्ध सङ्घर्ष, २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका, संविधान सभाको चुनावको माग गर्दै २०४८ सालमा संसदीय चुनावको बहिष्कार, २०६२६३ को आन्दोलनमा सहभागिता, सङ्घीयता र त्यससित जोडिएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, बहुराष्ट्रवाद, जातीय अग्राधिकारका विरुद्ध सङ्घर्ष, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने विभिन्न राजनैतिक शक्तिहरू वा सरकारका सबै नीति र सम्झौताका विरुद्ध सङ्घर्ष, जनताका न्यायपूर्ण मागहरूको पक्षमा सङ्घर्ष, उक्त प्रश्नहरूमा देशव्यापी रूपमा विभिन्न अभियान वा आन्दोलनहरूको सञ्चालन आदिमाथि सरसरीप्रकारले विचार गर्ने हो भने नेपालको राजनीतिमा हाम्रो पार्टीको अत्यन्त उज्ज्वल र गौरवपूर्ण इतिहास रहेको कुरामा कुनै शङ्का रहन्न । त्यसका साथै कम्युनिस्ट आन्दोलनमा देखा पर्ने गरेका विभिन्न दक्षिणपन्थी, उग्र वामपन्थी, मध्यपन्थी भड्कावहरू, रूसी र चिनीया संशोधनवादका विरुद्धमा पनि हाम्रो पार्टीले सिद्धान्तमाथि आधारित दृढ र सम्झौताहीन सङ्घर्षको नीति अपनाउँदै आएको छ । विभिन्न राजनैतिक शक्तिहरूका गलत नीतिहरूका विरुद्ध लगातार भण्डाफोरको नीति अपनाउँदै देशको राष्ट्रिय आवश्यकता अनुसार अन्य पक्षहरूसित कार्यगत एकता गर्ने, उनीहरूका नीतिहरूलाई समर्थन गर्ने वा विभिन्न सरकारहरूलाई समर्थन गर्ने समेतबारे हाम्रो पार्टीले लचिलो नीति अपनाउँदै आएको छ ।
सैद्धान्तिक र राजनैतिक रूपमा पार्टीको उपरोक्त प्रकारको गौरवपूर्ण भूमिका रहेको भए पनि सङ्गठनात्मक रूपमा हाम्रो सङ्गठनमा कैयौँ कमजोरीहरू रहेका छन्, जसमध्ये कतिपय गम्भीर प्रकारका पनि छन् । त्यसैले देशको राजनीतिमा सशक्त र निर्णयात्मक प्रकारले भूमिका खेल्नु हाम्रो लागि सम्भव हुने गरेको छैन । गएको संविधान सभाको चुनावमा हामीले आशा गरेजस्तो सफलता प्राप्त गर्न नसक्नु पनि त्यसको एउटा उदाहरण हो । तैपनि कतिपय अवस्थामा हाम्रा सही नीतिहरूले देशका सम्पूर्ण राजनीतिलाई प्रभावित गर्ने गरेका छन् । संविधान सभाको हाम्रो पार्टीको नीतिलाई अन्य सबैले अपनाएको वा अहिलेको संविधान सभाको चुनावमा जातिवाद र क्षेत्रीयतावादका विरुद्ध जनताले जनादेश दिएका जस्ता विषयहरूलाई त्यस प्रकारको उदाहरणका रूपमा लिन सकिन्छ । अहिले पार्टीमा विभिन्न स्तरमा सक्रियता, अनुशासन वा जिम्मेवारी पूरा गर्ने प्रश्नहरूमा कैयौँ प्रकारका कमजोरीहरू पाइन्छन् । पार्टीभित्र निम्न पूँजीवादी प्रकारका कमजोरीहरू पनि प्रशस्त देखा पर्ने गर्दछन् । त्यस प्रकारका कमजोरीहरू पार्टीका कैयौँ कार्यहरूमा देखा पर्ने गर्दछन् । देशमा लेभीलाई नियमित र व्यवस्थित रूपले उठाउने हाम्रो पार्टी मात्र हो । तैपनि पूरै लेभी समयमा उठ्ने गर्दैन । पार्टीमा बुझाउने विभिन्न प्रकारका प्रतिशत वा कोटा बुझाउने कार्यहरूमा शिथिलता पाइन्छ । पार्टी प्रकाशनहरूको विक्रीवितरणहरूमा शिथिलता पाइन्छ । विक्री भएको पूरै पैसा समयमा बुझाउने गरिन्न । त्यसले गर्दा पार्टी वा विभिन्न मोर्चा, जनवर्गीय सङ्गठनहरूका प्रकाशनहरू नियमित रूपले प्रकाशित हुन सक्दैनन् कैयौँ प्रकाशनहरू असफल हुने गर्दछन् । जनताका बीचमा प्रचार प्रसार, सङ्गठन वा आन्दोलनका कार्यक्रमहरू सन्तोषजनक रूपले अगाडि बढ्न सक्दैनन् । केन्द्रीय समितिका वैठकहरू नियमित रूपले नै हुने गर्दछन् । धेरैजसो जिल्ला समितिहरूका वैठकहरू पनि प्रायः समयमा नै हुने गर्छन । तर जिल्लाभन्दा तलका बैठकहरू नियमित रूपले हुने गर्दैनन् । वैठकमा भएका निर्णय वा जिम्मेवारीहरू सक्रिय रूपले पूरा गर्नेबारे शिथिलता देखा पर्ने गर्दछन् । पार्टीले चलाउने कैयौँ महत्वपूर्ण राजनीतिक, सङ्गठनात्मक वा आर्थिक अभियानहरू सफल भएका उदाहरणहरू पनि छन् । तर कैयौँ कार्यक्रमहरू असफल वा आंशिक रूपले मात्र सफल हुने गरेका छन् । अनुशासनको दृष्टिकोणले देशका अन्य सबै राजनैतिक दल वा सङ्गठनहरूभन्दा हाम्रो पार्टीको स्थिति धेरै राम्रो भएको कुरा आम रूपमा थाहा भएको कुरा हो । तैपनि अनुशासनका प्रश्नमा हाम्रो पार्टीभित्र पनि कैयौ कमजोरीहरू रहेका छन् । विभिन्न स्तरमा ब्याक वाइटिङ, लुजटक आदि केही न केही हुने गर्दछन् ।
पार्टीमा कैयौँ विषयहरूमा सैद्धान्तिक र राजनैतिक रूपलेभन्दा व्यक्तिगत रूपले विचार गर्ने प्रवृत्तिहरू पनि प्रायशः पाइन्छन् । त्यसैले पार्टीका साथीहरूमा सैद्धान्तिक, राजनैतिक वा सङ्गठनात्मक विषयहरूलाई केन्द्रमा राखेरभन्दा व्यक्तिगत प्रकारका विरोध, असन्तोष, रिस, मनमुटाव आदि बढी प्रमुख बन्न जान्छन् र ती कारणले पार्टीमा अन्तरविरोध, गुटबन्दी वा कतिपय अवस्थामा फुट पनि हुने गर्दछन् । पार्टीमा पार्टी वा क्रान्तिका हितहरूभन्दा व्यक्तिगत हितहरूलाई प्राथमिकता दिएर काम गर्ने प्रवृत्तिहरू पनि प्रायशः देखा पर्ने गर्दछन् । कतिपय अवस्थामा व्यक्तिगत फाइदाका लागि सिद्धान्त, नीति, पार्टी वा आन्दोलनका हितहरूसित सौदाबाजी गर्ने वा तिलाञ्जली दिने, निष्क्रिय हुने, दलबदल गर्ने पनि गरिन्छ । त्यस प्रकारका कैयौँ उदाहरणहरू पाइन्छन् ।
    माथिका विभिन्न प्रकारका कमजोरी पार्टीका सबै सदस्यहरूमा छन् भन्ने होइन । त्यस प्रकारका कमजोरीहरूले पार्टीमा पूरै प्रभाव जमाएका छन् भन्ने पनि होइन । तैपनि त्यस प्रकारका कमजोरीहरू विभिन्न रूप वा मात्रामा पार्टी वा विभिन्न स्तरमा पाइन्छन् र तिनीहरूले गर्दा पार्टीको भूमिका, सफलता वा उपलब्धीहरूमा प्रसस्त असर पर्ने गरेको छ । त्यसैले अहिले जुन रूप वा मात्रामा त्यस प्रकारका कमजोरीहरू छन्, तिनीहरूमा सुधार गरेर नै पार्टीको भूमिकालाई सशक्त र प्रभावशाली बनाउन सकिनेछ ।
