नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatदस्ताबेज

तात्कालिक राजनीतिक प्रस्ताव
(नेकपा (मसाल) को २०७० साल मंसिर २० देखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको वैठकद्वारा पारित)

१. संविधान सभाको चुनाव सम्पन्न भएको छ । हाम्रो पार्टीले प्रधान न्यायाधीशको नेतृत्वमा बनेको निर्दलीय सरकारको विरोध गरेको थियो । तर त्यो विरोधका बावजुद सरकारले सम्पन्न गर्ने संविधान सभाको चुनावलाई समर्थन गर्ने तथा सहयोग गर्ने निर्णय गरेको थियो । अन्तमा संविधान सभाको चुनाव सम्पन्न भएकोमा हाम्रो पार्टीले प्रसन्नता प्रकट गर्दछ ।
२. संविधान सभाको चुनावका लागि नेपाली जनताले ६ दशकभन्दा बढी समयदेखि आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएका छन् । त्यसैगरी लगातार संविधान सभाको पक्षमा सङ्घर्ष गर्दै आएको पार्टी नेकपा (मसाल) मात्र हो । देशका विभिन्न राजनैतिक शक्तिहरू, जस्तो कि एमाओवादी, एमाले, ने.का. आदिले इतिहासका वेग्ला वेग्लै कालखण्डहरूमा संविधान सभाको चुनावलाई छाड्ने वा त्यसको विरोध गर्दै आएका छन् । त्यसका विपरीत हामीले पार्टीभित्र र वाहिर पनि लगातार संविधान सभाका पक्षमा आवाज उठाउँदै वा सङ्घर्ष गर्दै आएका छौँ । त्यही प्रकारको इतिहास र परम्परालाई अगाडि बढाउँदै २०४६ सालको जनआन्दोलनपछि हाम्रो पार्टीले संविधान सभाको नारालाई पुनः अगाडि बढायो र संविधान सभाको चुनावको माग गर्दै हाम्रो पार्टीले २०४८ सालको संसदीय चुनावको वहिष्कार गरेको थियो । २०६९ सालमा संविधानको निर्माण नगरिकन संविधान सभाको विघटन भएपछि कतिपय राजनैतिक पक्षहरूले विघटित संविधान सभाको पुनस्र्थापना, गोलमेच सम्मेलन वा विशेषज्ञहरूको टोलीद्वारा संविधानको निर्माण गर्ने कुरामा जोड दिएका थिए । तर हाम्रो पार्टीले संविधान सभाको चुनाव गरेर नै संविधानको निर्माणमा जोड दिएको थियो । नेकपामाओवादीले चुनावको वहिष्कार गर्ने वा त्यसलाई असफल पार्न आन्दोलनको घोषणा गरेको भए पनि हामीले निर्दलीय सरकारप्रतिको आफ्नो विरोधलाई कायम राख्दै संविधान सभाप्रति सकारात्मक दृष्टिकोण अपनाउने तथा त्यसलाई सफल पार्न उनीहरूसित अपिल गरेका थियौँ । त्यसरी हाम्रो पार्टीको संविधान सभाको पक्षमा लगातार, दृढ र सम्झौताहीन सङ्घर्षको करिब ६ दशक लामो गौरवपूर्ण इतिहास रहेको छ ।
