नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल) को राष्ट्रिय भेला हालै सम्पन्न भयो। का. निर्मलको अध्यक्षता, का. विश्वासको सञ्चालन, का. अविरामको स्वागत भाषणपछि त्यो भेलाको पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहद्वारा उद्घाटन गरिएको थियो। उद्घाटनपछि का. प्रवाहद्वारा सञ्चालन गरिएको बन्दशेसनको अध्यक्षता का. शदर सिंह, का. आजाद र का. हरिजनले गर्नुभएको थियो।
भेलामा महामन्त्रीद्वारा तात्कालिक संगठनात्मक प्रस्ताव र तात्कालिक राजनीतिक प्रस्ताव तथा का. उमेशद्वारा वैधानिक साप्ताहिक सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो। भेलामा कतिपय संगठनात्मक प्रश्नहरु बारे पनि विचार गरिएको थियो।

भेलामा सर्वप्रथम संगठनात्मक प्रस्ताव माथि छलफल गरियो। त्यसमा १३ वटा ग्रुपहरु बनाएर ग्रुप छलफल भएको थियो। ग्रुप छलफलबाट आएका धेरैजसो सुझावहरुलाई केन्द्रीय समितिले स्वीकार गरेपछि त्यो प्रस्ताव भेलाद्वारा सर्वसम्मतरुपले स्वीकृत भएको थियो। त्यो संगठनात्मक प्रस्तावमा संगठनात्मक विस्तार योजना, पार्टी सुदृढीकरण कार्यक्रम, पार्टी स्कूल, अनुशासन, आर्थिक समस्या, पेशेवर कार्यकर्ताहरुको संरक्षण, पार्टटाइमर कार्यकर्ताको विकास, पार्टीमा पदोन्नतिको प्रणाली, सैद्धान्तिक कार्य र पार्टी प्रकाशन, पार्टी समर्थक वा जनवर्गीय संगठनहरुका कार्यकर्ताहरुमा जुझारुपनको विकास र आत्म सुरक्षाका लागि आवश्यक तयारी, वैधानिक मोर्चा र जनवर्गीय मोर्चाहरुको संगठन आदि बारे कैयौं निर्णयहरु गरिएका छन्। त्यो प्रस्तावमा पार्टीमा विद्यमान उदारतावाद र निम्नपुँजीवादी दृष्टिकोणले पार्टीको संगठन, अनुशासन वा आन्दोलनमा गम्भीर प्रकारले क्षति पुर्‍याएको विश्लेषण गर्दै त्यस प्रकारका कमजोरीहरुलाई सैद्धान्तिक र संगठनात्मक दुवै प्रकारले हल गर्न प्रयत्न गर्ने निर्णय पनि गरिएको छ।

राजनीतिक प्रस्ताव बारे पनि १३ वटा गु्रपहरुमा विस्तृत रुपले छलफलपछि गु्रप छलफलबाट आएका कैयौं सुझावहरुलाई स्वीकार गरेपछि प्रस्तावको मूल ट्रेन्ड सर्वसम्मत रुपले पारित भएको थियो। त्यसरी सहमति हुन नसकेका कतिपय संशोधन प्रस्तावमा जनवादी तरिकाले बहुमतका आधारमा निर्णय गरिएको थियो। त्यो प्रस्तावमा देशका तात्कालिक समस्याहरु सम्बन्धी पार्टीको दृष्टिकोण र नीतिबारे कैयौं महत्वपूर्ण निर्णयहरु गरेको छ। अहिले देशमा राजनीतिले कुन दिशा र मोड लिने छ? त्यो कुरा अनिश्चित भएको ठहर गर्दै त्यस प्रकारको अनिश्चयताको सीमाभित्र पनि देशका विभिन्न राजनीतिक प्रश्नहरुबारे पार्टीको नीति स्पष्ट गरिएको छ।

हाम्रो पार्टीले अझै पनि २०६७ जेष्ठ १४ भित्र संविधान बन्नुपर्ने आवश्यकतामा जोड दिन्छ। तर त्यसबारे  गम्भीर प्रकारको आशंका उत्पन्न भएको छ। जेष्ठ १४ गतेसम्म संविधान नबनेमा देशका प्रमुख राजनीतिक दलहरुको गैरजिम्मेवार नीतिका कारणले नै त्यस्तो हुनेछ र त्यसका लागि मुख्य रुपले माओवादी नै जिम्मेवार भएको भेलाले ठहर गरेको छ। 

