नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatदस्ताबेज

खस जाति सम्बन्धी प्रस्ताव
(ने.क.पा. (मसाल)को केन्द्रीय समितिको २०६९ जेष्ठ २४२७ सम्म बसेको केन्द्रीय समितिको १८ औं बैठकद्वारा पारित )
खस जाति बारे देशमा गम्भीर प्रकारको विवाद उठेको छ । त्यसैले त्यसबारे आफ्नो दृष्टिकोण स्पष्ट गर्नका लागि ने.क.पा. (मसाल)ले निम्नलिखित प्रस्ताव पारित गरेर त्यस सम्बन्धी आफ्नो नीति स्पष्ट गर्ने प्रयत्न गरेको छ ।
खस जाति विश्वको नै एउटा प्राचीन र प्रागऐतिहासिक जाति हो । उनीहरु मूल रुपमा मध्यएशियाका वासिन्दाहरु थिए । उनीहरुको मूल वासस्थान यूरोप र एशिया महादेशको सीमामा रहेको ककेसस पर्वत मालाको क्षेत्र वा आधुनिक टर्की, इरान र रुसको आसपासको भूभाग हो । प्राचीन कालमा उनीहरुको वेविलोन, मेसोपोटामिया आदि स्थानहरुमा उपस्थिति रहेको पाइन्छ । कतिपय वैज्ञानिकहरुले गरेको डी.एन.ए. परीक्षण अनुसार नेपालका खस र इरानका वासिन्दाहरुका बीचमा रगत सम्बन्ध भएको पनि पाइएको छ । वेविलोन, मेसोपोटामिया भनेका वर्तमान इराक, इरानका आसपासका क्षेत्रहरु हुन् । आर्यहरुको एउटा शाखाले पश्चिमबाट सिन्धुघाटी हुँदै गंगाजमुनाको मैदानमा प्रवेश गयो । खसहरु उत्तरी पहाडको बाटो पूर्वतिर लागे । उनीहरु मध्यएसियाबाट हिन्दूकुश, काश्मीर, गढवाल, कुमाउँ हुँदै नेपालमा फैलिए । पूर्वमा उनीहरु सिक्किम, भूटान, आसाम, मेघालयसम्म फैलिएका थिए ।
आर्यहरुको जुन शाखाले गंगाजमुनाको समतल क्षेत्रमा प्रवेश गयो, उनीहरुले वेद र हिन्दू धर्म मान्दथे । उनीहरु इतिहासमा वैदिक आर्यका रुपमा चिनिन्छन् । आर्यहरुको अर्को शाखा, खस आर्यहरु उत्तरी पहाडको बाटो हुँदै पूर्वतिर लागे । उनीहरुले वेद वा हिन्दू धर्म मान्दैनथे । पछि खस आर्यहरुको बसोबास भएका उत्तरी पहाडहरुमा पनि वैदिक आर्यहरुको प्रभूत्व बढ्दै गयो र खसहरु माथि पनि उनीहरुले प्रभाव जमाउँदै गए । तर खसहरुले सजिलैसित वैदिक आर्यहरुको प्रभूत्वलाई स्वीकार गरेका थिएनन् । 
हिन्दू धर्म शास्त्रहरुले वेद वा हिन्दू धर्मलाई नमान्ने अन्य सबै जातिहरुलाई शुद्र, म्लेच्छ बताउने गर्दथे । त्यस अनुसार मनुस्मृति र अन्य पौराणिक ग्रन्थहरुले हिन्दू धर्म नमान्ने खस, किरात, पौन्ड्रक, द्रविड, यवन, कम्वोज, शक, हुण, पल्हव, काची, चीन, दरद आदिलाई पनि म्लेच्छ वा शुद्रको संज्ञा दिए । वास्तवमा वैदिक आर्यहरुले आफ्नो प्रभूत्व कायम गर्न खस सहित अवैदिक आर्यहरुका विरुद्ध लामो र कडा संघर्ष गर्नु परेको थियो । रामायण, महाभारत सहित पुराणहरुमा त्यसबारे विस्तृत चर्चा गरिएको छ । वायु पुराणमा कलियुगको अन्तमा कल्किद्वारा