३. संविधान सभाको चुनाव स्वयं साध्य होइन, साध्य संविधानको निर्माण हो । संविधान सभा त्यसका लागि एउटा साधन हो । नेपालको राजनैतिक इतिहासमा संविधान सभाको चुनावका विरुद्ध पहिलेदेखि नै तात्कालिक राजाहरू, विभिन्न प्रमुख राजनैतिक शक्तिहरू वा अन्य विभिन्न पक्षहरूद्वारा लगातार विभिन्न प्रकारको विरोध गर्ने र षडयन्त्रहरू गर्ने काम हुँदै आएको छ । संविधान सभाका विरुद्ध त्यस प्रकारका विरोध वा षडयन्त्रहरूका वावजुद २०६४ सालमा संविधान सभाको चुनाव भयो । तर संविधानको निर्माण गर्न त्यो संविधान सभा असफल भयो र संविधानको निर्माण नभैकन संविधान सभाको विघटन भयो । त्यसपछि पनि हाम्रो पार्टीले लगातार संविधान सभाको चुनावका लागि माग गयो । तर त्यो चुनाव सम्पन्न हुने कुरामा कैयौँ बाधा र विरोधहरू देखा परिरहेका थिए । तैपनि अन्तमा संविधान सभाको चुनाव सम्पन्न भयो । तर संविधान सभाको चुनाव भए पनि संविधानको निर्माणको कार्यका अगाडि अझै पनि कम वाधा, विरोध र समस्या छैनन् । जुन प्रकारका कारण वा समस्याहरूले गर्दा प्रथम संविधान सभाले संविधानको निर्माण गर्न असफल भयो, ती कारण वा समस्याहरू अहिले पनि विद्यमान छन् ।  सङ्घीयताका पक्षपातीहरूका बीचमा सङ्घीयताको स्वरूपबारे मतभेद तथा जातीय आधारमा संविधान नबनेसम्म संविधान बन्न नदिने एमाओवादीको नीतिका कारणले संविधानको निर्माण नगरिकन संविधान सभाको विघटन भएको थियो । संविधानको निर्माणसित जोडिएको सबैभन्दा विवादको प्रश्न कुन प्रकारको संविधानको निर्माण गर्ने भन्ने नै हो । त्यो कारणले प्रथम संविधान सभाको निर्माणमा बाधा पुग्यो । अहिले पनि त्यो विवादका कारणले संविधान सभाको निर्माणमा बाधा पुग्ने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न ।
४. अहिलेको मुख्य आवश्यकता लोकतान्त्रिक प्रकारको संविधानको निर्माण हो । लोकतान्त्रिक संविधान भन्नुको अर्थ पुँजीवादी प्रजातान्त्रिक प्रकारको संविधान नै हो । तर त्यस प्रकारको संविधानको निर्माणका लागि कैयौँ बाधाहरू छन्, जसमध्ये वामपन्थी सङ्कीर्णवादी, जातिवादी र क्षेत्रीयतावादी र प्रतिगामी वाधाहरू मुख्य छन् । वामपन्थी सङ्कीर्णवादी सोचाइले लोकतान्त्रिक संविधानले जनताका आधारभूत समस्याहरूको समाधान गर्न नसक्ने भएकाले जनताको संविधान (एभयउभिुक ऋयलकतष्तगतष्यल) को निर्माणमा जोड दिन्छ । सैद्धान्तिक र रणनीतिक दृष्टिले त्यो सोचाइ सही हो । तर २०६२६३ को आन्दोलन, वर्तमान राजनैतिक सन्तुलन र अहिलेको संविधान सभाका सीमाभित्र त्यस प्रकारको संविधानको निर्माण सम्भव छैन । त्यसका लागि विद्यमान अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थामा आमूल परिवर्तन र जनवादी गणतन्त्रको स्थापना आवश्यक छ, जो जनवादी क्रान्तिपछि नै सम्भव छ । तैपनि अहिलेको सीमाभित्र पनि अधिकतम प्रगतिशील, न्यायपूर्ण, जनपक्षीय वा अग्रगामी संविधानको निर्माणका लागि प्रयत्न गर्नु पर्दछ । तर देशका मजदुर, किसान, महिला, जनजाति, दलित जातिका आधारभूत समस्याहरूको समाधान गर्ने जनताको संविधान बन्ने स्थिति नहुँदासम्म