नेपाली :: English
Masal
Tue / 2018-Sep-18
janamatदस्ताबेज
तात्कालिक राजनीतिक प्रस्ताव

(२०७४ फागुन २ र ३ गते सम्पन्न नेकपा (मसाल) को छैटौँ राष्ट्रिय भेलाद्वारा पारित)

प्रस्तावना
नेकपा (मसाल) को यो छैटौँ राष्ट्रिय भेला मुख्य रूपले दुई वटा विषयहरूमा छलफल गर्नका लागि आयोजित भएको छ ः (क) गत प्रतिनिधि सभा, प्रदेश सभाको चुनावको समीक्षा र, (ख) पार्टीको अनुशासनको समस्याको मूल्याङ्कन ।
प्रकट रूपमा गत चुनावको विषय यो रहेको थियो– वामपक्षीय गठबन्धन र नेका पक्षीय गठबन्धन मध्ये कसको विजय हुन्छ ? तर त्यसको मुख्य विषय त्योभन्दा अर्को र बेग्लै थियो । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको विजय हुनेछ वा पराजय ? नेकाको नेतृत्वमा बनेको गठबन्धनमा राजावादी, पृथकतावादी (मधेशवादी), भारतपरस्त तत्वहरू सामेल थिए । उनीहरूको विजय भएको भए गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा नै गम्भीर आँच पुग्ने सम्भावना थियो । उक्त प्रश्नहरूमा वाम पक्षधर गठबन्धनका नीति र भूमिका अपेक्षाकृत सही र प्रगतिशील थिए, यद्यपि उनीहरूमा भएका ढुलमूल, अवसरवादी र सम्झौतापरस्त प्रवृत्तिहरूप्रति पनि हाम्रो ध्यान रहने गरेको छ, तैपनि समग्र रूपमा वाम पक्षीय गठबन्धनले उक्त प्रश्नहरूमा बढी सही र प्रगतिशील दृष्टिकोण राख्दथ्यो । त्यसैले हाम्रो पार्टीले नेका पक्षीय गठबन्धन होइन, वाम पक्षीय गठबन्धनलाई समर्थन गर्नेबारे नीति अपनाएको थियो ।
कतिपय स्थानहरूमा वाम पक्षीय शक्तिहरूसित हाम्रो चुनावी तालमेल पनि भएको थियो । जहाँ तालमेल भएको थिएन, त्यहाँ मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने हाम्रो नीति रहेको थियो । कतिपय स्थानहरूमा पारस्पारिक समझदारीका आधारमा वाम पक्षीय उम्मेदवारहरूलाई समर्थन गरेर हामीले आफ्ना उम्मेदवारहरू फिर्ता पनि गरेका थियौँ । व्यवहारले हाम्रो पार्टीको चुनावसम्बन्धी नीतिलाई सही प्रमाणित गरेको छ । त्यसको विपरीत नेका पक्षीय गठबन्धनसित चुनावी तालमेल गर्ने नीति अपनाएको भए नीतिगत रूपमा त्यो गम्भीर गल्ती हुनुका साथै चुनावको परिणाम पनि हाम्रा लागि प्रत्युत्पादक हुने कुरा निश्चित थियो ।
चुनावमा नेकाको देशव्यापी रूपमा जसरी हार भयो । त्यसबाट प्रष्ट हुन्छ त्यो सित तालमेल गरेर चुनाव लडेको भए हामीले प्युठान र बागलुङमा पनि चुनाव जित्न सक्ने थिएनौँ । तात्कालिक रूपमा मात्र होइन, एकातिर, नेका पक्षीय गठबन्धनले अपनाएका प्रतिगामी नीतिहरू र, अर्कातिर, एमाले र माओवादीका बीचमा वाम पक्षीय गठबन्धन बनेपछि देशमा चलेको वाम पक्षीय लहरका पृष्ठभूमिमा हामीले नेकासित चुनावी तालमेल गर्ने नीति अपनाएको भए दीर्घकालीन रूपबाट पनि हाम्रो राजनीतिक प्रतिष्ठा र हाम्रो जनआधारमा पनि गम्भीर प्रकारको आँच पुग्ने थियो । स्पष्ट थियो, त्यो अवस्थामा जनतामा ठुलो बदनामी हुनुका साथै पार्टी पङ्क्तिबाट पनि पार्टी केन्दूको भूमिका र नीतिहरूको पनि व्यापक विरोध हुने कुरा निश्चित थियो । त्यसैले चुनावको बेलामा पार्टीले तालमेलको जुन नीति अपनायो, त्यो सही भएको कुरा व्यवहारबाट नै प्रष्ट भई सकेको छ ।