माओवादीहरुको नेतृत्वमा सरकार नबनेमा संविधान बन्न नदिने नीतिले संविधानको निर्माणमा बाधा पुर्‍याएको छ। एकातिर, जेष्ठ १४ गते संविधान बन्न नदिने, त्यो बेलासम्म संविधान नबने सडकबाट संविधान बनाउने, जनविद्रोह गर्ने वा उनीहरुको नेतृत्वमा सरकार नबने संविधान बनाउन म्याद थप्न पनि नदिने जस्ता नीति अपनाएर उनीहरुले देशमा गम्भीर प्रकारको गत्यावरोध र राजनीतिक संकटको स्थितिको सृजना गर्दैछन्। त्यस प्रकारको नीतिबाट देशमा गम्भीर प्रकारको राजनीतिक अस्थिरता र अराजकताको स्थितिको सृजना हुने कुरा प्रष्ट छ। उनीहरुको त्यस प्रकारको नीतिबाट प्रतिगमन वा विभिन्न देशी र विदेशी शक्तिहरुलाई नै फाइदा पुग्नेछ। जुनसुकै कारण वा परिस्थितिमा भएपनि जेष्ठ १४ गतेसम्म संविधान नबनेमा वा संविधान बनाउने अवधिलाई बढाउने कुनै निर्णय गरिएमा त्यसका विरुद्ध हाम्रो पार्टीले देशव्यापी रुपमा आन्दोलन गर्ने निर्णय पनि भेलाले गरेको छ। देशमा घटनाक्रमको कुनरुपमा विकास हुनेछ? त्यसबारे अहिले नै भविष्यवाणी गर्नु सम्भव छैन। देशको राजनीतिक स्थितिमा हुने परिवर्तन वा घटनाक्रम अनुसार पार्टीले आगामी नीति र कार्यक्रम निश्चित गर्दै जानेछ।  

शान्ति प्रक्रिया, संविधानको निर्माण, दन्डहीनताको अवस्थाको अन्त र शान्ति सुरक्षाको स्थापना गर्नका लागि सरकार असफल भएको छ। तर त्यसका लागि स्वयं सरकार होइन, माओवादीहरु नै बढी जिम्मेवार छन्। माओवादीहरु सरकारमा नभएपनि संविधानसभा भित्र र बाहिरको उनीहरुको स्थिति र उनीहरुसित भएको सैन्य शक्ति समेतका कारणले उनीहरुको सहयोग बिना शान्ति प्रक्रिया, संविधानको निर्माण वा दन्डहीनताको अन्त नहुने भएकाले सरकारको असफलताका पछाडि मूल रुपमा माओवादीहरुको गलत नीति वा कार्यप्रणालीले नै काम गरेको कुरा प्रष्ट छ। तर उक्त प्रश्नहरु बाहेक कतिपय प्रश्नहरुमा सरकारले कैयौं गलत नीतिहरु अपनाएको छ र त्यसका लागि सरकार नै जिम्मेवार भएको कुरा प्रष्ट छ। राष्ट्रिय सम्पत्तिलाई दलीय आधारमा दुरुपयोग, भ्रष्टाचार, बर्दिया कान्डमा सेनालाई बचाउने नीति, पञ्चेश्वर परियोजना, पासपोर्ट सम्बन्धी नीति आदि सरकारका गलत नीतिहरुका नै परिणाम हुन्। हाम्रो पार्टीले सरकारका त्यस प्रकारका नीति र कार्यहरुको लगातार विरोध गर्दै आएको छ। वर्तमान सरकारमा भएका एमाले वा ने.का.का गलत नीति र कार्यप्रणालीले पनि देशमा काफी नोक्सान पुगेको छ। उनीहरुले माओवादीहरुप्रति अपनाउँदै आएका सम्झौतापरस्त र दब्बू नीति, उनीहरुको ढुलमूल, अवसरवादी र सम्झौतापरस्त नीतिहरुको लामो पृष्ठभूमि र चरित्र, सरकारमा गएपछि पनि उनीहरुले अपनाएका गलत नीतिहरुबाट पनि देशलाई सही दिशामा अगाडि बढ्नका लागि बाधा पुर्‍याउँदै आएको छ र हाम्रो पार्टीले उनीहरुका त्यस प्रकारका नीतिहरुको बारम्बार आलोचना गर्दै आएको छ। तर उक्त सबै कुराहरुका बाबजुद जुन कारणले हाम्रो पार्टीले एमालेको नेतृत्वमा बनेको सरकारलाई समर्थन गरेको थियो, ती कारणहरु अझै विद्यमान छन्। अहिलेको सरकारको अन्तपछि त्योभन्दा उपयुक्त सरकारको विकल्प अगाडि छैन। अहिले सरकारको विघटन भएमा माओवादीहरुको नेतृत्वमा सरकार बन्ने र  जेष्ठ १४ भन्दा पहिले उनीहरुको नेतृत्वमा सरकार बनेमा उनीहरुले तुरुन्तै संविधानको निर्माणका लागि म्याद थप्ने, त्यसपछि लगातार त्यो अवधि बढाउँदै जाने र देशमा अधिनायकवादी प्रकारको प्रणाली कायम हुने नै बढी सम्भावना छ। उनीहरुको अहिलेसम्मको कार्यविधि र उनीहरुले अपनाएका नीतिहरुमाथि ध्यान दिंदा उनीहरुको नेतृत्वमा सरकार बनेमा त्यसबाट संविधानको निर्माणमा बाधा पुग्ने वा बनेपनि अधिनायकवादी प्रकारको संविधान बन्ने, देशमा संघीय शासनप्रणाली मात्र होइन, त्यस अन्तर्गत जातीय राज्य, आत्मनिर्णयको अधिकार वा बहुराष्ट्रिय राज्य जस्ता अवधारणाहरुलाई बल पुग्ने नै बढी सम्भावना छ। त्यसैले माओवादीहरुको वर्तमान नीति र कार्यप्रणालीमा सुधार नहुँदासम्म उनीहरुको नेतृत्वमा सरकारको गठन देश र जनताका हितमा नहुने कुरा प्रष्ट छ। त्यसैले वर्तमान सरकारको उपयुक्त विकल्प अगाडि नआउँदासम्म वर्तमान सरकारको विघटन भएमा त्यसबाट देशको राजनीतिमा सकारात्मक परिणाम नहुने नै बढी सम्भावना देखिन्छ। त्यसैले राष्ट्रिय भेलाले अहिलेको अवस्थामा वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ। 