संविधान सभाको चुनाव, लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्र वा संविधान सभाको चुनावको विरोध गर्ने सोचाइ वामपन्थी सङ्कीर्णतावादी सोचाइ हो । मुख्यतः नेकपामाओवादीले त्यही प्रकारको विचार राख्दछ । त्यस प्रकारको सोचाइ अनुसार नै उनीहरूले संविधान सभाको चुनाव वहिष्कार गर्ने वा त्यसलाई असफल पार्न आन्दोलनको घोषणा गरे । तर संविधान सभाको चुनावमा जनताको अभूतपूर्व सहभागिताबाट उनीहरूको संविधान सभाको चुनावको वहिष्कारको नीतिलाई जनताले देशव्यापी रूपमा अस्वीकार गरेको स्पष्ट छ । उनीहरूले पुनः गोलमेच सम्मेलनलाई अहिलेको स्थितिमा निकास वा समाधानका लागि एक मात्र उपाय बताएका छन् । उनीहरूले गोलमेच सम्मेलनद्वारा सहमतिको सरकारको गठन भएमा उनीहरू पनि त्यसमा सहभागी हुने कुरा गर्न थालेका छन् । त्यसरी जनताद्वारा निर्वाचित संविधान सभालाई उपेक्षा गरेर गोलमेच सम्मेलनद्वारा सरकारको गठन गर्ने वा संविधानको निर्माण गर्ने जस्तो सोचाइ न सही छ, न व्यावहारिक नै छ । उनीहरूको वामपन्थी सङ्कीर्णतावादी सोचाइहरू आउने दिनहरूमा अरू पनि कैयौँ रूपमा देखा पर्न सक्दछ र तिनीहरूले पनि एक वा अर्को प्रकारले संविधानको निर्माणमा बाधा पुयाउने सम्भावना रहनेछ ।
५. संविधान सभाको चुनावमा जनताले जातिवाद र क्षेत्रीयतावादलाई व्यापक रूपले अस्वीकार गरेका छन् । साम्राज्यवादी शक्तिहरूले जातिवादीहरूलाई जिताउन पूरा शक्ति लगाएका थिए । चुनावमा उनीहरूको पनि हार भएको छ । त्यो अहिलेको चुनावको अत्यन्त महत्वपूर्ण पक्ष हो । त्यो हाम्रो पार्टीको पनि महत्वपूर्ण नीतिगत विजय हो । हाम्रो पार्टीले सङ्घीयताका विरुद्ध अग्रिम पङ्क्तिमा रहेर सङ्घर्ष गर्दै आएको छ । त्यसका साथै हाम्रो पार्टीले नीतिगत रूपमा सङ्घीयतालाई समर्थन गर्ने राजनैतिक शक्तिहरूमध्ये पनि जसले जातीय राज्य, एक मधेश एक प्रदेश, वहुराष्ट्रवाद र जातीय अग्राधिकार समेतको विरोध गर्दछन् । उनीहरूसित प्रत्यक्ष वा अप्रत्यक्ष रूपले तालमेल गर्ने नीति अपनाउने कुरा स्पष्ट गरेको थियो । अर्काे शब्दमा जातिवाद र क्षेत्रीयतावादका विरुद्धको सङ्घर्षमा हाम्रो पार्टीले विशेष जोड दिएको थियो । एमाओवादी, जातिवादी र क्षेत्रीयतावादी समेतले जातिवाद वा क्षेत्रीयतावादका आधारमा सङ्घीयतालाई कायम गर्न जोड दिइरहेको पृष्ठभूमिमा जातिवाद र क्षेत्रीयतावादका विरुद्धको जनादेशले जनताको सङ्घीयताका विरुद्धको असन्तोषलाई नै बताउँछ । त्यसरी जातिवाद र क्षेत्रीयतावादका विरुद्धको त्यो जनादेश प्रकारान्तरले पूरै सङ्घीयताका विरुद्धको पनि जनादेश हो । त्यो अवस्थामा अहिले जनताले जातिवाद र क्षेत्रीयतावादका विरुद्ध दिएको जनादेशलाई सुदृढ गर्ने प्रयत्न गर्दै समग्र रूपमा सङ्घीयताका विरुद्धको जनताको चेतनालाई अझ उच्च र व्यापक रूपमा माथि उठाउन सङ्गठित रूपले प्रयत्न गर्नु पर्नेछ । देशमा सङ्घीयतालाई लागु गरियो भने त्यसका नकारात्मक रूपहरू क्रमशः अगाडि आउने छन् र त्यसको परिणामस्वरूप सङ्घीयताका विरुद्धको जनचेतना वा आन्दोलन माथि उठ्दै जानेछ र सङ्घीयतालाई जनताले खारेज गर्नेछन् ।