    पार्टीको भूमिकालाई व्यापक र सशक्त पार्नका लागि पार्टीको सङ्गठनलाई देशव्यापी रूपमा विस्तार गर्नु पर्ने आवश्यकता छ । त्यसका लागि पनि पार्टीको कार्यशैलीमा उच्च स्तरमा विकास गर्नु पर्ने आवश्यकता छ । पार्टी सदस्यहरूमा अहिलेभन्दा कैयौँ गुना बढी सक्रियता बढेपछि नै देशव्यापी रूपमा सङ्गठनको विस्तार हुन सक्नेछ । त्यसका लागि पार्टीका सदस्यहरूमा सक्रियता, अनुशासन वा जिम्मेवारी वा सङ्गठनात्मक पद्धति र कार्यशैलीमा भएका कमजोरीहरूमा सुधार हुनु पर्ने आवश्यकता छ । त्यसका लागि पनि शुद्धीकरण कार्यक्रमले विशेष महत्व राख्दछ । शुद्धीकरण कार्यक्रमको उद्देश्य त्यस प्रकारका कमजोरीहरूलाई सकेसम्म घटाएर महाधिवेशनपछि पार्टीलाई अहिलेकोभन्दा नयाँ रूपमा, अहिलेकोभन्दा बढी राजनैतिक भूमिका खेल्न सक्ने र जिम्मेवारी पूरा गर्न सक्ने सङ्गठनात्मक धरातलमा स्थापित गर्नु नै हुनेछ ।
    पूर्व एकताकेन्द्रसित पार्टी एकता गरेपछि पार्टीमा अनुशासन, सक्रियता र जिम्मेवारीका दृष्टिले कमजोर भएका पार्टी सदस्यहरूलाई पनि विभिन्न नेतृत्वदायी पार्टी समितिमा राख्ने र ठूलो सङ्ख्यामा पार्टी सदस्यहरू बनाउने अभियान जस्तै चल्यो । त्यसले गर्दा पार्टी समितिहरू ठूला बने । तर पार्टी सदस्यहरूको सैद्धान्तिक धरातल वा दृष्टिकोणको स्तरमा हास हुँदै गयो । पार्टी सङ्गठनको भूमिका कमजोर भयो । पार्टी सदस्यहरूको दृष्टिकोण, अनुशासन वा सक्रियता उच्च स्तरको भयो भने थोरै सदस्यहरूले पनि ठूलो भूमिका खेल्न सक्छन् । तर दृष्टिकोण, अनुशासन वा सक्रियता कम भयो भने धेरै सदस्यहरू भए पनि पार्टीको भूमिका पनि कमजोर हुन्छ । हामीले पार्टी सदस्य र सङ्गठनलाई अहिलेभन्दा कैयौँ ठूलो बनाउने र विस्तार गर्न प्रयत्न गर्नु पर्दछ । तर त्यसका साथै उनीहरूको स्तरलाई गुणात्मक रूपले पनिमाथि उठाउन प्रयत्न गर्नु पर्दछ ।
पहिले पनि कतिपय बेला हामीले पार्टीमा शुद्धीकरण कार्यक्रमको सञ्चालन गर्ने गरेका थियौँ । तर त्यो बेला सीधै सङ्गठनात्मक रूपले सुदृढीकरण कार्यक्रमलाई सञ्चालन गरेका थियौँ । त्यस अनुसार पार्टी सदस्यताका न्यूनतम शर्तहरू पूरा नगर्ने अर्थात् लेवी समयमा नतिर्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्ने वा अनुशासन पालन नगर्ने, पार्टी सदस्यहरूलाई विभिन्न नेतृत्वदायी समितिहरूबाट तल झार्ने, सदस्यताबाट निलम्बन गर्ने, समर्थक ग्रूपमा राख्ने वा सदस्यताबाट निस्काशित गर्ने समेत गरेका थियौँ । तर अहिले पहिले सधैभन्दा बेग्लै शुद्धीकरणको कार्यक्रमको अङ्गको रूपमा वैचारिक रूपले शुद्धीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौँ । त्यसको उद्देश्य पार्टी सदस्य वा कार्यकर्ताहरूको चिन्तन प्रणाली वा दृष्टिकोणलाईमाथि उठाउनु हुनेछ, जसको परिणामस्वरूप पार्टीका सदस्यहरूको अनुशासन, सक्रियता वा जिम्मेवारीको भावनामा उच्च प्रकारको विकास होस्, उनीहरूको कार्यशैलीमा सुधार होस् र कुनै पार्टी सदस्यलाई कुनै समिति वा पार्टी सदस्यताबाट हटाउन नपरोस् वा अत्यन्त कम मात्रामा त्यस प्रकारको कार्य गर्नु परोस् ।
    एकताकेन्द्रसित पार्टी एकता भएपछि पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपले समेत जुन ठूलो क्षति पुग्यो, त्यो अवस्थाबाट मुक्त हुनका लागि पुनः नेकपा (मसाल) को पुनस्र्थापना गरियो । तर एकताकेन्द्रसितको पार्टी एकताले कैयौँ रूपमा पार्टीलाई नोक्सान पुरायो । त्यो एकताको परिणामस्वरूप पार्टीको एउटा भाग हामीबाट अलग भएर गयो भने त्यो एकताको अवशेषका रूपमा रहेका कैयौँ विकृतिहरूले लामो समयसम्म पार्टीलाई नोक्सान पुर्‍याइरहे र अहिले पनि त्यस प्रकारका कैयौँ अवशेषहरू विद्यमान छन् । त्यसपछि कैयौँ सदस्यहरूले पार्टी छाड्ने आशङ्काले पार्टीको अनुशासनमा नबस्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्ने सदस्यहरूमाथि आवश्यक कारवाही गर्ने काममा पनि केही हिचकिचाहटका प्रवृत्तिहरू देखा पर्ने गरे । त्यसले पनि पार्टीमा अनुशासनको पक्षमा केही कमजोरी देखा पर्यो । अहिले पनि त्यस प्रकारका प्रवृत्तिहरूका विरुद्ध हामीले सिधै सङ्गठनात्मक वा अनुशासनको कारवाही गर्ने पद्धति नअपनाएर सैद्धान्तिक, वैचारिक रूपले उनीहरूको स्तर उठाउन प्रयत्न गरिनेछ । त्यस सिलसिलामा यो प्रयत्न गरिने छ कि पार्टीका कुनै समिति जति माथिल्लो स्तरमा छ, त्यसको सदस्यहरूमा उति नै माथिल्लो स्तरको दृष्टिकोण, अनुशासन, सक्रियता वा जिम्मेवारीको भावना होस् ।     

    पार्टी शुद्धीकरणको कार्यक्रम दुई भागमा बाँडिनेछ ः
    प्रथम ः शुद्धीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम ।
    द्वितीय ः शुद्धीकरणसम्बन्धी सङ्गठनात्मक कार्यक्रम ।
अहिले शुद्धिकरण कार्यक्रमको प्रथम चरणको प्रशिक्षण कार्यक्रमलाई सञ्चालन गर्ने प्रयत्न गरिनेछ । यो चरण पूरा भएपछि केन्द्रिय समितिको बैठक बसेर त्यसले दोस्रो चरणको सङ्गठनात्मक चरणको कार्यक्रम निश्चित गर्नेछ । त्यसका साथै प्रथम चरणको शुद्धिकरण कार्यक्रम सम्बन्धी प्रस्तावलाई सार्वजनिक गरिने छ र त्यसबारे पार्टी सदस्यहरूलाई खुला रूपले आफ्नो विचारहरू प्रचार वा प्रकाशन गर्ने अधिकार पनि हुनेछ । पार्टीभन्दा बाहिरबाट सार्वजनिक रूपमा आउने विचार वा टिकाटिप्पणीहरूबाट पनि पार्टीको स्थितिलाई सही परिप्रेक्ष्यमा बुझ्न मद्दत पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ । त्यो कुराको महत्व यो कुरामा अन्तर्निहित छ कि अहिले हामीले जुन प्रश्नहरूमा पार्टीभित्र प्रशिक्षण गर्ने वा सार्वजनिक रूपमा बहस चलाउने निर्णय गरेका छौँ, ती ने.क.पा.(मसाल)का मात्र समस्याहरू नभएर सम्पूर्ण कम्युनिष्ट आन्दोलनसित सम्बन्धित समस्याहरू हुन् । त्यसैले त्यो छलफलबाट देशको सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई मद्दत पुग्नेछ भन्ने हामीले आशा गरेका छौँ । त्यो कुरामाथि ध्यान दिंदै उक्त प्रश्नमा हुने छलफलमा सक्रियतापूर्वक भाग लिनका लागि हामीले अन्य पक्षहरू वा व्यक्तिहरूसित पनि अनुरोध गर्दछौँ ।

शुद्धीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम
