नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल)को सातौं महाधिवेशनपछिको दोस्रो राष्ट्रिय भेला २०६९ असोज १९ र २० गते सम्पन्न भयो । का. वीर सिंहको स्वागत भाषण, का. कमान सिंहको सञ्चालन र का. सहजको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रिय भेलाको उद्घाटन पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहले गर्नुभएको थियो । त्यसपछि का. प्रविण, का. रक्षा र का. प्रभातको अध्यक्षतामा र पार्टीका प्रवक्ता का. हरि आचार्यको सञ्चालनमा भेलाको बन्दसत्र प्रारम्भ भयो ।
भेलामा देशको तात्कालिक राजनीति बारे का. मोहनविक्रम सिंहद्वारा प्रस्तुत एउटा तात्कालिक राजनीतिक प्रस्ताव पारित गर्नुका साथै आगामी संघर्षको कार्यक्रम, विभिन्न संगठनात्मक कार्य र आर्थिक अभियान समेतका कैयौं महत्वपूर्ण निर्णयहरु गरिएका छन् ।
हामीलाई यो बताउँदा खुसी लागिरहेको छ कि भेलाले बुटवलमा नेपालको कम्युनिष्ट आन्दोलनको संग्रहालय (The Museum of The Communist Movement of Nepal) को स्थापना गर्ने निर्णय गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनसित सम्बन्धित अन्य राजनीतिक संगठन, संघसंस्था वा व्यक्तिहरुसित परामर्श गरेर तथा उनीहरुको सहयोग लिएर त्यो संग्रहालयलाई राष्ट्रिय रुप दिने प्रयत्न गरिने छ । त्यो संग्रहालयमा नेपालको कम्युनिष्ट आन्दोलनसित सम्बन्धित पुस्तक, दस्तावेज, पत्रपत्रिका, पाण्डुलिपि, फोटो, इलेक्ट्रोनिक सामाग्री वा अन्य राजनीतिक र ऐतिहासिक सामाग्रीहरुको संकलन गर्ने प्रयत्न गरिने छ । हामीलाई विश्वास छ, त्यो संग्रहालयको स्थापनाले नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन र अनुसन्धान समेतका लागि एउटा महत्वपूर्ण योगदान  दिनेछ । उक्त कार्यमा सहयोग गर्न हामीले देशका विभिन्न राजनीतिक दल, संघसंस्था, व्यक्तित्व, आम जनता र सरकारसित समेत अनुरोध गर्दछौं ।
भेलाद्वारा पारित राजनीतिक प्रस्तावमा संविधानसभाको विघटनपछि तुरुन्त बसेको केन्द्रीय समितिको राजनीतिक प्रस्तावमा स्वीकृत नीतिहरुको उल्लेख गर्दै तिनीहरुको घटनाक्रमको विकासक्रमद्वारा अहिलेको अवस्थामा पनि सही भएको कुरा स्वीकार गरेको छ । त्यो प्रस्तावमा यो स्पष्ट गरिएको छ कि संविधानसभाको विघटन पछि वर्तमान भट्टराई सरकार काम चलाउ सरकार भएकाले त्यसको ठाउँमा छिटोभन्दा छिटो राष्ट्रिय सहमतिको सरकार बन्नु पर्दछ र त्यसको तत्वाधानमा संविधानसभाको चुनाव सम्पन्न हुनुपर्दछ । अहिले संविधानसभा वा कुनै निर्वाचित निकाय नभएको अवस्थामा राष्ट्रिय सहमतिको सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा बाधा अडकाउ फुकाउने संवैधानिक अधिकारको प्रयोग गर्दै अध्यादेशहरु जारी गरेर अहिले संविधान तथा कानूनमा भएका बाधाहरु फुकाउँदै निर्वाचन वा तात्कालिक कार्यहरु सम्पन्न गर्दै जानुपर्दछ । त्यसपछि संविधानको निर्माण र गणतन्त्रलाई सुदृढ गर्ने काम हुन सक्नेछ ।