६. जनताले जातिवाद र क्षेत्रीयतावादका विरुद्ध स्पष्ट जनादेश दिएको भए पनि जातिवादी वा क्षेत्रीयतावादीहरूले लोकतान्त्रिक संविधानको निर्माणमा बाधा हाल्ने र विभिन्न तरिकाले जातिवादी र क्षेत्रीयतावादी प्रकारको संविधान बनाउन दवाव दिन वा अवरोध हाल्ने सम्भावना देखा परिरहेको छ । एमाओवादीले जातिवादी र मधेशवादीहरूसित गठबन्धन गरेर त्यसका लागि योजनावद्ध प्रकारले प्रयत्न गर्न थालेको छ । अब उसले जातिवादी र क्षेत्रीयतावादीहरूसित गठबन्धन गरेर घोषित रूपले नै जातीय राज्यका लागि सङ्घर्ष गर्ने निर्णय गरेको छ । त्यसका लागि उसले मुख्य रूपले सहमति को सूत्र अगाडि सारेको छ । त्यसका पछाडिको उसको मुख्य उद्देश्य उनीहरू अल्पमतमा परेको भए पनि सहमतिका नाममा जनादेशका विरुद्ध जातिवादी वा क्षेत्रीयतावादी प्रकारको संविधानको निर्माण गर्ने हो । एमाले र ने.का. दुवैको सङ्घीयतावादी दृष्टिकोण, उनीहरूले वारम्वार एमाओवादी, जातिवादी वा मधेशवादीहरूप्रति अपनाउँदै आएको सम्झौतापरस्त दृष्टिकोण, उनीहरू (एमाले र ने.का.) ले एमाओवादीप्रति प्रदर्शन गर्दै आएको दब्बु नीति समेतको पृष्ठभूमिमा जनताले दिएको जनादेशको पक्षमा उनीहरूले स्पष्ट र दृढ अडान लिनेछन् भन्ने कुरामा पूरा विश्वास गर्न सकिन्न । त्यसकारण देशलाई एक वा अर्को प्रकारले जातिवाद र क्षेत्रीयतावादतिर जान नदिनका लागि जातिवाद र क्षेत्रीयतावादका विरुद्ध भएका सबै राजनैतिक शक्ति वा सङ्घसंस्थाहरूसित ऐक्यवद्धता कायम गरेर संविधान सभाभित्र वा बाहिर जातिवाद र क्षेत्रीयतावादका विरुद्ध सशक्त रूपले आन्दोलन सङ्गठित गर्ने हाम्रो प्रयत्न हुनु पर्दछ र त्यसरी लोकतान्त्रिक संविधानको निर्माणको कार्यलाई सफल पार्नु पर्दछ ।
७. राजावादीहरूका पक्षमा देशव्यापी आधार छैन । त्यसकारण लोकतान्त्रिक संविधानको निर्माणमा उनीहरूबाट  कुनै गम्भीर बाधा पुग्ने सम्भावना छैन । तैपनि समानुपातिक चुनावमा उनीहरूलाई जे जति सफलता प्राप्त भएको छ, त्यो गणतन्त्रवादीहरूका लागि चिन्ताको विषय हो । त्यसले देशमा प्रतिगामी र पुनरुत्थानवादी वा पुराना पञ्चहरूको पक्षमा अझै असर बाँकी रहेको कुरालाई बताउँछ । उनीहरूले हिन्दू धर्मप्रतिका जनताका भावनाहरूलाई आफ्ना राजावादी वा पुनरुत्थानवादी उद्देश्य पूरा गर्ने काममा प्रयोग गरेका