    शुद्धीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्देश्य सर्वहारा विश्वदृष्टिकोण, माक्र्सवादीलेनिनवादी सङ्गठनात्मक पद्धति, अनुशासन, सक्रियता र जिम्मेवारीको स्प्रिट समेतबारे पार्टीका सदस्यहरू वा समर्थकहरूसम्मको सैद्धान्तिक स्तरलाई उठाउनु हुनेछ । त्यसरी पार्टीका सदस्यहरूमा भएका कमजोरीहरूलाई जुन हदसम्म हटाउन सकिनेछ, त्यही हदसम्म नै पार्टीको सम्पूर्ण सङ्गठनात्मक पद्धति, कार्यशैली र पार्टीको राजनैतिक भूमिकामा रूपान्तरण हुनेछ । शुद्धीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रमद्वारा सर्वप्रथम कार्यकर्ताहरूलाई दृष्टिकोण, सक्रियता र जिम्मेवारीको भावनासम्बन्धी कमजोरीहरू के हुन् र तिनीहरूबाट पार्टी सङ्गठन र आन्दोलनलाई कसरी नोक्सान पुगिरहेको छ ? ती कमजोरीहरू सुधार गरेपछि पार्टी सङ्गठन र आन्दोलनलाई कति मद्दत पुग्नेछ ? त्यो कुराको बढीभन्दा बढी ज्ञान गराउने प्रयत्न गरिनेछ । कुनै पनि कुराको ज्ञान भएपछि पहिले लागेका बानीहरूलाई सुधार गर्न मद्दत पुग्नेछ । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने प्रचार भएर जनताको चेतना स्तर उठेपछि पनि त्यो बानीलाई छाड्न सजिलो हुन्न । तैपनि धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने चेतना भएपछि त्यो बानीमा धेरै नै सुधार हुन्छ । गत दशकहरूमा धुम्रपानका विरुद्ध प्रचार बढ्दै गएपछि धुम्रपानमा केही कमी आएको वा सार्वजनिक स्थानहरूमा धुम्रपान बन्द जस्तै भएको कुराबाट ज्ञानको धेरै असर व्यवहारमा पर्दछ भन्ने कुरा बुझ्न गाहो पर्दैन । अहिले पार्टीका सदस्यहरूमा भएका कैयौँ कमजोरीहरू काफी हदसम्म जन्म कालदेखि नै बस्दै आएका धारणा, मान्यता, बानी वा स्वभावका परिणामहरू हुन् । त्यसैले कोही सर्वहारा वर्गको हुने वित्तिकै त्यसको विश्व दृष्टिकोण स्वतः सर्वहारा हुँदैन । पार्टीका सदस्यहरूको चिन्तन प्रणाली मूल रूपमा उनीहरूको निम्न पुँजीवादी प्रकारको वा जीवनको अवस्था, निम्न पुँजीवादी वा वर्गीय स्थितिका पनि परिणामहरू हुन् । सैद्धान्तिक प्रशिक्षणद्वारा त्यस प्रकारका कमजोरीहरूबारे काफी हदसम्म ज्ञान हुनेछ र तिनीहरूमा सुधार गर्न मद्दत पुग्नेछ ।
    सर्वहारा विश्वदृष्टिकोण ठूलो पैमानामा उद्योगहरूमा काम गर्ने औद्योगिक मजदुरहरूको दृष्टिकोणको उपज हो । तर उनीहरूको चिन्तनमा पनि पुँजीवादी संस्कृतिले काफी हदसम्म विकृति ल्याएको हुन्छ । निम्न पुँजीवादी दृष्टिकोण सानो पैमानाको उत्पादन प्रणालीका कारणले पैदा हुने चिन्तन प्रणाली हो । सानो पैमानाको उत्पादन प्रणालीको स्वरूप मूल रूपमा व्यक्तिगत प्रकारको हुन्छ । त्यहाँ उत्पादनमा सक्रियता वा अनुशासनको अभाव हुन्छ वा अत्यन्त निम्न स्तरको हुन्छ । त्यस प्रकारको भौतिक, सामाजिक र चिन्तन प्रणालीका पृष्ठभूमिबाट आउने पार्टी कार्यकर्ताहरूको दृष्टिकोण पनि बढी निम्न पुँजीवादी वा व्यक्तिवादी प्रकारको हुन्छ । उनीहरूमा सामुहिक प्रकारको अभ्यास वा अनुशासित रूपले काम गर्ने बानी कम हुन्छ । उनीहरूमा व्यक्तिकेन्द्रित स्वार्थ वा लाभका लागि काम गर्ने प्रवृत्ति बढी हुन्छ । त्यसको नकारात्मक असर पार्टीभित्र उनीहरूको दृष्टिकोण, अनुशासन, सक्रियता, जिम्मेवारीको भावनामा पर्दछ । व्यक्तिगत फाइदा हुने काममा उनीहरूको बढी रुचि, उत्साह वा सक्रियता हुन्छ । पार्टी, क्रान्ति वा जनताका सेवाका लागि निस्वार्थ काम गर्न विशेष प्रयत्न गरेर सैद्धान्तिक स्तर उठाएपछि नै सम्भव हुन्छ । लेनिनले भनेका छन् ः द्वन्द्वात्मक भौतिकवादी दर्शनको चेतना वा प्रशिक्षणद्वारा नै उनीहरूको निम्न पुँजीवादी दृष्टिकोण वा त्यो कारणले पैदा भएका बानीव्यहोरा वा कार्यशैलीमा सुधार ल्याउन सकिन्छ ।
उक्त कार्य बाहिरबाट जति सजिलो देखिन्छ, त्यति सजिलो छैन । आम रूपमा देशको राजनीति र कम्युनिस्ट आन्दोलनमा दृष्टिकोण, पार्टीको सङ्गठनात्मक पद्धति र कार्यशैली समेतबारे कैयौँ विकृति र भद्दा सोचाइ बढेर गएका छन् । त्यति मात्र होइन, त्यस प्रकारका विकृत सोचाइहरूलाई नै सही मान्ने, तिनीहरूलाई सामान्यीकृत वा सैद्धान्तीकरण गर्ने तथा तिनीहरूका पक्षमा नै वकालत गर्ने पनि गरिन्छ । वैचारिक वा सङ्गठनात्मक रूपले समयमा नै तिनीहरूमाथि नियन्त्रण नगरिएमा वा सुधार गर्न नसकेमा तिनीहरूले पार्टीको सही लाइन, सङ्गठनात्मक प्रणाली वा अनुशासनमाथि आक्रमण गर्दछन् र पार्टीको सम्पूर्ण राजनैतिक र पार्टीलाई नै गलत दिशामा लैजान्छन् वा ध्वस्त पारिदिन्छन् । रूस र चीनका उदाहरणहरू त्यही प्रकारका उदाहरणहरू हुन् । त्यो अवस्थामा खालि कम्युनिस्ट आन्दोलनमा फैलिएका विकृतिहरूका विरुद्ध कडा सैद्धान्तिक सङ्घर्ष चलाएर नै त्यस प्रकारका विकृत सोचाइहरूबाट पार्टी सदस्यहरूलाई मुक्त गर्न सकिनेछ । त्यो सङ्घर्ष समयमा नै गर्नुपर्दछ । तर त्यो एकपल्ट गरेर मात्र पुग्दैन र त्यसलाई नियमित रूपले गर्ने गर्नुपर्दछ । यसबारे पनि यहाँ हामी स्पष्ट हुनुपर्दछ कि त्यस सन्दर्भमा दृष्टिकोणको प्रश्न त्यस सिलसिलामा सबैभन्दा ठूलो समस्या दृष्टिकोणको समस्या हो ।