एकताबद्ध र अनुशासित पार्टी नभइकनआन्दोलन वा चुनावमा पनि महत्वपूर्ण भूमिका खेल्नु सम्भव हुँदैन । त्यसैले पार्टीको अनुशासन र एकतामाथि पनि हामीले सधैँ जोड दिनु पर्दछ । अब हामीले एक वर्षमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने ठेगान गरेका छौँ । महाधिवेशनले राष्ट्रिय सम्मेलन, राष्ट्रिय भेला वा केन्द्रीय समितिका बैठकहरू जस्तै तात्कालिक र सामान्य नीति र कार्यक्रम निर्धारित गर्ने जस्तो काम मात्र गर्दैन । त्यसले अपेक्षाकृत लामो अवधिका लागि नीति र कार्यक्रमहरू निर्धारण गर्दछ । त्यसैले महाधिवेशनमा स्वस्थ र सन्तुलित प्रकारले छलफल र निर्णयहरू हुनुपर्दछ । स्वस्थ र अनुशासित वातावरणमा नै त्यो कार्य हुन सक्दछ । तर हाम्रो पार्टीमा जस्तो कि हामीलेपछि चर्चा गर्ने छौँ, अहिले एकता र अनुशासनमा कैयौँ समस्याहरू देखा परेका छन् । त्यो अवस्थामा महाधिवेशन हुने हो भने त्यसमा स्वस्थ सन्तुलित प्रकारले विभिन्न विषयहरूमा चर्चा, छलफल र निर्णयहरू हुन मुश्किल पर्नेछ ।
पाँचौ महाधिवेशन तीव्र गुटबन्दीको अवस्थामा भएको थियो । महाधिवेशनभन्दा पहिले पुरै देशमा र महाधिवेशनको हलमा पनि गुटबन्दीको वातावरण व्याप्त थियो । त्यसैले त्यो महाधिवेशनमा स्वस्थ र सन्तुलित प्रकारले छलफल हुन नसकेको र महाधिवेशनपछि कैयौँ दुष्परिणामहरू भएको अनुभव हाम्रा अगाडि छ । त्यस प्रकारको स्थितिको पुनरावृत्ति हुन नदिन अहिले पार्टीमा भएका तात्कालिक विवाद वा अनुशासनका समस्याहरूलाई महाधिवेशन पहिले नै समाधान गरेर पार्टीमा स्वस्थ वातावरणको निर्माण गर्ने प्रयत्न गर्नुपर्दछ । त्यही उद्देश्यले नै हामीले यो भेलाको आयोजना गरेका छौँ । हामीले आशा गर्दछौँ, यो भेलाले तात्कालिक रूपमा पार्टीभित्र एकता र अनुशासनको वातावरण तयार पार्नुका साथै आठौँ महाधिवेशनका लागि स्वस्थ र अनुशासित वातावरण तयार पार्ने छ ।

(क)
निर्वाचनको समीक्षा
१. गत निर्वाचनमा दुई वटा गठबन्धन बनेका थिए ः प्रथम, एमाले र माओवादी केन्द्र पक्षीय गठबन्धन । द्वितीय, नेका पक्षीय गठबन्धन । सामान्य रूपले हेर्दा चुनावमा ती दुई पक्षहरूका बीचमा प्रतिस्पर्धा भए जस्तो देखिन्थ्यो । तर हाम्रो ध्यान त्योभन्दा बढी अर्को पक्षतिर थियो । वास्तवमा त्यो चुनावमा दुई वटा नीतिहरूका बीचको प्रतिस्पर्धा भएको थियो । नेका पक्षीय गठबन्धनमा राजावादी, मधेशवादी (पृथकतावादी) र भारतपरस्त तत्वहरू सामेल थिए । राजावादीहरूले राजतन्त्रको पुनस्र्थापना गर्न, नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहन्छन् । नेकाभित्र पनि