छन् र त्यसमा केही हदसम्म सफल पनि भएका छन् । जनताको धर्मप्रतिका विश्वासहरूलाई प्रतिगामी उद्देश्य अर्थात् राजतन्त्रको पुनस्र्थापनाको पक्षमा उपयोग गरेर उनीहरूले वास्तवमा धर्मलाई वदनाम वा भ्रष्ट गर्ने काम गर्दैछन् । धर्मलाई आफ्ना प्रतिक्रियावादी उद्देश्यका लागि प्रयोग गर्ने प्रयत्न अत्यन्त निकृष्ट कार्य हो । नेपालमा वेग्ला वेग्लै भाषा, संस्कृति वा धर्म भएका जनता बस्दछन् र उनीहरूका बीचको सद्भावद्वारा नै नेपाल राष्ट्रको निर्माण हुन्छ । त्यो अवस्थामा हिन्दू धर्मलाई मात्र राज्यको धर्म बनाएर नेपाललाई हिन्दू राज्यको निर्माण गर्ने सोचाइ साम्प्रदायिक सोचाइ हो र त्यसले देशमा बस्ने विभिन्न धर्मावलम्वीहरूका बीचको सदभावनालाई खलबल्याउँछ र राष्ट्रलाई कमजोर पार्दछ । त्यसरी जातिवाद र क्षेत्रीयतावादले जस्तै हिन्दूवादी अवधारणाबाट पनि देशको राष्ट्रिय एकता र सद्भावनामा गम्भीर खतरा पुग्ने कुरा स्पष्ट छ । त्यसैले हाम्रो पार्टीले देशका अन्य सबै धर्मावलम्वीहरूको धार्मिक स्वतन्त्रतालाई सुरक्षित राख्नु पर्ने आवश्यकतामा जोड दिँदै नेपाललाई हिन्दू राष्ट्र बनाउने राजावादीहरूको नीतिलाई दृढतापूर्वक विरोध गर्दछ । राजतन्त्र विश्वको इतिहासमा समाप्तप्रायः भएको र नेपालको इतिहासमा पनि शताब्दीयौँदेखि जनतामाथि अन्याय, अत्याचार गर्दै आएको, निरङ्कुश शासन गर्दै आएको, राष्ट्रिय सम्पत्तिको व्यापक रूपमा दुरूपयोग गर्दै आएको, कैयौँ काला हत्याकाण्ड वा दरवार काण्डहरूका लागि बदनाम भएको राजतन्त्रको पुनस्र्थापनाको प्रतिक्रियावादी उद्देश्य पूरा गर्न हिन्दू धर्मलाई प्रयोग गर्दैछन् । त्यस प्रकारका प्रयत्नहरूको विरोध गर्दै हाम्रो पार्टीले सबै धर्महरूको स्वतन्त्रता र समानतामाथि आधारित धर्मनिरपेक्षताका सिद्धान्तमाथि जोड दिन्छ । त्यस प्रकारको धर्मनिरपेक्षताको सिद्धान्त हिन्दू धर्मको विरुद्ध छैन । त्यो सोचाइले हिन्दू धर्मावलम्वीहरूको धार्मिक स्वतन्त्रतामा पनि कुनै हस्तक्षेप गर्दैन । तर जुनसुकै कारणले भए पनि राजावादी शक्तिहरूलाई जुन सफलता प्राप्त भएको छ, त्यसलाई हल्का रूपमा लिनु सही हुने छैन । देशभित्र पुनरुत्थानवादीका पक्षमा काफी हदसम्म आधार हुनुका साथै हाम्रो छिमेकी देश भारतमा पनि नेपालमा राजतन्त्रको पक्षमा रहेका राजनीतिक शक्तिहरू, जस्तै कि भा.ज.पा., अपेक्षाकृत शक्तिशाली रहेकाले त्यसबाट हाम्रो देशको पुनरुत्थानवादी शक्तिलाई पनि थप वल पुग्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसकारण सबै गणतन्त्रवादीहरूले राजावादी खतराको सामना गर्न स्पष्ट र दृढ नीति लिनु पर्ने आवश्यकता छ ।