उपरोक्त प्रकारका संवैधानिक र प्रजातान्त्रिक प्रक्रियामा वर्तमान सरकारका गलत नीति वा कार्यहरुका कारणले बाधा पुगिरहेको छ । त्यसले संविधानको विवादित प्रश्नहरुमा सहमति, संविधानको अन्तर्वस्तुमा सहमति वा प्याकेजमा सहमति समेतका कुरा उठाएर राष्ट्रिय सहमतिको सरकार वा संविधानसभाको निर्वाचनमा समेत बाधा पुराउने तथा वर्तमान सरकारलाई नै निरन्तरता दिने, अध्यादेशहरुको माध्यमद्वारा आफ्नो सत्तालाई निरन्तरता दिने प्रयत्न गरिरहेका छन् । वर्तमान सरकारको त्यस प्रकारको नीतिबाट देशमा अधिनायकवादको खतरा हुने सम्भावना छ । आफ्नो सत्ता कायम गर्न उनीहरुले भारतपरस्त नीतिहरु अपनाएकाले उनीहरुको भूमिकाबाट राष्ट्रघातको पनि गम्भीर खतरा उत्पन्न भएको छ । सरकारको त्यस प्रकारको नीतिबाट देशमा अधिनायकवाद र राष्ट्रघातको समेत गम्भीर खतरा उत्पन्न भएको छ । सामान्य समझदारी वा सहमतिद्वारा यो स्थितिमा निकास ननिस्केमा वर्तमान स्थितिमा समाधानका लागि सशक्त जनआन्दोलन वा तेस्रो जनआन्दोलन बाहेक अन्य कुनै विकल्प छैन ।
सरकारले जुन प्रकारको नीति अपनाइरहेको छ, त्यसबाट अहिलेको संवैधानिक र प्रजातान्त्रिक प्रक्रियामा बाधा पुगिरहेकाले सरकारको त्यस प्रकारको नीतिको विरोध तथा राष्ट्रिय सहमतिको सरकार र संविधानसभाको चुनाव समेतलाई सुनिश्चित गर्नका लागि व्यापक जनमत तयार पार्न र आन्दोलन संगठित गर्न समेत पहल गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि संयुक्त जनआन्दोलनको निर्माणका लागि पहल गर्नुका साथै आफ्नो स्वतन्त्र पहलमा पनि त्यसका लागि प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हाम्रो पार्टीले कार्तिक र मंसिरमा प्रचारात्मक कार्य, अन्तरक्रिया, सभा, गाउँ स्तरसम्म तथा देशव्यापी रुपमा सभाका कार्यक्रमहरु समेत सञ्चालन गर्ने ठेगान गरेको छ । पार्टीले माओवादीहरुप्रतिको कार्यगत एकताको नीतिबारे पुनर्विचार गरेको छ । अहिलेसम्म उनीहरुसित द्विपक्षीय कार्यगत एकतालाई अस्वीकार गर्दै आएकोमा अब एमाओवादी र नवगठित माओवादी समेतसित पारस्परिक सहमति वा समझदारी भएका विषयहरुमा द्विपक्षीय कार्यगत एकतालाई खुला गर्ने निर्णय गरिएको छ । तर उनीहरुसित भएका मतभेदहरुका विषयहरुमा आवश्यकतानुसार आलोचना, विरोध वा संघर्षको नीति अपनाइने छ ।