सामन्ती वा पुँजीवादी समाजको यो आम प्रवृत्ति हो कि कुनै पनि कार्य व्यक्तिगत लाभका लागि गरिन्छ । पार्टीमा निम्न पुँजीपति वर्गबाट आएका मानिसहरूको नै अधिकता छ । त्यो वर्गीय स्थितिले उनीहरूको चिन्तन र दृष्टिकोणलाई पनि चौतर्फी रूपमा प्रभावित गर्दछ । त्यसको अर्थ यो हुन्छ ः उनीहरूले आफ्ना सबै गतिविधिहरूलाई व्यक्तिगत लाभलाई केन्द्रमा राखेर सञ्चालन गर्दछन् । विभिन्न वामपन्थी सङ्गठनहरूमा, मुख्यतः संशोधनवादी सङ्गठनहरूमा पदको लागि जुन खुला प्रकारको गुटवन्दी वा प्रतिष्पर्धा हुने गर्दछ, त्यो मुख्य रूपले उनीहरूको निम्न पूँजीवादी दृष्टिकोण तथा निम्न सैद्धान्तिक स्तरको नै परिणाम हो । कुनै राजनैतिक पार्टीमा प्रवेश गर्दा पनि उनीहरूको मुख्य ध्यान यो कुरामा हुन्छ ः त्यो पार्टीबाट उनीहरूलाई कति व्यक्तिगत फाइदा हुन्छ ? कति पद, सत्ता वा पैसा प्राप्त हुन्छ ? त्यसका आधारमा नै कुनै पार्टीमा आउने वा दल बदल्ने कार्य गरिन्छ । कम्युनिस्ट पार्टीभित्र पनि पद, सत्ता वा पैसाका लागि आपसमा लड्ने, गुटबन्दी गर्ने प्रवृतिहरू प्रशस्त पाइन्छन् । त्यसैको परिणामस्वरूप विभिन्न क्रान्तिकारी पार्टीहरूको क्रान्तिकारी चरित्रमा ह्रास हुँदै जान्छ र उनीहरूको अधपतन हुन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि त्यस प्रकारका थुप्रै उदाहरणहरू पाइन्छन् । जसको दृष्टिकोण जति पिछडिएको, निम्नस्तरमा वा जति बढी निम्न पूँजीवादी प्रकारको छ, त्यसमा त्यति नै बढी त्यस प्रकारको प्रवृत्ति पाइन्छ । ती कुराहरूबाट शिक्षा लिंदै पार्टी सदस्यहरूको वैचारिक स्तर उठाएर तथा उनीहरूको दृष्टिकोणमा भएका निम्न पूँजीवादी प्रकारका सोचाइहरूलाई सुधार्ने प्रयत्न गर्नुपर्दछ । त्यसरी सुधार नभए अनुशासनको कारवाही गरेर भएपनि त्यो प्रवृत्तिबाट पार्टीको राजनैतिक लाइन वा सङ्गठनलाई क्षति पुग्न नदिन आवश्यकतानुसार कडा कदम उठाउनु पर्दछ । यस सन्दर्भमा यसबारे हामीहरू एकदम स्पष्ट हुन पर्दछ ः पार्टी सदस्यहरूको दृष्टिकोणमा त्यस प्रकारको सुधार गर्न सकिएन भने सङ्गठनमा गलत सोचाइ वा प्रवृत्तिहरू हावी हुँदै जान्छन् र त्यसको अनिवार्य परिणाम पार्टीको क्रान्तिकारी चरित्रको ह्रास र अधपतन नै हुन्छ ।
    हाम्रो देशमा कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने व्यक्तिहरू पनि मुख्य रूपले निम्न पुँजीपति वर्गबाट नै आएका हुन्छन् । त्यसकारण, उनीहरूले आफ्ना साथमा निम्न पुँजीवादी दृष्टिकोण पनि सँगै लिएर आएका हुन्छन् । माक्र्सवादीलेनिनवादी दर्शन, द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त वा सर्वहारा विश्वदृष्टिकोणद्वारा उनीहरूको चिन्तन र विश्वदृष्टिकोणमा रूपान्तरण गर्न नसकेमा उनीहरूको निम्न पुँजीवादी चिन्तन प्रणाली कम्युनिस्ट पार्टीभित्र विभिन्न रूपमा प्रकट हुने गर्दछ । विश्वदृष्टिकोण, अनुशासन, सक्रियता वा जिम्मेवारी पूरा गर्ने प्रश्नहरूमा निम्न पुँजीवादी दृष्टिकोणले प्रभाव पार्ने वा बाधा पुर्‍याउने काम गर्दछ । कैयौँपल्ट सही र गलत लाइनका बीचमा तीव्र सङ्घर्ष चल्दछ । त्यसको परिणामस्वरूप कतिपय अवस्थामा पार्टीमा फुट पनि हुन्छ । पार्टीमा एक वा अर्को प्रकारले गलत प्रवृत्तिहरू बढ्न थाल्दछन् वा पूरै पार्टीमाथि हावी हुने सम्भावना देखा पर्दछ । त्यो अवस्थामा तिनीहरूका विरुद्ध कडा, सम्झौताहीन सङ्घर्ष, पार्टीबाट निस्काशन आदि आवश्यक र सही दुवै हुन्छन् । गलत प्रकारका प्रवृत्तिहरूसित सम्झौता गरेर पार्टी एकतालाई बचाएर राख्ने वा ठूलो पार्टी बनाउने दृष्टिकोण गैर माक्र्सवादीलेनिनवादी दृष्टिकोण हो । यसबारे हामी स्पष्ट र दृढ हुनुपर्दछ ।
    अहिले विश्व कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएको छ वा त्यो रक्षात्मक अवस्थामा छ । समाजवादी व्यवस्थाको विश्वव्यापी रूपमा पतन भएको छ । रूस, चीन, पूर्वी युरोपका समाजवादी देश, क्युबा, भियतनाम, कोरिया आदि जस्ता महान्, गौरवपूर्ण तथा क्रान्तिकारी इतिहास भएका देशहरूका कम्युनिस्ट पार्टीहरूले पनि या त माक्र्सवादीलेनिनवादी सिद्धान्त वा विचारलाई पूरै तिलाञ्जली दिइसकेका छन् वा दक्षिणपन्थी संशोधनवादी रूप ग्रहण गरिसकेका छन् । संसारका अन्य गौरवपूर्ण र क्रान्तिकारी इतिहास भएका कैयौँ कम्युनिष्ट पार्टीहरूको त्यसरी पतन भएका उदाहरणहरूको पनि कमी छैन । कुनै कम्युनिष्ट पार्टीको पूरै नै पतन वा दक्षिणपन्थी रूपमा पतनका बीचमा भएको अन्तरबारे पनि केही प्रकाश हाल्नु पर्ने आवश्यकता छ । ती दुवैका बीचको अन्तर यो हो कि पहिलाले खुला र घोषित रूपले नै माक्र्सवादीलेनिनवादी वा समाजवादलाई तिलान्जली दिएको हुन्छ भने दोस्रोले बाह्य रूपमा तिनीहरूलाई कायम राखेको बताउँदै सार रूपमा तिनीहरूलाई तिलान्जली दिएको हुन्छ । रूसलाई पहिलो प्रकारको र चीनलाई दोस्रो प्रकारको उदाहरणको रूपमा लिन सकिन्छ । अहिले संसारका विभिन्न देशहरूमा अस्तित्वमा रहेका कैयौँ ठूला कम्युनिस्ट पार्टीहरूमा पनि दक्षिणपन्थी संशोधनवादी सोचाइहरू हावी भएको पाइन्छ । कम्युनिस्ट आन्दोलनको त्यस प्रकारको स्थितिको असर संसारका वामपन्थी र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूमा पनि पर्ने गरेको छ । वेग्ला वेग्लै रूपमा त्यसको नकारात्मक असर ने.क.पा. (मसाल) मा पनि पर्ने गरेको छ ।
नेपालका पनि दक्षिणपन्थी संशोधनवादी सङ्गठनहरूको, खास गरेर व्यक्तिगत सफलताहरूलाई केन्द्रमा राखेर काम गर्ने प्रवृतिहरू तथा व्यक्तिगत जीवनमा प्राप्त गरेका सफलताहरूको असर हाम्रा पार्टीका कतिपय सदस्यहरूमा पनि विभिन्न रूपमा पर्ने गरेको कुरालाई पूरै अस्वीकार गर्न सकिन्न । आफू सरह वा आफूभन्दा तल्लो स्तरका अन्य साथीहरूले अन्य कतिपय पार्टीहरूमा लागेर व्यक्तिगत जीवनमा प्राप्त गरेका सफलता, पद, पैसा वा प्रसिद्धिका कारणले हाम्रा कैयौँ कार्यकर्ताहरूमा व्यक्तिगत कुण्ठा, चिन्ता वा निराशा देखा पर्ने गरेको पाइन्छ । त्यस प्रकारका प्रवृत्तिहरू बढ्दै गएमा क्रान्तिकारी सिद्धान्त वा नीतिहरूलाई कार्यान्वयन गर्न आफूले गरेका सङ्घर्ष, दुःखकष्ट, त्याग वा बलिदानलाई व्यर्थ गएको ठान्ने वा आफ्नो पार्टी जीवन असफल भएको शोच्ने पनि गरेको पाइन्छ । दृष्टिकोणमा आउने त्यस प्रकारको गैरमाक्र्सवादीलेनिनवादी दृष्टिकोण वा विकृतिहरूका कारणले पार्टीका कैयौँ नेता वा सदस्यहरूले पार्टी छाडेर जाने पनि गरेका छन् । उनीहरूमध्ये कतिपयले व्यक्तिगत जीवनमा फाइदा हुने पेशामा लाग्ने गरेका छन् वा व्यक्तिगत जीवनमा बढी फाइदा हुने पार्टी वा सङ्गठनहरू खोजेर तिनीहरूमा सामेल हुने गरेका छन् । तर त्यो समस्या त्यहीसम्म मात्र सीमित छैन । जसले पार्टी छाडेर गएका छैनन्, उनीहरूमध्ये कतिपयमा खास गरेर उनीहरूमध्ये जसको दृष्टिकोण व्यक्तिवादी प्रकारको छ, उनीहरूमा त्यस प्रकारको छायाले वेग्लावेग्लै मात्रा र रूपमा प्रभाव पारेको हुन्छ । त्यो कुराले जति असर पार्दै जान्छ, व्यक्तिगत जीवनमा कुनै फाइदा नहुने पार्टीका कामहरूमा उनीहरूको अरूचि बढ्दै जान्छ । त्यसले गर्दा उनीहरूमा निष्क्रियता वा पार्टीका कार्यहरू पूरा गर्ने जिम्मेवारीको भावनामा कमी आउने गर्दछ । कतिपयमा त्यस प्रकारका पलायनवादी प्रवृत्तिहरू इमान्दारितापूर्वक प्रकट हुन्छन् भने कतिपयले त्यस प्रकारका प्रवृत्तिहरूलाई लुकाएर प्रकट रूपमा विभिन्न प्रकारका सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक असन्तोष, विरोध वा फुटका रूपमा पनि देखा पर्ने गर्दछन् ।
