नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
 
प्रधानमन्त्रीको चुनावको सन्दर्भमा देखापरेको अन्यौलको स्थिति र देशमा देखापरेका अन्य कैयौं राजनीतिक प्रश्नहरुबारे ने.क.पा. (मसाल) को दृष्टिकोण स्पष्ट गर्न यो वक्तव्य जारी गरिएको छ।
पाँचौपल्ट पनि प्रधानमन्त्री निर्वाचित हुन नसक्नु गम्भीर चिन्ताको कुरा हो। हाम्रो यो स्पष्ट मत छ कि सामान्यतः मधेशवादी दलहरु र मुख्यतः एमालेको गलत र असंवैधानिक अडानको कारणले नै यो स्थिति उत्पन्न भएको छ। संसदीय प्रणालीमा राजनीतिक दलहरुले सही भूमिका खेल्न सकेनन् भने सम्पूर्ण प्रणालीमा आघात पुग्न सक्दछ। त्यसैले सम्बन्धित दलहरुले आफ्नो त्यस प्रकारको गलत अडान बारे पुनर्विचार गर्नुपर्ने आवश्यकता छ।
एमालेको पोलिटव्यूरोद्वारा जारी गरिएको शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको आधारपत्र प्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ। त्यसमा शान्ति र नयाँ संविधानको निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकतामा जुन जोड दिइएको छ, त्यसप्रति हाम्रो पार्टीको समर्थन छ। तर त्यसमा सरकारको नेतृत्वको टुंगो राजनीतिक सहमतिको आधारमा लगाउने जुन अवधारणा अगाडि ल्याइएको छ, त्यसले स्वयं उनीहरुले प्रस्तुत गरेको अवधारणाको स्पिरिटसित मेल खान्न। उनीहरुको प्रस्तावमा प्रारम्भमा नै नयाँ लोकतान्त्रिक संविधानका सम्बन्धमा बाह्र बुँदे सझदारी, विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा व्यक्त गरिएको प्रतिवद्धतालाई समर्थन गरिएको छ। तर अन्तरिम संविधानमा सहमतिको आधारमा प्रधानमन्त्रीको चुनाव हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीका आधारमा प्रधानमन्त्रीलाई चुन्ने व्यवस्था गरिएको छ। त्यो अवस्थामा प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्री बारे निर्णय हुन नसकेकाले पुनः सरकारको नेतृत्वको राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने र बहुमतीय प्रणालीलाई पूरै निषेध गर्ने भन्ने मतले स्वयं उनीहरुले अन्तरिम संविधानप्रति प्रकट गरेको प्रतिवद्धतासित मेल नखाने कुरा प्रष्ट छ। त्यस प्रकारको सोंचाईका आधारमा प्रधानमन्त्रीको चुनावमा बाधा हाल्ने उनीहरुको कार्यपद्धतिले पनि उनीहरुको अवधारणापत्रको स्पिरिटसित मेल खान्न।
त्यो प्रस्तावमा उनीहरुले माओवादी र ने.का.का प्रधानमन्त्रीका उमेदवारहरुले उमेदवारी फिर्ता लिई राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने कुरामा जोड दिइएको छ। तर त्यसरी उमेदवारी फिर्ता लिएपछि पनि राष्ट्रिय सहमतिको आधारमा सरकारको निर्माण हुने कुराको कुनै ग्यारेन्टी छैन। त्यसैले वर्तमान गत्यावरोधबाट निकास निकाल्न सहमतिको आधारमा सरकारको निर्माण गर्न दुवै उमेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता गर्ने कुरामा सहमति भएपनि त्यसभन्दा पहिले राष्ट्रिय सहमतिका आधारमा सरकारको निर्माण बारे पूर्व सहमति बन्नु आवश्यक छ। नत्र दुवै उमेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि पहिलेको जस्तो सहमतिको असफलताको कथा दोहरिने छ र पुनः अन्यौलको अवस्था दोहरिने छ। यसबारे हाम्रो यो स्पष्ट मत छ, सरकारको निर्माणबारे सहमति कायम हुन नसकेर बहुमतीय प्रणालीका आधारमा सरकारको गठन भएपनि सत्ता वा प्रतिपक्षमा भएका दलहरुले शान्ति र संविधानबारे राष्ट्रिय सहमति कायम गर्ने नीति अपनाउनु पर्दछ।