८. एमाओवादीले चुनावमा व्यापक रूपले धाँधली भएको बताउँदै त्यो धाँधलीको छानबिनका लागि आयोगको गठनको माग गरेको छ । चुनावमा धाँधली भएको कुरालाई हामीले पनि स्वीकार गर्दछौँ । सर्वप्रथमता चुनावमा भाग लिएका प्रमुख राजनैतिक दलहरू एमाओवादी, एमाले र ने.का. का तर्फबाट नै व्यापक धाँधली गरिएको छ । चुनावमा ठूलो पैमानामा पैसा खर्च गरिएको छ । भोजभतेर लगाइएको छ वा गुण्डागर्दी गरिएको छ । त्यस सिलसिलामा पूर्व सभासद तथा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुन समेत कैयौँ साथीहरूमाथि एमाओवादीको खुकुरी, खुँडा सहित आएको सशस्त्र टोलीद्वारा गरिएको हिंसात्मक आक्रमण उल्लेखनीय छ । त्यो आक्रमणमा मीना पुनको टाउकोमा धारिलो हतियारद्वारा आक्रमण गरिएको थियो भने अन्य साथीहरूमाथि हातै चुँडिने गरेर खुकुरीद्वारा प्रहार गरिएको थियो । वास्तवमा त्यो आक्रमण ज्यान मार्ने उद्देश्यले नै गरिएको थियो । प्यूठानमा  पनि एमालेका कार्यकर्ताहरूद्वारा कतिपय स्थानहरूमा हाम्रा साथीहरूमाथि आक्रमण गरिएको थियो । विभिन्न राजनैतिक शक्तिहरूले देशव्यापी रूपमा त्यस प्रकारको धाँधली गर्नु वाहेक कतिपय स्थानहरूमा जिल्ला निर्वाचन आयोग, प्रशासन र प्रहरी समेतले विभिन्न पार्टीका उम्मेदवारहरूलाई जिताउन वेग्ला वेग्लै प्रकारले धाँधली गर्ने गरेका छन् । कतिपय ठाउँमा पार्टीका प्रतिनिधिहरूलाई साथमा नराखिकन मतपेटिकाहरू सेनाका जिम्मा पठाउने कार्य पनि गम्भीर रूपले आपत्तिजनक छ । यस्ता सबै धाँधलीहरूको छानबिन गरिनु पर्दछ भन्ने हाम्रो पनि मत छ । त्यस सिलसिलामा एमाओवादीका कतिपय उम्मेदवार भएका क्षेत्रहरूमा धाँधली भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तैपनि देशव्यापी रूपमा एमाओवादी, जातिवादी र मधेशवादीहरूको जुन हार भएको छ, त्यो त्यस प्रकारको धाँधलीको परिणाम नभएर उनीहरू (एमाओवादी, जातिवादी र क्षेत्रीयतावादीहरू) का गलत नीति र कार्यप्रणालीको परिणाम हो । जे होस्, त्यस प्रकारको धाँधलीको छानबिन गर्न आयोग गठन नहुँदासम्म समानुपातिकतर्फका आफ्ना विजयी उम्मेदवारहरूको नाम नपठाउने र संविधान सभामा समेत सामेल नहुने एमाओवादीले जुन घोषणा गरेको छ, त्यस प्रकारको नीतिलाई हाम्रो पार्टीले सही मान्दैन । त्यस प्रकारको नीतिले वास्तवमा लोकतान्त्रिक संविधानको निर्माणको कार्य ढिलो हुनेछ वा अहिले निर्वाचित संविधान सभाको पनि पहिलेको संविधान सभाको जस्तो संविधान निर्माण गर्न असफल हुने स्थितिको सिर्जना हुने सम्भावना रहनेछ । त्यो अत्यन्त अदूरदर्शितापूर्ण र राष्ट्रघाती कार्य हुनेछ । त्यस्तो स्थिति उत्पन्न हुन नदिन हाम्रो पार्टीले एमाओवादीसित छानबिनको माग गर्न वा आवश्यकता अनुसार सङ्घर्ष गर्दै संविधान सभामा सहभागी हुन र त्यसलाई सफल पार्न सकारात्मक दृष्टिकोण अपनाउन अनुरोध गर्दछ ।