 समाजमा व्यक्तिगत फाइदालाई केन्द्रमा राखेर काम गर्ने प्रवृतिको धेरै नै प्रभाव छ । त्यसैले जब उनीहरूले जुन पार्टीमा प्रवेश गरेर कुनै खास उपलब्धी प्राप्त हुने देख्दैनन्, त्यसमा सामेल हुन उनीहरूका रुचि वा उत्साह कम हुन्छ । प्रतिक्रियावादी वा दक्षिणपन्थी राजनीति वा पार्टी वा सङ्गठनहरूले आम मानिसहरूका स्वार्थपरायण प्रवृत्तिहरूलाई उपयोग गरेर वा त्यस प्रकारका प्रलोभन दिएर सङ्गठनहरूको विस्तार गर्ने प्रयत्न गर्दछन् । आम मानिसहरूमा पनि सैद्धान्तिक वा राजनैतिक प्रश्नहरूमा विचार गरेरभन्दा को सत्तामा छ, को सत्तामा जाने सम्भावना छ वा कोसित मिल्दा बढी फाइदा हुन्छ भन्ने कुरामाथि विचार गरेर नै राजनैतिक पार्टी वा सङ्गठनहरूमा सामेल हुने प्रवृत्ति पाइन्छ । बुद्धिजीविहरूमा पनि त्यस प्रकारको प्रवृत्ति प्रसस्त पाइन्छ । उपरोक्त दृष्टिकोणले कुनै राजनीतिक पार्टी वा सङ्गठनको स्थितिमा अन्तर आयो, कुनै राजनीतिक शक्तिको स्थिति पहिलेभन्दा बलियो वा कमजोर भयो भने त्यस अनुसार दलबदल पनि गर्ने गरिन्छ । उच्च राजनैतिक दृष्टिकोण वा चेतना भएका मानिसहरू नै व्यक्तिगत फाइदा हुने कुराभन्दा सैद्धान्तिक वा राजनैतिक पक्षहरूमाथि ध्यान दिएर पार्टीमा सामेल हुने गर्दछन् । चुनावमा पनि त्यस प्रकारका व्यक्तिगत फाइदाकापछि लाग्ने प्रवृत्तिले प्रसस्त काम गरेको हुन्छ । गएको चुनावमा पनि कतिपय प्रमुख राजनीतिक शक्तिहरूका उम्मेदवारहरूले वितरण गरेको पैसा वा प्रलोभनका कारणले चुनाव काफी हदसम्म प्रभावित भएको कुरा आम रूपमा थाहा भएको कुरा हो । यो कम महत्वपूर्ण कुरा होइन कि व्यक्तिवादी स्वार्थलाई आधार बनाएर राजनीतिक सङ्गठनमा सामेल हुने वा चुनावमा मत दिने प्रवृत्ति देशमा प्रबल हुनुका बावजुद ठूलो सङ्ख्यामा जनताले हाम्रो पार्टीको राजनीतिलाई समर्थन गरेका छन् । त्यसले उनीहरूमा भएको उच्च प्रकारको राजनैतिक चेतनालाई नै बताउँछ । त्यो हाम्रो पार्टीको ठूलो राजनैतिक उपलब्धि हो । तर जनताको राजनीतिक चेतनालाई उठाउन अझै ठूलो जनसमूहलाई पार्टीको नजिक ल्याउने हाम्रो प्रयत्न हुनुपर्दछ । जनताको चेतनामा जति व्यापक र उच्च रूपमा त्यस प्रकारको चेतनाको विकास हुदै जानेछ, त्यति नै देशको राजनीतिले सही, अग्रगमन वा क्रान्तिकारी दिशा लिने सम्भावना हुनेछ ।
निम्न पूँजीवादी र सर्वहारा दृष्टिकोणका बीचको मुख्य अन्तर यो हो कि पहिलाले निम्न पूँजीवादी शोचाइले) कुनै कार्य जतिसुकै उच्च सैद्धान्तिक र राजनीतिक महत्वको कार्य भए पनि त्यसबाट व्यक्तिगत लाभ प्राप्त हुन्न वा आफ्ना व्यक्तिगत स्वार्थमा असर पर्दछ भने त्यो कार्यप्रति रुचि र उत्साहको कमी हुन्छ । सर्वहारा विश्वदृष्टिकोणले चीजलाई त्यसको विल्कुल विपरीत रूपमा हेर्दछ । कुनै कार्य सैद्धान्तिक र राजनैतिक दृष्टिले जति महत्वपूर्ण हुन्छ, जुन कार्यबाट पार्टी, क्रान्ति वा शोषितउत्पीडित जनताको जति बढी सेवा हुन्छ, त्यसप्रति उनीहरूमा त्यति नै बढी रुचि, उत्साह र समर्पणको भाव हुन्छ । त्यस प्रकारको कार्यप्रति सबै प्रकारका त्याग र वलिदानी गर्न वा दुःख र कष्टहरू उठाउन उनीहरू तयार हुन्छन् । संसारको कुनै पनि प्रकारको व्यक्तिगत प्रलोभन, दुःख, कष्ट, व्यक्तिगत क्षति वा मृत्युले समेत उनीहरूलाई सिद्धान्त, आस्था वा कार्यबाट विचलित गर्न सक्दैन । विश्वको कम्युनिष्ट आन्दोलनमा त्यस प्रकारका असङ्ख्य उदाहरणहरू पाइन्छन् । हाम्रो प्रयत्न हुनुपर्दछ कि सबै कम्युनिस्टहरू त्यस प्रकारको उच्च सर्वहारा दृष्टिकोणबाट ओतप्रोत होउन् ।
आज विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी सोचाइहरूको असर र त्यसकारणले कम्युनिस्टहरूको क्रान्तिकारी स्प्रिटमा आइरहेको ह्रासले पनि हाम्रो देशको कम्युनिस्ट आन्दोलन तथा हाम्रो पार्टीमा धेरै नै असर परिरहेको छ । त्यसको परिणामस्वरूप कम्युनिस्टहरूमा पनि क्रान्तिकारी सिद्धान्त, उद्देश्य, आदर्शहरूका लागिभन्दा व्यक्तिगत फाइदाहरूका लागि काम गर्ने प्रवृत्तिहरू बढ्दै गैरहेका छन् । पुँजीवादले विश्वव्यापी रूपमा यो प्रचार गरिरहेको छ कि अब समाजवाद वा कम्युनिस्ट आन्दोलनको कुनै भविष्य छैन । त्यसले मानिसहरूमा, यहाँसम्म कि क्रान्तिकारी कम्युनिष्टहरूका बीचमा पनि समाज, जनता वा देशहरूका हितहरूभन्दा व्यक्तिगत फाइदाहरूलाई केन्द्रमा राखेर काम गर्ने दृष्टिकोणलाई बढाउन प्रयत्न गर्दछ । ती दुवै कुराहरूको, अर्थात् विश्व कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादका कारणले क्रान्तिकारी स्प्रिटमा भइरहेको ह्रास तथा पूँजीवादले विश्वव्यापी रूपमा नै स्वार्थप्रायण दृष्टिकोणलाई प्रोत्साहित गर्नका लागि योजनावद्ध प्रकारले गरिरहेका प्रयत्नहरूको असर हाम्रो देशको कम्युनिस्ट आन्दोलनमा धेरै नै परिरहेको छ ।