अहिले अनमिनको अवधि समाप्त भएपछि पुनः त्यसको अवधि बढाउने वा नबढाउने बारे बेग्लाबेग्लै मतहरु देखापरिरहेका छन्। हाम्रँे पार्टीले प्रारम्भ देखि नै नेपालमा अनमिनलाई प्रवेश गराउने कुराको विरोध गर्दै आएको थियो र बारम्बार त्यसको अवधि बढाउने कुराको विरोध गर्दै आएको छ। वास्तवमा अनमिनले संसारको जुनसुकै देशमा गएपनि त्यहाँ पुनः अशान्तिको अवस्था पैदा गर्ने र आफ्नो अवधि लगातार बढाउने काम गर्दै आएको छ। त्यसकारण त्यसद्वारा देशमा शान्तिको उद्देश्य पूरा हुन नसक्ने कुरा प्रष्ट छ। त्यसैले हाम्रो पार्टीले अनमिनको अवधि थप्ने काम नगरेर देशभित्र पारस्परिक सहमतिका आधारमा शान्ति कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ। त्यही नै देशमा शान्तिको स्थापनाका लागि सर्वोत्तम कुरा हुनेछ।
देशमा प्रधानमन्त्रीको चुनावले पैदा गरेको अन्योलको स्थितिले संविधानको निर्माणको कार्यलाई समेत अनिश्चित बनाउँदै लगेको छ। त्यसबाट प्रतिगामी शक्तिहरु उत्साहित बन्दै गएका छन् र राजतन्त्रको पुनर्स्थापनाका लागि आफ्नो गठबन्धनको प्रक्रियालाई बढाउँदै लैजान थालेका छन्। संविधानसभा र गणतन्त्र पक्षधर शक्तिका गलत प्रकारका नीति वा गतिविधिहरुबाट उनीहरुलाई बल पुगिरहेको छ। उनीहरुले आफ्ना नीति र गतिविधिमा सुधार गरेर देशमा शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई सफल पार्न नसकेमा प्रतिगमनको खतरा सहित कैयौं गम्भीर दुष्परिणामहरु हुन सक्नेछन्। त्यसैले ने.क.पा. (मसाल)ले संविधानसभा र गणतन्त्र पक्षधर शक्तिहरुको संविधानसभा र गणतन्त्र पक्षधर शक्तिहरुसित आफ्ना गलत नीति र कार्यप्रणालीहरुका सुधार गरेर शान्ति प्रक्रिया र संविधानको निर्माण प्रति गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ।
माओवादी अध्यक्ष प्रचन्डले संसदीय व्यवस्था नै असफल भएको विचार प्रकट गरेका छन्। यो कुरा लुकेको छैन कि उनी बहुमतीय प्रतिस्पर्धाद्वारा बारम्बार प्रधानमन्त्रीमा निर्वाचन हुन नसकेका कारणले नै त्यस प्रकारको अभिव्यक्ति दिएका हुन्। तर आफू प्रधानमन्त्रीमा निर्वाचित हुन नपाएकाले नै संसदीय प्रणालीलाई असफल घोषित गर्नु वास्तवमा कुनै पनि सिद्धान्त वा व्यवस्थालाई व्यक्तिगत लाभ हानीका आधारमा मूल्यांकन गर्ने चरम प्रकारको व्यक्तिवादी र पदलोलुप सोंचाई नै हो। त्यस सन्दर्भमा त्यो भन्दा गम्भीर प्रश्न यो हो :  संसदीय व्यवस्था असफल भएमा त्यसको विकल्प के हो वा के हुनुपर्दछ? वर्तमान अन्तर्राष्ट्रिय वा राष्ट्रिय परिस्थितिमा तत्काल नयाँ जनवादी व्यवस्था सम्भव छैन। त्यो अवस्थामा संसदीय प्रणालीलाई असफल घोषित गर्नुको अर्थ कहीं प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रतिगमनका लागि मार्ग प्रसस्त गर्न आधार तयार पार्नु त होइन? उनीहरुको त्यस्तो नीयत नभएपनि वर्तमान अवस्थामा संसदीय व्यवस्थालाई असफल घोषित गर्नु वा त्यसमाथि आक्रमण गर्ने नीतिबाट प्रतिगमनलाई नै मद्दत पुग्ने छ। उनीहरुको, मुख्यतः उनीहरुको नेतृत्व पंक्तिको राजावादीहरुसितको साँठगाँठको इतिहास र अहिले पनि उनीहरुको राजावादीहरु प्रतिको सम्झौतापरस्त दृष्टिकोणको पृष्ठभूमिमा त्यस प्रकारको प्रश्न उठाउनका लागि ठाउँ छ। जेहोस्, माओवादी नेतृत्वको संसदीय प्रणालीलाई असफल घोषित गर्ने नीतिलाई सामान्य अर्थमा नलिएर त्यसलाई गम्भीर रुपमा लिनुपर्ने आवश्यकता छ। त्यसबारे गणतन्त्र र बहुदलीय व्यवस्था पक्षधर सबै  राजनीतिक शक्तिहरु र स्वयं माओवादी भित्रका पनि गणतन्त्र पक्षधर, इमान्दार नेता र कार्यकर्ताहरुको ध्यान जानुपर्ने आवश्यकता छ। त्यसरी नै संसदीय प्रणालीलाई असफल घोषित गर्ने तथा त्यस प्रकारको नीतिबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रतिगमनलाई मद्दत पुर्‍याउने नीतिको सामना गरेर गणतन्त्रलाई सुदृढ र संस्थागत गर्नु सम्भव हुनेछ र गर्नुपनि पर्दछ।
२०६७ भाद्र ८ गते
 
(मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.