खस, शक, पवन, गन्धर्व, कात, पल्लव आदिलाई नष्ट गरिने भविष्यवाणी गरिएको छ । त्यसबाट हिन्दूहरुमा खस जाति प्रतिको विरोधले कति गहिरो घर जमाएको थियो ? त्यो कुरा प्रष्ट हुन्छ । त्यसबाट हिन्दू र अन्य गैरहिन्दू जातिहरुका बीचमा लामो समयसम्म अत्यन्त गहिरो र शुत्रतापूर्ण सम्बन्ध भएको कुरा बुझिन्छ, जसमा खस पनि पर्दछन् । अन्तमा खस आर्यहरुले अन्य कैयौं गैरहिन्दू जातिहरुले जस्तै आत्मसमर्पण गर्दै र हिन्दू धर्म अपनाउँदै गए । त्यसरी उनीहरुको हिन्दूकरण हुँदै गयो । त्यो क्रममा खसहरुले आफूलाई हीन ठान्न थाले र हिन्दू धर्म, संस्कार वा थरहरु अपनाउँदै गए । त्यस प्रकारको पृष्ठभूमिमा खसहरुको अवैदिक वा हिन्दु धर्म विरोधी पहिचान समाप्त हुँदै गयो ।
हिन्दु ग्रन्थहरुमा प्राचीन कालदेखि नै खसहरुको उल्लेख गरिएको पाइन्छ । त्यसअनुसार मुनस्मृति, रामायण, महाभारत, व्रह्मपुराण, हरिवंश पुराण, मार्कण्डेय पुराण, भगवत पुराण, स्कन्द पुराण, भविष्य पुराण, कल्किपुराण, वृहत्संहिता, काश्यपसहिंता, मुद्रा राक्षस, भरतको नाट्य शास्त्र, वौद्ध ग्रन्थहरु, अशोका वदन, दित्यावदान, ललित विस्तार, काश्मिरको राजतरंगिणी आदिमा खस जातिको उल्लेख भएको छ । त्यसबाट खस जाति प्राचीन कालदेखिको नै उत्तरी हिमालय, नेपाल र भारतको समेत एउटा प्रसिद्ध जाति भएको कुरामा कुनै शंका रहन्न । ती सबै कुराहरुमाथि विचार गर्दा इतिहासमा खसहरु स्पष्ट रुपले वैदिक आर्यहरु होइन, किराँत, पौन्ड्रक, द्रविड, यवन, कम्वोज, शक, हुण, पल्हव, काची, चीन, दरद आदि जस्तै गैरहिन्दू जाति भएको कुरामा कुनै शंका रहन्न । पछि यहाँ उल्लेख गरिएका जातिहरु मध्ये कैयौंको क्रमशः हिन्दू जातिमा नै विलय भएर उनीहरुको अस्तित्व समाप्त भएको देखिन्छ । खसहरुको पनि हिन्दूकरण हुँदै गएपछि त्यसको पृथक पहिचान कम हुँदै गयो । तैपनि अन्य कैयौं गैरहिन्दू जातिहरुको जस्तै त्यसको पूरै हिन्दू जातिमा विलय भएन र त्यसको अहिले पनि कुनै न कुनै रुपमा अस्तित्व बाँकी रहेको छ । तैपनि ऐतिहासिक तथ्यहरुका आधारमा खस जाति मूल रुपमा हिन्दू जाति नभएर गैरहिन्दू जाति भएको कुरामा शंका रहन्न । स्वयं हिन्दू शास्त्रहरुले पनि उनीहरुलाई गैरहिन्दू वा शुद्र, म्लेच्छ जातिका रुपमा नै व्याख्या वा प्रस्तुत गर्दै आएको कुराबाट पनि त्यही कुरा प्रष्ट हुन्छ ।