अहिलेको शिक्षण प्रणालीले पनि नयाँ शिक्षित वा बुद्धिजीवी वर्गलाई क्रान्तिकारी विचार वा आन्दोलनबाट अलग गराउन वातावरण तयार पार्ने योजनावद्ध प्रयत्न गरिरहेको छ । त्यसको परिणाम यो भएको छ कि शिक्षित वा बुद्धिजीवी वर्ग या त कम्युनिस्ट आन्दोलनबाट अलग भैरहेको छ वा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरे पनि उनीहरूले सर्वप्रथम यो कुरामा विचार गरेर निर्णय गर्दछन् ः कुन वामपन्थी सङ्गठनमा सामेल हुँदा उनीहरूलाई व्यक्तिगत रूपमा कति फाइदा हुन्छ ? बताइरहनु पर्ने आवश्यकता छैन कि यी सबै प्रकारका सोचाइहरूका विरुद्ध व्यापक र उच्च प्रकारको वैचारिक सङ्घर्ष चलाएर नै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सकिन्छ । एकातिर, कम्युनिस्ट पार्टीभित्र उच्च प्रकारको सैद्धान्तिक प्रशिक्षणको आवश्यकता छ भने अर्कातिर, पार्टी सदस्यहरूको सैद्धान्तिक स्तर धेरै नै निम्न प्रकारको छ । अध्ययनमा पर्याप्त ध्यान दिने गरिन्न । केही पढे पनि तात्कालिक राजनीतिसम्बन्धी विषयहरूसित सम्बन्धित पुस्तक, पत्रपत्रिकाको अध्ययन गर्ने गरिन्छ र आधारभूत माक्र्सवादीलेनिनवादी साहित्यको अध्ययन करिबकरिब बन्द जस्तै भएको छ । पार्टीका सदस्यहरू विभिन्न प्रकारका सङ्गठनात्मक वा राजनीतिक कार्यक्रमहरूमा सक्रिय भएका कैयौँ पार्टीको नेता वा कार्यकर्ताहरूको पनि सैद्धान्तिक अध्ययनतिर अत्यन्त कम ध्यान जाने गर्दछ । त्यसको परिणाम यो हुन्छ, उनीहरू पार्टीको काममा सक्रिय भए पनि उनीहरूको चिन्तन प्रणाली सङ्गठनात्मक तौरतरिका वा कार्यशैली माक्र्सवादीलेनिनवादी सिद्धान्तहरू अनुरूप कम, एक प्रकारले स्वतःफूर्त प्रकारको बढी हुन्छ । स्वतःस्फूर्त प्रकारको भन्नुको अर्थ निम्नपूँजीवादी वा रुढिवादी प्रकारको नै बढी हुन्छ ।
हाम्रो पार्टीमा वैचारिक, सङ्गठनात्मक रूपले अहिले पनि कैयौँ कमजोरीहरू छन् । पार्टीलाई सही अर्थमा क्रान्तिकारी बनाउन तथा यसलाई बढी सशक्त भूमिका खेल्नका लागि योग्य बनाउनका लागि वैचारिक र सङ्गठनात्मक दृष्टिले यसको स्तरलाई धेरै नैमाथि उठाउनु पर्ने आवश्यकता छ । हाम्रो पार्टीको केन्द्रले पनि पार्टी सदस्यहरूका सैद्धान्तिक स्तर, दृष्टिकोण, अनुशासन, सक्रियता वा जिम्मेवारीको भावना उठाउनका लागि लगातार र योजनावद्ध प्रकारले प्रयत्न गरिरहेको छ । अन्य वामपन्थी सङ्गठनहरूमा व्यक्तिगत फाइदा वा पदका लागि खुला रूपले नै प्रतिस्पर्धा वा गुटबन्दी भैरहेको हुन्छ भने हाम्रो पार्टीमा त्यस प्रकारका प्रवृत्तिहरूलाई निरुत्साहित पार्न सैद्धान्तिक रूपले लगातार प्रशिक्षण दिने तथा सङ्गठनात्मक रूपले पार्टीमा कुनै पनि स्तरमा देखा पर्ने त्यस प्रकारका प्रवृत्तिहरूलाई आलोचना गर्ने वा आवश्यकता अनुसार कारवाही पनि गर्ने गरिन्छ । नेपालमा हाम्रो पार्टीले मात्र नियमित प्रकारले पार्टी स्कुलको सञ्चालन गर्ने गरेको छ । त्यहाँ एक महिनाका लागि आवासीय कक्षाहरू चल्दछन् । त्यो स्कुलमा पार्टीका सबै आधारभूत माक्र्सवादीलेनिनवादी सिद्धान्त, सङ्गठनात्मक प्रणाली, सर्वहारा विश्व दृष्टिकोण, निम्न पुँजीवादी चिन्तन आदिबारे प्रशिक्षण दिने गरिन्छ । जिल्ला र स्थानीय स्तरमा पनि लगातार त्यस प्रकारको प्रशिक्षणको कार्यक्रमलाई सञ्चालन गर्ने प्रयत्न गरिन्छ । ती सबैको परिणाम हो कि देशमा अरू सबै राजनैतिक सङ्गठनहरूको तुलनामा माक्र्सवादीलेनिनवादी सिद्धान्त, दृष्टिकोण, सङ्गठनात्मक प्रणाली वा कार्यशैलीका दृष्टिकोणले हाम्रो पार्टी धेरैमाथि छ । तैपनि अझै पनि हाम्रो पार्टीमा वैचारिक वा सङ्गठनात्मक रूपमा थुप्रै कमजोरीहरू छन् । त्यसकारण आठौँ महाधिवेशनको सैद्धान्तिक तैयारीका सिलसिलामा त्यस प्रकारका कमजोरीहरूलाई हटाएर वैचारिक र सङ्गठनात्मक रूपले नै पार्टीलाई माक्र्सवादीलेनिनवादी सङ्गठनात्मक रूपमा रूपान्तरण गर्नका लागि विशेष प्रयत्न गर्नु पर्ने आवश्यकता छ, जसबाट पार्टी देशको राजनीति र क्रान्तिकारी आन्दोलनमा बढी सशक्त भूमिका खेल्न सफल होस् ।
गत कालमा आत्मालोचना र आलोचना अत्यन्त सीमित भएको छ । पार्टीमा देखा पर्ने कमजोरीहरूमाथि नियन्त्रण वा समयमा नै तिनीहरूमा सुधारका लागि आत्मालोचना र आलोचनाको ठूलो महत्व हुन्छ । तर हाम्रो पार्टीका सबै स्तरका समितिहरूमा त्यो पद्धतिलाई अत्यन्त कम अभ्यास गर्ने गरिएको छ । खास गरेर वैठकहरूमा अन्य विषयहरूको छलफलमा बढी समय लागेपछि आत्मालोचना वा आलोचनाका लागि समय पुग्ने गर्दैन । कतिपय अवस्थामा केन्द्रीय समितिमा आत्मालोचना वा आलोचनाका लागि विशेष वैठक गर्ने गरिएको छ । तैपनि समग्रमा त्यो विषय उपेक्षित हुने गरेको छ । त्यसैले गर्दा पार्टी सदस्यहरूको दृष्टिकोण, अनुशासन, सक्रियता आदिमा देखापर्ने कमजोरीहरूलाई समयमा नियन्त्रण गर्ने काम पछाडि पर्ने गर्दछ । त्यसकारण त्यो प्रणालीको अभ्यासमा विशेष जोड दिनु पर्ने आवश्यकता छ ।
पार्टीको सम्पूर्ण अवस्थामा विकास, सङ्गठनात्मक विस्तार वा देशमा सशक्त तथा व्यापक भूमिका खेल्नका लागि कार्यकर्ताहरूको भूमिका निर्णयात्मक महत्व हुन्छ । त्यसकारण सामान्यतः पार्टीका कार्यकर्ताहरू र विशेषतः पेशेवर कार्यकर्ताहरूको सङ्ख्या बढाउन विशेष जोड दिनु पर्ने आवश्यकता हुन्छ । तर त्यसरी होलटाइमरको सङ्ख्यामा बृद्धिको प्रश्न अनिवार्य रूपले दृष्टिकोणसित जोडिएको छ । प्रथमतः अन्य व्यक्तिगत पेशाहरूलाई छाडेर पार्टीका लागि पूरै समर्पित भएर कार्य गर्ने स्प्रिटको विकास भएपछि नै कुनै कार्यकर्ता पेशेवर कार्यकर्ता बन्न तयार हुन्छ । तर, द्वितीय, कुनै पार्टी सदस्य पेशेवर कार्यकर्ता हुन तयार भएपछि उसलाई आवश्यक सहयोग, संरक्षणको व्यवस्था हुन नसके लगातार पेशेवर कार्यकर्ता बन्न सक्दैन । त्यसका लागि अल्पकालीन कार्यकर्ताहरूले आवश्यक सहयोग गर्न तयार हुनुपर्दछ । विभिन्न पेशा, व्यवसाय, नोकरी आदिमा लागेका पार्टी सदस्य वा समर्थकहरूले पेशेवर कार्यकर्ताहरूको सहयोग गर्न तयार हुनुपर्दछ । उनीहरूमा उच्च प्रकारको दृष्टिकोणको विकास भएपछि नै उनीहरू त्यस्ता सहयोग गर्न तयार हुन्छन् । त्यसका लागि पार्टीका आम सदस्य वा समर्थकहरूमा पेशेवर कार्यकर्ताका लागि बढीभन्दा बढी सहयोग गर्ने दृष्टिकोणको विकासका लागि देशव्यापी रूपमा चेतना उठाउने प्रयत्न गर्नु पर्दछ ।