९. अहिलेको चुनावमा कुनै पार्टीलाई वहुमत प्राप्त भएको छैन । यद्यपि सम्मिलित रूपमा एमाले र ने.का. ले स्पष्ट वहुमत प्राप्त गरेका छन् । तर उनीहरूको त्यो वहुमत प्रथम, उनीहरूको नीति र भूमिका सही भएर प्राप्त भएको होइन । मूल रूपमा उनीहरूलाई प्राप्त त्यो नकारात्मक मत हो । एमाओवादीका जातिवादी र क्षेत्रीयतावादी नीतिहरू वा जातिवादी र क्षेत्रीयतावादीहरूसितको गठबन्धनबाट देशमा जातीय र क्षेत्रीय विग्रह र राष्ट्रिय विखण्डन हुने सम्भावनाबाट जनता व्यापक रूपबाट चिन्तित र आतङ्कित थिए । त्यसैले एमाओवादी वा त्यससँग सम्बन्धित जातिवादी र क्षेत्रीयतावादीका विरुद्ध जनतामा व्यापक रूपमा देखा परेको भावनाका कारणले एमाले र ने.का. लाई नै वहुमत प्राप्त भएको हो । ती दुवै सङ्गठनका पहिलेका गलत नीतिहरू मूल रूपमा अहिले पनि कायम छन् । गत कालमा सत्तामा गएका बेलामा पनि उनीहरूले कैयौँ जनविरोधी, राष्ट्रघाती वा भ्रष्ट नीतिहरू अपनाउने गरेका छन् वा एमाओवादी, जातिवादी वा क्षेत्रीयतावादीहरूसित सम्झौतापरस्त नीति अपनाउने गरेका छन् । आउने दिनहरूमा पनि उनीहरूका त्यस प्रकारका नीतिहरू दोहोरिने सम्भावना प्रशस्त छ । त्यसैले जातिवाद र क्षेत्रीयतावादका विरुद्ध वा लोकतान्त्रिक संविधानको निर्माणका पक्षमा अपनाउने गलत नीतिहरूका विरुद्ध सम्झौताहीन प्रकारले सङ्घर्ष गर्ने हाम्रो नीति हुनु पर्दछ र हुनेछ ।
१०. राष्ट्रपतिको प्रश्नलाई लिएर राजनैतिक शक्तिहरूका बीचमा ठूलो विवाद चलिरहेको छ । अन्तरिम संविधानमा संविधान जारी भएपछि नै राष्ट्रपति पदबाट हट्ने व्यवस्था गरिएको छ । त्यो अवस्थामा संविधान जारी हुनुभन्दा पहिले राष्ट्रपतिलाई पद छाड्न भन्नु संवैधानिक वा राजनैतिक दुवै दृष्टिले सही होइन । अहिले राष्ट्रपति समेतका पदहरूमा परिवर्तनको माग गर्नु प्रथमतः अन्तरिम संविधानमा गरिएको व्यवस्थाको विपरीत छ । त्यसका साथै राष्ट्रपति सम्बन्धी विवाद बढ्दै गएमा त्यो विवादमा नै महिनौँ बित्नेछ । त्यसबाट संविधानको निर्माणको कार्य ढिलो हुनेछ । त्यसैले हामीले त्यो विवादलाई अनावश्यक र गलत मान्दछौँ ।
११. हाम्रो पार्टीले लगातार स्थानीय निकायहरूको चुनावमा जोड दिँदै आएको छ । अहिले संविधान सभाको चुनावपछि हाम्रो पार्टीले शीघ्र स्थानीय निकायको चुनाव हुनु पर्ने आवश्यकतमा जोड दिन्छ ।