पश्चिम नेपालमा १२ औं शताब्दिदेखि खस राज्यको प्रारम्भ भएको देखिन्छ । तर उनीहरु नेपालमा प्रवेश गर्ने वित्तिकै अवश्य पनि शासकहरु भएका थिएनन् । नेपालमा प्रवेश गरेपछि शासक बन्नका लागि उनीहरुलाई कैयौं शताब्दि लागेको हुन सक्दछ । उनीहरुले सर्वप्रथम कहिले नेपालमा प्रवेश गरे ? इतिहासकारहरुले त्यसबारे बेग्लाबेग्लै मतहरु प्रकट गर्दै आएका छन् । कतिपय इतिहासकारहरुले पाँचौं शताब्दिदेखि उनीहरुले नेपालमा बसोबास गर्दै आएको बताउँछन् भने कतिपयले ई.पू. दुई हजार वर्ष पहिले नै उनीहरुको नेपालमा आवागमन भएको बताउँछन् । कतिपय इतिहासकारहरुले सिन्धुघाटी र गंगाजमुनाको मैदानमा वैदिक आर्यहरुको आगमनभन्दा पहिले नै खस जातिको उत्तरी पहाड सहित नेपालमा समेत प्रवेश भएको कुरा बताएका छन् । पश्चिमी र गढवाल कुमाउँका विद्वानहरुले खस जाति बारे विस्तृत रुपले अध्ययन र अनुसन्धान गरेका कृतिहरु पाइन्छन् । त्यस सिलसिलामा यो मत पनि प्रकट गर्ने गरेको पाइन्छ ः प्रागऐतिहासिक कालमा नै दुईवटा मुख्य जातिहरुले नेपालमा प्रवेश गरेका थिए, जसमध्ये एउटा किरात थियो भने अर्को खस । किरातहरुले उत्तर पूर्वबाट र खसहरुले नेपालको पश्चिमबाट नेपालमा प्रवेश गरेका थिए ।
खसमा पहिले वर्णव्यवस्था थिएन । हिन्दूहरुको प्रभावमा आएपछि उनीहरुले पनि वर्णव्यवस्थाको अनुकरण गर्न थाले । उनीहरु पनि ब्राह्मण, ठकुरी, क्षेत्री, दलितका रुपमा बाँडिन थाले । निश्चय नै कैयौं शताब्दिको विकासक्रम वा हिन्दूहरुसितको हेलमेलको क्रममा नै उनीहरुले त्यस प्रकारको वर्णव्यवस्थालाई अपनाउँदै गएका थिए । तैपनि उनीहरुका कैयौं गैरहिन्दू जातीय चाडवाड र संस्कारहरु अहिले पनि उनीहरुका बीचमा पाइन्छन् । गढवाल, कुमाउँ वा कर्णाली प्रदेशका विभिन्न गाउँहरुका नामहरु अनुसार उनीहरुको थरहरुको नामाकरण हुँदै गयो । हिन्दू धर्मको प्रभावमा परेर खस जाति भन्दा हीन ठानिने भएकाले सत्तामा पुगेपछि वा केही सम्पन्न भएपछि कैयौं मानिसहरुले हिन्दू वर्णाश्रम अनुसार आफूलाई उच्च जातिको रुपमा प्रस्तुत गर्न थाले । कतिपय खस राजाहरुले चितौडका राजपुतहरुसित जोडेर आफ्ना वंशावली तयार पार्न थाले । 
आज कैयौं संगठनहरुले खस जातिलाई आदिवासी र जनजातिको मान्यता दिनुपर्दछ भन्ने कुरा पनि उठाइरहेका छन्  कुनै जाति आदिवासी वा जनजाति हो वा होइन ? त्यसको निर्धारण गर्न एउटा निश्चित प्रकारको मापदण्ड अपनाउनु पर्दछ । त्यस अनुसार नै देशको कुनै जाति जनजाति भएको वा नभएको छुट्टाउनु पर्दछ । जहाँसम्म खसहरु आदिवासी हुन् कि होइनन् भन्ने प्रश्न छ, त्यो इतिहासको अध्ययन गरेर टुंगाउने प्रश्न हो । इतिहासको सरसरी अध्ययन गर्दा खस जाति विश्वका प्राचीन जातिहरु मध्येमा एउटा भएको कुरामा कुनै शंका रहन्न । उत्तरी हिमालय र पहाडहरुमा पनि उनीहरुले प्राचीन कालदेखि नै बसोबास गर्दै आएको कुरा देखिन्छ, जसमा नेपालका पहाडी भागहरु पनि सामेल छन् । नेपालका आदिवासीहरु कुन्कुन् हुन् र तिनीहरुमा खस जाति पर्दछ वा पर्दैन ? त्यो कुरा पनि इतिहासको अध्ययन गरेर टुंगाउने कुरा हो र त्यसरी नै त्यसबारे निर्णय गरिनु पर्दछ । जहाँसम्म उनीहरुलाई जनजातिको रुपमा स्वीकार गर्ने प्रश्न छ, नेपालमा उनीहरु लामो समयसम्म सत्तारुढ भएको तथा उनीहरुको विकासको अवस्था माथि विचार गर्दा उनीहरुलाई जनजाति भन्न मिल्दैन ।