पार्टी कार्यकर्ताहरूको चिन्तन प्रणाली सही हुनका लागि आधारभूत सैद्धान्तिक मान्यताहरूबारे उनीहरूको समझ्दारी सही हुनुपर्दछ । आधारभूत सैद्धान्तिक प्रश्नहरूमा उनीहरूको सोचाइ सही नभएमा उनीहरू सही दृष्टिकोण अपनाएर क्रान्तिकारी आन्दोलनमा लगातार अगाडि बढ्न सक्दैनन् । त्यसकारण आधारभूत माक्र्सवादीलेनिनवादी सिद्धान्त, समाजवाद, साम्यवाद, नयाँ जनवाद, वर्गसङ्घर्ष, राज्यको स्वरूप, कम्युनिस्ट नैतिकता, विश्व साम्राज्यवादी व्यवस्था, सर्वहारा अन्तर्राष्ट्रवाद आदिबारे पार्टी सदस्यहरूको दृष्टिकोण उठाउने प्रयत्न गर्नु पर्दछ । विचारमा त्यस प्रकारको स्पष्ट दृष्टिकोणको विकास द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सही ज्ञान भएपछि नै सम्भव छ । खास गरेर ऐतिहासिक भौतिकवादको सही समझ्दारीपछि नै देशमा घटिरहेका घटनालाई सही परिपेक्ष्यमा बुझ्न सम्भव हुन्छ । आधारभूत राजनैतिक माक्र्सवादीलेनिनवादी सिद्धान्तबारे सही दृष्टिकोण बन्नुको साथै तात्कालिक राजनैतिक प्रश्नहरूबारे पनि स्पष्ट दृष्टिकोण बन्नु पर्ने आवश्यकता हुन्छ । एकातिर, कम्युनिष्ट आन्दोलनमा देखा परेका बेग्लाबेग्लै गलत विचार र अर्कातिर, देशको राजनीतिमा देखा परेका बेग्लाबेग्लै गलत अवधारणाहरूबारे स्पष्ट समझ्दारी बन्नु पर्दछ ।
पार्टीका नेतृत्वदायी समितिहरूका सदस्यहरूको दृष्टिकोणको सही प्रकारले विकास हुन सकेन भने त्यसबाट पार्टीका सम्पूर्ण राजनैतिक लाइन, सङ्गठनात्मक कार्यप्रणाली र कार्यशैली समेत नराम्ररी प्रभावित हुन्छ । त्यस प्रकारको दृष्टिकोणको विकास नहुँदा कतिपय उच्च वा केन्द्रीय समितिमा चुनिएका सदस्यहरूले पनि उच्च वा केन्द्रीय सदस्यहरूका रूपमाभन्दा स्थानीय वा प्रादेशिक स्तरको समितिहरूका सदस्यहरूका रूपमा काम गरिरहेका हुन्छन् । त्यसले गर्दा केन्द्रीय सदस्यहरूले आफ्नो नेतृत्वदायी भूमिका पूरा गर्न सकिरहेका हुन्नन् । त्यसैले जुन पार्टी सदस्य जति माथिल्लो तहमा छ, उसको दृष्टिकोणमा त्यही प्रकारको उच्च विकास हुनु पर्ने आवश्यकता हुन्छ ।
पार्टीले सधै गम्भीर प्रकारको आर्थिक अभाव र सङ्कटको स्थितिको सामना गर्नु परिरहन्छ । पार्टीका विभिन्न आर्थिक आवश्यकता पूरा गर्न पार्टीका सदस्यहरू वा समर्थकहरूबाट बारम्बार महत्वपूर्ण सहयोग प्राप्त हुने गरेको छ । पार्टीको बढ्दो आर्थिक आवश्यकतानुसार त्यो धेरै नै कम छ र अहिले पनि पार्टीमाथि धेरै ऋण छ । खासगरेर ठूलो सङ्ख्यामा होलटाइमर कार्यकर्ताहरूको वृद्धिका लागि अहिलेका आर्थिक स्रोतहरूलाई कैयौँ गुना बढाउनु पर्ने आवश्यकता छ । त्यसका लागि, दुईवटा तरिकाहरूमा विशेष जोड दिनुपर्ने आवश्यकता हुन्छ ः प्रथम, आन्तरिक स्रोतहरूलाई बढाउने र व्यवस्थित गर्ने, द्वितीय, जनताबाट सहयोग जुटाउन पहलकदमी गर्ने । त्यस सिलसिलामा उत्पादनमूलक आर्थिक कार्यक्रमहरूमा पनि जोड दिनुपर्ने आवश्यकता छ । गत कालमा उत्पादन मुलक हाम्रा सबै प्रयत्नहरू असफल भएका छन् । तैपनि गतकालका गल्तीहरूलाई सुधारेर उत्पादनमूलक कार्यहरूमा जोड दिनुपर्दछ र त्यस सिलसिलामा सहकारिताको पनि विशेष महत्व छ । तर माथिका कार्यहरूको सही र सफल सञ्चालनका लागि आर्थिक प्रश्नमा पार्टी सदस्यहरूको दृष्टिकोणमा उच्च प्रकारको विकास आवश्यक छ । गतकालमा हाम्रा कैयौँ कार्यक्रमहरू असफल हुनुका पछाडि त्यस प्रकारका दृष्टिकोणको अभावले पनि प्रशस्त काम गरेको छ । दृष्टिकोणमा त्यस प्रकारको विकास विना पार्टीको फाइदाका लागि काम गर्ने रुची, सक्रियता र उत्साह उत्पन्न हुन्न । ती कार्यहरूबाट हुने लाभबाट बढी व्यक्तिगत फाइदा उठाउने विकृति उत्पन्न हुन्छ । त्यसैले आर्थिक कार्यहरूको सन्दर्भमा पनि दृष्टिकोणको प्रश्नले निर्णयात्मक महत्व राख्दछ । कुनै उच्च वा नेतृत्वदायी समितिहरूका सदस्यहरूको चुनाव गर्दा सङ्गठनात्मक पक्षहरूका साथै कुनै कार्यकर्ताका दृष्टिकोणभन्दा कति विकास भएको छ भन्ने कुरामा पनि विशेष ध्यान दिनु पर्ने आवश्यकता हुन्छ ।
पार्टी सदस्यहरूको चिन्तन प्रणाली र दृष्टिकोणका सन्दर्भमा विचार गर्दा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्कता छ । पूँजीवादी संस्कृतिले विश्वव्यापी रूपमा नै मानिसहरूको चिन्तन प्रणालीलाई विकृत पार्नको लागि सङ्गठित प्रकारले प्रयत्न गरिरहेको छ । त्यसका साथै लागू पदार्थको विश्वव्यापी प्रचारका कारणले पनि मानिसहरूको चिन्तन प्रणालीमा धेरै नै विकृति आउने गरेको छ । खास गरेर नयाँ पिढीमा लागू पदार्थको निकै बढी प्रसार बढीरहेको छ । भूमिगत रूपमा त्यसको तस्करी तथा विक्री र वितरण शिक्षण संस्थाहरूमा बढ्दै गइरहेको छ । त्यसको असर कतिपय स्थानहरूमा हाम्रा पार्टीका सदस्य र समर्थकहरूमा पनि परेको देखिन्छ । लागू पदार्थको कारणले कैयौँ सक्रिय पार्टी कार्यकर्ताहरू पूरै निस्क्रिय वा पलायन भएका उदाहरणहरू पनि पाइन्छन् । सबैतिर त्यस्तो नभएको भएता पनि लागू पदार्थको कारणले कतिपय कार्यकर्ताहरू चिन्तन प्रणाली, व्यवहार वा सक्रियतामा कमी आएको देखिन्छ । त्यसकारण त्यो समस्यालाई समाधान गर्न पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।