माओवादीहरुको नीति र भूमिकाबाट देशलाई गम्भीर प्रकारको क्षति पुगिरहेको छ। उनीहरुको आफ्नो नेतृत्वमा सरकार नबनेमा संविधान बन्न नदिने, त्यसरी संविधानको निर्माण र गणतन्त्रको सुदृढीकरणमा पुर्‍याइरहेको बाधा, योजनावद्ध प्रकारले देशमा संवैधानिक संकटको स्थिति पैदा गर्न गरिरहेको प्रयत्न, संघीयता र त्यस अन्तर्गत जातीय राज्य, पृथक बन्ने अधिकार सहितको आत्मनिर्णयको अधिकार, बहुराष्ट्रिय राज्य आदिमा दिइरहेको जोड, राज्यको पुनर्संरचनाका सन्दर्भमा स्वतन्त्र न्यायपालिका र प्रतिपक्षको व्यवस्था समेतको विरोध गरेर राज्यलाई अधिनायकवादी स्वरुप दिने प्रयत्न, संघीयताको विरोध गर्ने शक्तिहरु माथि हिंसात्मक आक्रमणको नीति, सामाजिक फासिवादी प्रकारको कार्यशैली, स्थानीय निकायहरुको चुनावको विरोध, राजावादीहरुसितको मेलमिलापको नीति, हाम्रो पार्टीका समर्थक वा नजिकका मोर्चा र जनवर्गीय संगठनहरुका कार्यकर्ताहरु माथिको हिंसात्मक आक्रमणको नीति आदि कारणले माओवादीका विरुद्धको भन्डाफोर र संघर्षमा नै बढी जोड दिनु आजको राजनीतिक आवश्यकता भएको छ। देशमा जातिवादी नीति र गतिविधिहरुले पनि गम्भीर रुप धारणा गरेका छन् र तिनीहरुले पृथकतावादी रुप ग्रहण गर्दै गइरहेका छन्। तिनीहरुलाई प्रोत्साहित वा पथप्रदर्शन गर्ने काम पनि माओवादीहरुले गरिरहेका छन्। त्यो हाम्रो मित्रशक्ति भएपनि देशको राजनीतिमा त्यसले जुन प्रकारको घातक नीति अपनाएको छ र हाम्रो पार्टीमाथि शत्रुतापूर्ण व्यवहार गरिरहेको छ, त्यो अवस्थामा त्यसका विरुद्धको त्यस प्रकारको भन्डाफोर र संघर्षमा जोड दिनु हाम्रो वाध्यता भएको छ। तैपनि जुन हदसम्म त्यसको नीति र व्यवहारमा सुधार हुँदै गएमा, त्यसप्रति कार्यगत एकताको नीति अपनाउने हाम्रो प्रयत्न हुनेछ र हुनुपर्दछ।

