नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

नेपाल सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई भारत सरकारले पूरा समर्थन गर्दै त्यसको कार्यान्वयनमा जोड दिएको छ । त्यस सिलसिलामा भारतीय दुतावासले जारी गरेको विज्ञप्तिबाट कैयौँ महत्वपूर्ण कुराहरू छलङ्ग भएका छन् । त्यो विज्ञप्तिबाट हाम्रो पार्टीले सरकारले त्यो विधेयक भारतीय विस्तारवादको योजना अनुसार नै ल्याएको हो भनेर सुरुदेखि नै जुन दावी गर्दै आएको छ, त्यो सही सावित भएको छ । ५ नं. प्रदेशलाई विखण्डन गरेर पहाडबाट अलग गरी बेग्लै मधेश प्रदेश निर्माण गर्ने समेत विषयमा सरकारले ल्याएको संशोधन विधेयकका विरुद्ध सामान्यतः सम्पूर्ण देशमा र विशेषतः ५ नं. प्रदेशमा जनता व्यापक रूपमा सङ्घर्षमा उत्रेका छन् । तर भारतीय शासक वर्गले त्यो जनमतको वेवास्ता गर्दै त्यसरी ५ नं. प्रदेशलाई विखण्डन गरेर बेग्लै मधेश प्रदेशको निर्माण गर्ने प्रस्तावलाई समर्थन गरेको छ । त्यसबाट भारतीय विस्तारवादको चरित्र मूल रूपमा नेपालको राष्ट्रिय हित वा जनमतका विरुद्ध भएको कुरामा कुनै शङ्का रहन्न । त्यो अवस्थामा त्यो विधेयकका विरुद्धमा पनि चल्ने सङ्घर्षलाई खालि वर्तमान सरकारका विरुद्ध सङ्घर्ष गरेर मात्र नपुग्ने र त्यसका लागि भारतीय विस्तारका विरुद्धको सङ्घर्षमा पनि जोड दिनु आवश्यक भएको कुरा पनि प्रष्ट भएको छ । 
हामीले बारम्बार यो कुरा स्पष्ट गर्दै आएका छौँ कि भारतीय विस्तारवादको योजना प्रथम चरणमा सम्पूर्ण तराईलाई पहाडबाट अलग गराउने र त्यसपछि तराईलाई स्वतन्त्र बनाएर भारतमा गाभ्ने नै हो । त्यसका लागि नै उनीहरूले केही मुठ्ठीभर मधेशवादीहरूलाई उचालेर पहाडबाट अलग गरेर तराईका बेग्लै प्रदेशहरू बनाउन आन्दोलन गर्न लगाइरहेका छन् । तराईका आम मधेशी र थारु जनता देशभक्त छन् र उनीहरू नेपाललाई टुक्राउने नीतिका विरुद्ध छन् भन्ने कुरा बारम्बार प्रष्ट हुँदै आएको छ । त्यसरी भारतीय विस्तारवादको आडमा मधेशवादीहरूले देशको विखण्डनको लागि जुन आन्दोलन चलाइरहेका छन् वा अहिले सरकारले जुन संशोधन विधेयक अगाडि ल्याएको छ त्यसको तराईका जनताको हितसित टाढाको पनि सम्बन्ध छैन ।
मधेशवादीहरूले पूरै तराईलाई पहाडबाट अलग गर्न संशोधन विधेयक नआउँदासम्म अहिले सरकारले प्रस्तुत गरेको विधेयकलाई समर्थन नगर्ने कुरा स्पष्ट गर्दै आएका छन् । त्यसले तराईसम्बन्धी भारतीय शासक वर्गको विस्तारवादी रणनीतिलाई नै बताउँछ । उनीहरूको त्यो दृष्टिकोण भारतीय विस्तारवादी नीति अनुरूप नै छ । तर भारतीय शासक वर्गले एकैपल्ट त्यो उद्देश्य पूरा नभए पनि आंशिक वा