१२. अहिलेको चुनावमा प्रत्यक्षतर्फ हाम्रा पार्टीद्वारा समर्थित राष्ट्रिय जनमोर्चाले कुनै सिट जित्न सकेन भने समानुपातिकपट्टि पहिले जति ३ सिट प्राप्त भएको भए पनि भोट पहिलेभन्दा कम प्राप्त भएको छ । अहिलेको चुनावमा विरोधी पक्षहरूबाट पैसा, गुण्डागर्दी र प्रशासनको दुरूपयोग वा अन्य विभिन्न प्रकारको धाँधलीहरू गरिएका छन् । राजमोको पराजयका पछाडि ती कारणले पनि काफी हदसम्म काम गरेका छन् । खास गरेर चुनाव जित्ने सम्भावना भएका स्थानहरूमा अन्य पक्षको धाँधलीले पनि राजमोको पराजयमा बढी असर परेको छ । तैपनि चुनावमा पराजयको मूल कारण कमजोर सङ्गठन हो । प्रथम, देशव्यापी रूपमा हाम्रो सङ्गठनको पक्ष कमजोर छ । त्यसैले नै देशव्यापी रूपमा राजमोलाई भोट कम प्राप्त भएको छ । द्वितीय, कतिपय जिल्लाहरूमा हाम्रो वलियो सङ्गठन भए पनि त्यहाँ पनि सङ्गठनलाई सही र कुशलतापूर्वक परिचालन गर्ने काम हुन सकेन । चुनावका वेलामा मात्र हामीले सङ्गठन र कार्यकर्ताहरूको परिचालन गर्न नसकेको होइन, पहिलेदेखि नै हाम्रो सङ्गठनात्मक कार्यशैली, अनुशासन र परिचालनमा समेत कैयौँ कमजोरीहरू रहेका थिए । ती कमजोरीहरू चुनावका बेलामा प्रकट भएका छन् । त्यसैले हामीले अहिलेको चुनावमा राजमोले प्रत्यक्षतर्फ एउटा पनि सिट जितेनौँ र समानुपातिकतर्फ हामीलाई कम मत प्राप्त भयो । सङ्गठनात्मक रूपले भएका कमजोरीहरूका कारणले हामीले विरोधी पक्षका विभिन्न प्रकारका धाँधलीको सशक्त रूपले सामना गर्न सकेनौँ । त्यसकारण आगामी समयमा हाम्रो मुख्य जोड सङ्गठन र जनआधारको निर्माण गर्नेतिर हुनु पर्दछ । त्यो सिलसिलामा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । भौतिक रूपमा राजमोले अपेक्षाकृत सफलता प्राप्त गर्न नसके पनि नीतिगत रूपमा ठूलो सफलता प्राप्त भएको छ । जातिवाद र क्षेत्रीयतावादका विरुद्ध हाम्रो पार्टी र राजमो दुवैले अग्रिम पङ्क्तिमा रहेर सङ्घर्ष गर्दै आएको थियो । त्यसकारण अहिले जातिवाद र क्षेत्रीयतावादका विरुद्धको जनादेश हाम्रो ठूलो नीतिगत सफलता हो । त्यो सफलताले सङ्घीयताका विरुद्धको आन्दोलनलाई अरू उच्च र व्यापक रूपमा अगाडि बढाउन हामीलाई वल पुयाउनेछ ।

फर्कनुस्

बाँकी समाचार

•  देशको तात्कालिक राजनीतिक परिस्थिति बारे ने.क.पा. (मसाल)को नीति
•  तात्कालिक राजनैतिक प्रस्ताव
•  २०६३ फागुन २६-३० गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी मसालको सातौं महाधिवेशनमा पारित दस्तावेजहरु
•  तात्कालिक राजनीतिक प्रस्ताव
•  राजनीतिक प्रस्ताव
•  खस जाति सम्बन्धी प्रस्ताव (छलफलका लागि)
•  राज्य पुनर्संरचना सम्बन्धी ने.क.पा. (मसाल) को प्रस्ताव
• 
• 
• 
• 
•  तात्कालिक राजनीतिक प्रस्ताव
• 
•  निर्दलीय सरकारको विरोध गरौं, संविधानसभाको निर्वाचन सुनिश्चित गर्न संघर्ष गरौं ।
• 
• 
•  अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सम्बन्धि प्रस्ताव
•  सरकारमा सहभागितासम्बन्धी राजनीतिक प्रस्ताव
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.