अन्तरिम संविधान र निर्वाचन सम्बन्धी ऐन समेतमा खस जातिलाई अन्यका रुपमा राखिएको छ । तर त्यस प्रकारको अवधारणालाई सही, तर्कसंगत वा न्यायपूर्ण भन्न सकिन्न । त्यसो गर्नु वास्तवमा देशको अत्यन्त लामो र सबैभन्दा बढी जनसंख्या भएको जातिको अवमूल्यन गर्नु नै हो । त्यसकारण सम्बन्धित सबै कुराहरुमाथि विचार गर्दै त्यो नीतिबारे पुर्नविचार गर्नुपर्ने आवश्यकता छ । समावेशीकरणबारे विचार गर्दा पनि खस जातिको ऐतिहासिक पृष्ठभूमि, देशको ठूलो भूभागमा उनीहरुको वसोवास वा जनसंख्यामाथि विचार गरेर उनीहरुलाई पनि न्यायपूर्ण तरिकाले आवश्यक प्रतिनिधित्व दिनुपर्ने आवश्यकता देखिन्छ र त्यसबारे उनीहरुप्रति गरिने भेदभावलाई सही भन्न सकिन्न । 
खसहरुको देशव्यापी आन्दोलन पछि सरकारले उनीहरुसित सम्झौता गरेर उनीहरुलाई खस आर्यको मान्यता दिने, आदिवासीका रुपमा स्वीकार गर्ने र अन्यबाट हटाउने समेत सहमति भएको छ । त्यस प्रकारको सहमति भएपनि संविधान वा निर्वाचन कानूनमा खसलाई  अन्यका रुपमा राखिएको व्यवस्थालाई संशोधन गर्ने काम अझै भएको छैन । त्यसकारण उनीहरुलाई अन्यका रुपमा राख्ने सबै कानूनमा आवश्यक परिवर्तन गरिनु पर्दछ । नेपालका अन्य जातिहरुलाई कुनै राष्ट्रिय मापदण्ड निश्चित नगरेका आदिवासी वा जनजातिका रुपमा मान्यता दिने गरिएको छ । त्यसलाई आदिवासीका रुपमा स्वीकार गर्ने निर्णय पनि त्यही प्रकारले हचुवा प्रकारले गरिएको निर्णय हो । त्यसैले आदिवासी वा जनजातिहरुको निर्धारण गर्ने राष्ट्रिय  मापदण्ड निश्चित गरेर खस जातिबारे पनि निर्णय गरिनु पर्दछ ।
खस जातिहरुले नेपालमा लामो समयसम्म शासन गरे । उनीहरुले अन्य जातिहरुका भाषा, संस्कृति वा धर्मलाई दवाउने काम गरेका छन् । त्यसले गर्दा जातीय रुपमा अन्य जातिहरुमा खसप्रति प्रसस्त विरोधको भाव पाइन्छ । तैपनि के कुरा प्रष्ट हुनुपर्दछ भने त्यो जातिको एउटा उच्च अभिजात वर्ग नै देशमा शासन गर्ने गरेको छ र त्यो जातिका आम जनता शोषित, उत्पीडित रहने गरेका छन् । त्यसैले अन्य जाति माथि हुने शोषण, उत्पीडन वा भेदभावका लागि त्यो जातिका आम जनता उत्तरदायी छैनन् । स्वयं उनीहरु पनि आफ्नै जाति, अर्थात् खस जातिका शोषक वर्गद्वारा शताब्दियौं देखि उत्पीडित हुँदै आएका छन् । त्यो कुरा अन्य सबै जातिहरुका बारेमा पनि सत्य हो । अन्य जातिका जनता पनि आफ्नो जातिको शोषण वर्गद्वारा शोषित उत्पीडित हुँदै आएका छन् । इतिहासका बेग्ला बेग्लै कालखण्डनहरुमा नेपालका अन्य कतिपय जातिहरु पनि शासक वर्गका रुपमा रहने गरेका छन् । तर त्यो कारणले कुनै पनि जातिका शोषित, उत्पीडित जनतालाई दोषि ठहराउनु वा उनीहरुको विरोध गर्नु न्यायपूर्ण कुरा हुने छैन । त्यस प्रकारको पृष्ठभूमिमा आवश्यकता यो कुराको छ कि खस वा अन्य सबै जातिका शोषित, उत्पीडित जनताले ऐक्यवद्ध भएर आफू माथि हुने शोषण, उत्पीडन वा भेदभावका विरुद्ध संघर्ष गर्नुपर्दछ र त्यसरी नै उनीहरुको मुक्ति र उत्थान सम्भव छ । जातीय आधारमा शोषित, उत्पीडित जनतालाई विभाजित गर्ने वा उनीहरुका बीचमा वैमनस्यता गर्ने नीतिबाट त्यस प्रकारको वर्गीय एकता वा संघर्षलाई कमजोर पार्दछ र उनीहरुमाथिका सामन्ती, शोषण, उत्पीडन आदिलाई कायम राख्न मद्दत पुग्दछ । त्यसैले त्यस प्रकारको नीति सबै शोषित, उत्पीडित जनताका हितका विरुद्ध छ ।
देशमा भएका विभिन्न जात, जाति वा जनजातिहरुलाई मानव विकास सूचकांकका आधारमा मूल्यांकन गरेर पिछडिएका जात, जाति वा जनजातिहरुलाई विशेष सुविधा र आरक्षण दिने नीति अपनाउनु पर्दछ । तर खस जाति त्यस प्रकारको पिछडिएको श्रेणीमा पर्दैन र त्यसलाई विशेष सुविधा वा आरक्षण दिने नीति अपनाउनु सही हुनेछैन । तर त्यो कारणले खस जाति अन्तर्गतका दलित जातलाई विशेष सुविधा र आरक्षण दिन हुन्न भन्ने होइन । त्यस प्रकारको मानव विकास सूचकांक माथि विचार नगरिकन खालि जातीय आधारमा कुनै जातिलाई विशेष सुविधा वा आरक्षण दिने नीति पनि सही हुँदैन । मानव विकास सूचकांकका आधारमा पिछडिएका जात वा जातिको एउटा सूची तयार पारिनु पर्दछ र त्यस अनुसार उनीहरुलाई विशेष सुविधा वा आरक्षण दिने नीति अपनाइनु पर्दछ ।

फर्कनुस्

बाँकी समाचार

•  देशको तात्कालिक राजनीतिक परिस्थिति बारे ने.क.पा. (मसाल)को नीति
•  तात्कालिक राजनैतिक प्रस्ताव
•  २०६३ फागुन २६-३० गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी मसालको सातौं महाधिवेशनमा पारित दस्तावेजहरु
•  तात्कालिक राजनीतिक प्रस्ताव
•  राजनीतिक प्रस्ताव
•  खस जाति सम्बन्धी प्रस्ताव (छलफलका लागि)
•  राज्य पुनर्संरचना सम्बन्धी ने.क.पा. (मसाल) को प्रस्ताव
• 
• 
• 
•  तात्कालिक राजनीतिक प्रस्ताव
• 
•  निर्दलीय सरकारको विरोध गरौं, संविधानसभाको निर्वाचन सुनिश्चित गर्न संघर्ष गरौं ।
• 
• 
• 
•  अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सम्बन्धि प्रस्ताव
•  सरकारमा सहभागितासम्बन्धी राजनीतिक प्रस्ताव
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.