किस्ताबन्दीका रूपमा जेजति उपलब्धि हुन्छ त्यसलाई सुदृढ गर्दै बाँकी उद्देश्य पूरा गर्न आन्दोलन गर्दै वा दवाव दिंदै जाने नीतिमा जोड दिन्छन् । त्यसका लागि सहमत गराउन नै भारतीय दुतावासले मधेशी नेताहरूलाई आफ्नो कार्यालयमा बोलाएको थियो । अहिले सरकारले जति संशोधन गर्ने भनेको छ वा पहाडबाट अलग गरेर तराईको जति भूभागहरूलाई बेग्लै प्रदेश बनाउनका लागि विधेयक ल्याएको छ त्यसलाई पनि मधेशवादीहरूले समर्थन नगर्ने हो भने तत्काल प्राप्त हुन थालेको उपलब्धिबाट पनि उनीहरू बञ्चित हुनुपर्ने स्थिति आउन सक्दछ । त्यसैले भारतीय दुतावासले आफ्नो त्यो योजना अनुसार तत्काल आएको संविधान संशोधन विधेयकलाई पनि समर्थन गर्न निर्देशन दिने काम गरेको छ । भारतीय दुतावासले उनीहरूलाई दिएको त्यो निर्देशनबाट उनीहरू भारतीय विस्तारवादद्वारा सञ्चालित नेपालमा उनीहरूको (भारतीय विस्तारवादको) विस्तारवादी नीतिलाई कार्यान्वयन गर्न काम गर्ने तत्वहरू हुन् भन्ने कुरा प्रष्ट भएको छ । 
भारतले तत्काल त्यो विधेयकप्रति आफ्नो समर्थन जनाए पनि त्यस सन्दर्भमा त्यसले आफ्ना यी नीतिहरूलाई पनि लगातार जोड दिने गरेको छ ः प्रथम, देशका सबै पक्षहरूको राय अनुसार नै संविधानमा पूर्णता दिने प्रयत्न गर्नुपर्दछ । त्यसको अर्थ यो हुन्छ, मधेशवादीहरूले जुन प्रकारको संविधान समेतबारे जुन मागहरू प्रस्तुत गर्ने गरेका छन्, ती सबैलाई पनि कार्यान्वित गर्न प्रयत्न गर्दै जानु पर्दछ । त्यसबाट भारत अहिले सरकारले अगाडि ल्याएको संविधान संशोधन विधेयकबाट मात्र सन्तुष्ट छैन र त्यसले त्यसपछि पनि अन्य मधेशवादीहरूका मागहरू, जो प्रकारान्तरले भारतले अगाडि ल्याएका मागहरू नै हुन्, पूरा गराउन दवाव दिंदै जानेछ भन्ने कुरा पनि प्रष्ट भएको छ । द्वितीय, उसले अहिलेको संविधान संशोधन विधेयक पारित भयो भने पनि संविधानमा संशोधनको प्रक्रियालाई अगाडि बढाउँदै जानुपर्ने आवश्यकतामा जोड दिएको पाइन्छ । भारतले वर्तमान संविधान अपूर्ण भएको हुनाले त्यसलाई पूर्ण गराउनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नै अभियान चलाउँदै आएको छ । संविधान पूर्ण गराउन प्रक्रियालाई अरू अगाडि बढाउन जोड दिनुको अर्थ हुन्छ, भारतीय विस्तारवादी आवश्यकतानुसार त्यसलाई (संविधानलाई) अरू संशोधन गर्दै जानु । त्यसकारण अहिले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयक पारित भएपछि पनि न मधेशवादीहरूको आन्दोलन समाप्त हुनेछ, न भारतीय विस्तारवादी आवश्यकता नै पूरा हुनेछ ।