दृष्टिकोणको विकासको सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । दृष्टिकोणको विकासका लागि सैद्धान्तिक प्रशिक्षणको ठूलो महत्व छ । तर व्यवहार र सङ्घर्षसित जोडेर लगेपछि नै दृष्टिकोणको सही विकास हुन सक्दछ । एकातिर पार्टी सङ्गठनात्मक कार्यहरूमा लगातारको अभ्यास र अर्कातिर, सङ्घर्षका बीचबाट गएर नै माक्र्सवादीलेनिनवादी चिन्तन र दृष्टिकोणलाई ठीकसित आत्मसात गर्न, बुझ्न वा सही तथा प्रभावशाली प्रकारले त्यसको विकास सम्भव छ । पार्टीको प्रत्येक नेतृत्वदायी समितिहरूले आफ्ना कार्यकर्ताहरूको दृष्टिकोण परिमार्जन र विकासका सन्दर्भमा त्यस प्रकारको प्रक्रियालाई व्यावहारिक रूपमा उतार्ने प्रयत्न गर्नुपर्दछ । पार्टीका सदस्यहरूको क्रान्तिकारी चिन्तनको संदर्भमा एउटा अर्को, सामान्यतः उपेक्षित, तर निर्णयात्मक महत्वको पक्षप्रति पनि हाम्रो ध्यान जानु पर्दछ । त्यो हो ः विचार वा नीति तथा व्यवहारका बीचको सन्तुलन । कुनै विचार वा नीति जतिसुकै सही वा क्रान्तिकारी भएपनि त्यसलाई व्यवहारमा उतारिएन वा व्यवहारिक रूप दिन प्रयत्न गरिएन भने त्यसको कुनै अर्थ वा औचित्यता हुन्न । गतकालमा हाम्रो पार्टीले आफ्ना नीति र कार्यक्रमहरूलाई व्यवहारिक रूप दिन प्रयत्न गर्दै आएको अत्यन्त उज्ज्वल र गौरवपूर्ण इतिहास रहेको छ । त्यस सिलसिलामा पार्टीले आन्तरिक र बाह्य रूपमा कैयौ कार्यक्रम, अभियान, आन्दोलन वा प्रशिक्षण कार्यक्रमहरूका आयोजना गर्दै आएको छ र तिनीहरूको लामो सिलसिला छ । तैपनि त्यसबारे कैयौ कमजोरीहरू पनि छन् । हाम्रा कैयौँ निर्णयहरूलाई व्यावहारिक रूपमा लागू गरिएन् वा कुनै बैठक बस्दा पहिलेका कति निर्णयहरू लागू भए वा गरिएनन् ? कुनै निर्णय लागू नहुने वा जिम्मेवारी पूरा नगर्नुमा को जिम्मेवार छ ? त्यसको ठोस समीक्षा कमै गरिन्छ । यी कमजोरीहरूलाई हटाउदै विचार वा नीति तथा व्यवहारका बीचमा संतुलन कायम गर्ने कार्यलाई सबै स्तरमा उच्च प्राथमिकता दिनुपर्दछ ।
आगामी ४ महिनासम्म शुद्धीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रमलाई निम्नलिखित प्रकारले सञ्चालन गर्नु पर्नेछ ः
क. केन्द्रीय स्तरमा कमसेकम ५ दिनको प्रशिक्षण (यो कार्यक्रम सम्पन्न भइसकेको छ ।)
ख. क्षेत्रीय तहमा कमसेकम ३३ दिनको प्रशिक्षण ।
ग. जिल्ला तहमा ३३ दिनको प्रशिक्षण ।
घ. एरिया तहमा २२ दिनको प्रशिक्षण ।
ङ. गाउँहरूमा ११ दिनको प्रशिक्षण ।
ङ. जनवर्गीय सङ्गठनहरूको आवश्यकता अनुसार प्रशिक्षण
    शुद्धीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रमका सिलसिलामा मुख्य रूपले निम्नलिखित विषयहरूमा पार्टी सदस्यहरूको स्तरलाईमाथि उठाउन प्रयत्न गरिनेछ ः
१.    सर्वहारा विश्वदृष्टिकोणको उच्चतम विकास ।
२.    जस्तोसुकै व्यक्तिगत प्रलोभन, धम्की, दुःख, कष्ट, दमन, जेल वा मृत्युको खतरा उत्पन्न हुँदा पनि सिद्धान्त, नीति, देश, जनता पार्टी र क्रान्तिका हितहरूसित सम्झौता, सौदावाजी नगर्ने वा तिलाञ्जली नदिन उच्च प्रकारको नैतिकताको विकास ।
३.    पार्टीभित्र पद, कुनै व्यक्तिगत सुविधा वा फाइदाका लागि प्राथमिकता दिएर काम गर्ने, तिनीहरू प्राप्त नहुँदा, असन्तुष्ट हुने, गुटबन्दी गर्ने, निष्क्रिय हुने वा पार्टी नै छाड्ने जस्तो प्रवृतिहरू त्यागेर माक्र्सवादलेनिनवाद, देश, जनता, पार्टी र क्रान्तिको अधिकतम सेवा गर्ने उच्च प्रकारको दृष्टिकोणको विकास ।
४.    निम्न पुँजीवादी चिन्तन, त्यो कारणले उत्पन्न हुने व्यक्तिगत स्वार्थपरायण, दृष्टिकोण, अनुशासनहीनता, निष्क्रियता, पार्टीका जिम्मेवारीहरूप्रतिको शिथिलता आदिका ठाउँमा स्पष्ट सैद्धान्तिक दृष्टिकोणको विकास तथा त्यस प्रकारका कमजोरीहरूबाट बच्न समेत प्रयत्न ।
५.    पार्टीको माक्र्सवादीलेनिनवादी सङ्गठनात्मक प्रणाली, अनुशासन र जिम्मेवारीहरूप्रति स्पष्ट दृष्टिकोणको विकास ।
६.    पार्टीका लेभी, सदस्यता शुल्क निर्धारित समयमा र नियमित रूपमा बुझाउने दृष्टिकोणको विकास ।
७.    विभिन्न स्तरका माथिल्ला समितिहरूमा पठाउने प्रतिशत, कोटा, विभिन्न प्रकाशनहरूका हिसाब नियमित रूपले पठाउने प्रणालीको विकास ।
८.    सबै तहको हिसाब नियमित रूपले राख्ने तथा लेखापरीक्षणको नियमित व्यवस्था ।
९.    जिल्ला तहसम्मका पार्टी समिति तथा मोर्चा र जनवर्गीय सङ्गठनहरूका केन्द्रीय स्तरमा कार्यकर्ता कोष राख्ने व्यवस्था ।
१०.    अधिकतम सङ्ख्यामा होलटाइमर कार्यकर्ताहरूको विकास गर्ने र उनीहरूलाई अधिक्तम सहयोग गर्ने दृष्टिकोणको विकास ।
११.    अनिवार्य कार्यकर्ता कोष योजनाको प्रभावशाली कार्यान्वयनका लागि पूरै पार्टीमा चेतना ।
१२.    सबै मोर्चा र जनवर्गीय सङ्गठनहरूका समिति, प्mयाक्सनको नियमित र व्यवस्थित रूपले परिचालन ।
१३.    नयाँ पिढीमा पार्टीका सिद्धान्त र राजनैतिक प्रशिक्षणको उचित व्यवस्था ।
१४.    मजदुर, किसान, महिला, जनजाति, दलित आदिका बीचमा पार्टीको काम बढाउन प्रयत्न ।
१५.    मजदुर, किसानहरूका बीचमा वर्गसङ्घर्ष बढाउन र आधारभूत वर्गहरूमा सङ्गठनको विकास गर्न पहल ।
१६.    सबै स्तरका समितिहरूको नियमित वैठक ।
१७.    माक्र्सवादीलेनिनवादी साहित्यको नियमित अध्ययन गर्ने बानीको विकास ।
१८.    पार्टीको विधान, नियमावली, अनुशासनलाई कडाइपूर्वक पालन गर्ने तथा तिनीहरूको उल्लङ्घनप्रति नियमित रूपले कारवाही गर्ने पद्धतिमा जोड ।
१९.    आत्मालोचना, आलोचना लगातार रूपले चलाउने पद्धतिको विकास ।
२०.    पेशेवर कार्यकर्ता बन्न तथा पेशेवर कार्यकर्ताका लागि कार्यकर्ता कोषमा अधिकतम सहयोगका लागि पार्टीभित्र व्यापक चेतना ।
२१.    पार्टीका सबै नीति, कार्यक्रम वा निर्णयहरूलाई पूरै कार्यान्वयन गर्ने कार्यशैलीको विकास ।
२२.    केन्द्रदेखि जिल्लास्तरसम्म डायरी लेख्ने प्रथामा प्रोत्साहन ।
२३.    लागू पदार्थको प्रसार र सेवनलाई नियन्त्रण गर्न पूरा प्रयत्न ।

फर्कनुस्

बाँकी समाचार

•  देशको तात्कालिक राजनीतिक परिस्थिति बारे ने.क.पा. (मसाल)को नीति
•  तात्कालिक राजनैतिक प्रस्ताव
•  २०६३ फागुन २६-३० गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी मसालको सातौं महाधिवेशनमा पारित दस्तावेजहरु
•  तात्कालिक राजनीतिक प्रस्ताव
•  राजनीतिक प्रस्ताव
•  खस जाति सम्बन्धी प्रस्ताव (छलफलका लागि)
•  राज्य पुनर्संरचना सम्बन्धी ने.क.पा. (मसाल) को प्रस्ताव
• 
• 
• 
• 
•  तात्कालिक राजनीतिक प्रस्ताव
• 
•  निर्दलीय सरकारको विरोध गरौं, संविधानसभाको निर्वाचन सुनिश्चित गर्न संघर्ष गरौं ।
• 
• 
•  अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सम्बन्धि प्रस्ताव
•  सरकारमा सहभागितासम्बन्धी राजनीतिक प्रस्ताव
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.