माओवादीहरुका विरुद्ध भन्डाफोर र संघर्षमा जोड दिने बेलामा भेलामा पारित प्रस्तावमा यो कुरा पनि प्रष्ट गरिएको छ कि तात्कालिक रुपमा माओवादीहरुबाट नै देशलाई सबैभन्दा बढी क्षति पुगिरहेको भएपनि त्योभन्दा महत्वपूर्ण पक्ष यो हो कि मधेशवादी र राजावादी शक्तिहरुका कारणले देशलाई बढी क्षति पुग्ने सम्भावना छ। मधेशवादीहरुका कारणले देशको अखन्डतामा गभीर आँच पुग्ने सम्भावना छ र राजावादीहरुका कारणले गणतन्त्र समाप्त हुने खतरा छ। त्यसैले त्यस प्रकारको पृष्ठभूमिमा, एकातिर, माओवादीहरुका विरुद्धको भन्डाफोर र संघर्षको नीतिलाई कायम राख्दै, अर्कातिर, उपरोक्त दुवै पक्षहरु, मधेशवादी र राजावादी शक्तिहरु, का विरुद्ध माओवादी समेत सबै देशभक्त र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुको व्यापक एकता आवश्यक छ र त्यसरी देशको राष्ट्रियता, गणतन्त्रको रक्षा गर्नु सम्भव हुनेछ।

भेलामा पारित राजनीतिक प्रस्तावमा तुरुन्त स्थानीय निकायहरुको चुनाव, हिन्दू राज्यको अवधारणा र त्यसलाई हतियार बनाएर राजतन्त्रको पुनर्स्थापनाको प्रयत्नको विरोध, माओवादी लडाकूहरुलाई सीमित संख्यामा पनि नेपाली सेनामा सामेल गर्ने नीतिको विरोध, उनीहरुको व्यवस्थापन वा पुनर्स्थापनामा जोड, अनमिनको भूमिकाको विरोध गर्दै त्यसलाई छिटै देशबाट बाहिर पठाउनुपर्ने माग, नेपालको अस्थिर र तरल राजनीतिक स्थितिलाई आफ्ना स्वार्थहरुको पक्षमा उपयोग गर्न भारतीय विस्तारवाद, यूरोपेली युनियन र अमेरिकी साम्राज्यवादले गरिरहेका प्रयत्नहरुको विरोध आदि कुराहरुको उल्लेख गरिएको छ।

राजनीतिक प्रस्तावमा संविधान सभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरु मुख्यतः माओवादी, एमाले र ने.का.का बीचको सहमति र सहकार्यद्वारा नै देशको तात्कालिक समस्याहरुको समाधान सम्भव छ भन्ने विश्वास प्रकट गरिएको छ। त्यस्तो सहमति र सहकार्य बन्न नसकेर देशमा संविधानको निर्माणमा बाधा पुग्ने समेत देशमा जुनसुकै प्रकारको अवांन्छित स्थिति पैदा भएपनि त्यसको दृढतापूर्वक सामना गर्न तयार हुनुपर्ने आवश्यकतामा राजनीतिक प्रस्तावमा जोड दिएको छ। अन्तमा त्यो प्रस्तावमा यो विश्वास प्रकट गरिएको छ कि देशका विभिन्न राजनीतिक शक्तिहरुको गलत प्रकारको भूमिका वा विदेशी शक्तिहरुका षडयन्त्रकारी कारवाहीहरुका कारणले देशमा जुनसुकै प्रकारको कठिन, प्रतिकूल वा अराजकताको अवस्था उत्पन्न भएपनि अन्तमा जनताको नै विजय हुने छ र देश अग्रगमनको दिशामा अगाडि बढ्ने छ।
 
मिति :  २०६७ बैशाख १२ गते 
 
(मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.