यो स्वागतयोग्य कुरा हो कि दलीय भेदभावबाटमाथि उठेर अहिले प्रस्तुत संविधान संशोधन विधेयकका विरुद्ध व्यापक ऐक्यवद्धता कायम भएको छ । विभिन्न राजनीतिक दल वा सङ्गठनसित सम्बन्धित युवक र विद्यार्थीहरूले पनि त्यो आन्दोलनलाई संयुक्त रूपले अगाडि बढाएर त्यो आन्दोलनमा सशक्त र उच्च आयाम थपेका छन् । उक्त राष्ट्रघाती संविधान संशोधन विधेयकका विरुद्ध देखापरेको यस प्रकारको ऐक्यवद्धतालाई हाम्रो पार्टीले अत्यन्त उच्च मूल्याङ्कन गर्दछ । नेपालको राजनीतिक इतिहासले बताउँछ, जुनजुन बेला देशमा गम्भीर प्रकारको सङ्कटको स्थिति पैदा हुन्छ, त्यस प्रकारको ऐक्यवद्धता देखापर्ने गरेको छ । त्यस प्रकारको पृष्ठभूमिमा यही मंसिर १७ गते बुटवलमा जनता जसरी व्यापक रूपमा आन्दोलनमा उत्रे त्यसमाथि विचार गर्दा कुनै विदेशी शक्तिको दवाव वा देशका केही मुट्ठीभर राजनीतिक शक्तिहरूको भारतपरस्त नीतिहरूका कारणले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता समाप्त हुनेछैन भन्ने कुरामा पूरा विश्वास गर्न सकिन्छ । नेपाली जनताको त्यस प्रकारको उच्च प्रकारको देशभक्ति र ऐक्यवद्धताका कारणले नै विगत ६ दशकभन्दा बढी समयदेखि भारतीय विस्तारवादले नेपाललाई भारतीय सङ्घमा गाभ्नका लागि गरिरहेका षडयन्त्रहरूका बाबजुद नेपाली जनता नेपालको स्वतन्त्रताको रक्षा गर्न सफल हुँदै आएका छन् र भविष्यमा पनि हुनेछन् ।
हामीले संविधान संशोधन विधेयकका विरुद्ध आज देशव्यापी रूपमा उठेको आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दै उक्त राष्ट्रघाती संविधान संशोधन विधेयकलाई पराजित गर्नका लागि संसदभित्र र बाहिर त्यो आन्दोलनलाई सशक्त र निर्णयात्मक निष्कर्षमा पुर्‍याउनका लागि सम्बन्धित सबै राजनीतिक शक्ति, सांसद र आम जनतासित समेत अपील गर्दछौँ । 
अ.ने.रा.स्व.वि.यु.(छैठौँ)ले सुस्ताबाट सुरु गरेर पूर्वी नेपालका सीमावर्ती भागहरूमा चलाइरहेको सीमा बचाउ अभियानलाई ने.क.पा. (मसाल)ले दृढतापूर्वक समर्थन गर्दै त्यससित ऐक्यवद्धता प्रकट गर्दछ । त्यो अभियानको दौरानमा तराईका जनतापनि नेपालको सीमा अतिक्रमणका विरुद्ध छन् र उनीहरू नेपालमाथि कुनै प्रकारको अतिक्रमण वा नेपालको विखण्डनका विरुद्ध दृढतापूर्वक उभिएका छन् भन्ने कुरा प्रष्ट भएको छ । त्यो अभियानलाई अत्यन्त कठिन र प्रतिकूल परिस्थितिमा पनि अगाडि बढाइरहेकोमा हामीले उनीहरूलाई धन्यवाद दिन चाहन्छौँ । त्यो अभियानबाट नेपालका सम्पूर्ण जनता र युवक, विद्यार्थीहरू समेत नेपालको सीमाको रक्षा गर्ने उच्च प्रकारको देशभक्तिको भावनाद्वारा उत्प्रेरित छन् भन्ने प्रष्ट भएको छ ।

मिति ः २०७३ मंसिर २० गते


मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.