राजनीतिक प्रस्तावमा राष्ट्रपतिको भूमिकाबारे पनि विचार गरिएको छ । राष्ट्रपतिद्वारा वर्तमान काम चलाउ सरकारका ठाउँमा राष्ट्रिय सहमतिको सरकार कायम गर्न तथा अध्यादेशहरुको माध्यमद्वारा आफ्नो सत्तालाई निरन्तरता दिने गरिरहेको प्रयत्नलाई नियन्त्रण गर्न जुन प्रयत्न भइरहेको छ, त्यसलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिंदै त्यस प्रकारको प्रयत्नहरुलाई समर्थन गर्ने निर्णय भएको छ । त्यसका साथै त्यस सिलसिलामा राष्ट्रपतिको प्रत्यक्ष र निरंकुश शासन कायम हुन नपावस् भन्ने बारे पनि उच्च प्रकारको सतर्कताको आवश्यकता छ । अहिलेको अस्थिर, अनिश्चित र अन्यौलपूर्ण राजनीतिक अवस्थाबाट फाइदा उठाएर राजावादीहरुले राजतन्त्र र हिन्दू राज्यको पुनस्र्थापनाको लागि पनि गतिविधि बढाएर लगिरहेका छन् । त्यस प्रकारको खतराका विरुद्ध पनि जनचेतना उठाएर लैजानुपर्ने आवश्यकता छ ।
आणविक खतराका विरुद्ध र पर्यावरणको रक्षाका लागि सुरु भएको हस्ताक्षर अभियानलाई देशव्यापीरुपमा सम्पन्न गर्ने निर्णय गरियो । त्यसका साथै पर्यावरणको रक्षाका लागि देशव्यापी आन्दोलन सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।
राजनीतिक प्रस्तावमा यो पनि स्पष्ट गरिएको छ कि आज देशमा संघीयता, जातिवाद, क्षेत्रीयतावादको पनि गम्भीर समस्या उत्पन्न भएको छ । एमाले र ने.का. त्यस प्रकारको प्रवृत्तिहरुका विरुद्ध स्पष्ट अडान लिएको कुरालाई हामीले सकारात्मक रुपमा लिन्छौं । तर एमाओवादी र नवगठित माओवादी दुवै त्यस प्रकारका प्रवृत्तिहरुबाट ग्रस्त भएका, माओवादीले त्यसलाई बल दिन गठबन्धन गरेको, अन्य कतिपय जातिवादी र क्षेत्रीयतावादी संगठनहरु त्यसका पक्षमा सक्रिय भएको कतिपय नयाँ जातिवादी संगठनहरु खुलेको र त्यस प्रकारका गतिविधिहरुलाई साम्राज्यवादी, विस्तारवादी वा एन.जी.ओ., आई.एन.जी.ओ. आदिले समेत मद्दत पुराएकोले समेत जातिवाद र क्षेत्रीयतावाद समेतको गम्भीर खतरा उत्पन्न भएको छ । त्यसबाट सम्भावित जातीय, क्षेत्रीय विग्रह र राष्ट्रिय विखण्डन समेतका विरुद्ध व्यापक जनचेतना र आन्दोलन संगठित गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौं ।
भेलामा प्रवासी नेपालीहरुका मताधिकारको विषयमा हाम्रो पार्टीले प्रारम्भदेखि नै लगातार आवाज उठाउँदै आएको छ । आगामी चुनावमा त्यसलाई सुनिश्चित गर्नका लागि आवाज उठाउन र आन्दोलन संगठित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । प्रस्तावमा राष्ट्रियताका अगाडि इतिहासमा नै सायद सबैभन्दा खतरा उत्पन्न भएको निष्कर्ष निकालिएको छ । त्यसकारण देशको राष्ट्रियताको रक्षाको संघर्षमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । त्यसका साथै महंगी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहीनता भारत र अन्य देशहरुमा नेपालीहरुमाथि हुने अत्याचार बारे पनि आवाज उठाउनु पर्ने आवश्यकतामा जोड दिइएको छ ।
अन्तमा का. सुरेशको सञ्चालन र का. काशीको अध्यक्षतामा भेलाको समापन कार्यक्रम सम्पन्न भयो । त्यो कार्यक्रममा का. मोहनविक्रम सिंहले मन्तव्य दिनुभएको थियो ।
 
मिति ः २०६९ असोज २१ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.