राजतन्त्र, हिन्दू राष्ट्रका पक्षपातीहरूको ठुलो पक्ष छ । पृथकतावादीहरूले नेपाललाई टुक्राएर भारतीय विस्तारवादी नीतिको सेवा गर्न चाहन्छन् । त्यो अवस्थामा नेका पक्षीय गठबन्धनको विजय भएको भए गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा गम्भीर आँच पुग्ने खतरा थियो । त्यस प्रकारको अवस्थामा गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र बृहत्तर राष्ट्रिय हितमा नेका पक्षीय गठबन्धनलाई हराउनु राष्ट्रिय आवश्यकता भएको थियो । जस्तो किमाथि भनियो, वामपक्षीय गठबन्धनले उक्त प्रश्नहरूमा अपेक्षाकृत सही र प्रगतिशील नीतिहरू अपनाउँछन् । एमाले र माओवादी केन्द्र दुवैमा राष्ट्रियताको पक्षमा केही ढुलमूल र सम्झौतापरस्त नीति अपनाउने गरेको पृष्ठभूमि पनि छ र आउने दिनहरूमा त्यस प्रकारका सम्भावनाहरूलाई अस्वीकार पनि गर्न सकिन्न । राष्ट्रियताको प्रश्नमा उनीहरूमा केही कमजोरी देखा परे पनि गणतन्त्र र धर्म निरपेक्षताका प्रश्नमा उनीहरूले सामान्यतः सही दृष्टिकोण राख्दछन् । समग्र रूपमा नेका पक्षीय गठबन्धनकोभन्दा वामपक्षीय गठबन्धनको नीति सहीर प्रगतिशील थियो । त्यस प्रकारको पृष्ठभूमिमा नै हाम्रो पार्टीले नेका पक्षीय गठबन्धनलाई हराउने र वामपक्षीय गठबन्धनलाई समर्थन गर्ने तथा सम्भव भएका स्थानहरूमा उनीहरूसित तालमेल पनि गर्ने नीति अपनाएको थियो ।
२. हाम्रो पार्टीले एकातिर, रणनीतिक र वर्गीय आधारमा र, अर्कातिर, तात्कालिक राजनीतिक आधारमा विभिन्न राजनीतिक शक्तिहरूसित बेग्ला–बेग्लै प्रकारले एकता वा सङ्घर्षको नीति निश्चित गर्ने गर्दछ । कम्युनिस्ट पार्टी मजदुर वर्गको पार्टी हो र किसान वर्ग नयाँ जनवादी क्रान्तिको मित्र शक्ति हो । राष्ट्रिय पूँजीपति वर्ग, धनी किसान वा निम्न पूँजीपति वर्ग नयाँ जनवादी क्रान्तिका मित्र शक्तिहरू हुन्, यद्यपि ढुलमूल, अवसरवादी र सम्झौतापरस्त प्रकारका । उनीहरूको सामन्त वर्ग तथा दलाल नोकरशाही पूँजीपतिसित सम्झौता गर्ने प्रवृत्ति हुन्छ । हाम्रो पार्टीले माओवादी केन्द्र समेतलाई निम्न पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने सङ्गठनका रूपमा व्याख्या गरेको छ । त्यस कारण वर्गीय रूपमा उनीहरू नयाँ जनवादी क्रान्तिका मित्र शक्तिहरू हुन् । आफ्नो वर्गीय चरित्र अनुसार उनीहरूमा सामन्त, दलाल र नोकरशाही वर्गहरूसित तथा अन्तर्राष्ट्रिय स्तरमा भारतीय विस्तारवाद र साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाउने प्रवृत्ति हुन्छ । उनीहरूका गत कालमा त्यस प्रकारका प्रवृत्तिहरू देखा पर्ने गरेका थिए र भविष्यमा पनि त्यस प्रकारको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । सामन्त र दलाल पूँजीपति वर्ग नयाँ जनवादी क्रान्तिका दुश्मन शक्तिहरू हुन् । नेकाले उनीहरूको प्रतिनिधित्व गर्दछ । त्यस कारण नयाँ जनवादी क्रान्तिको कालमा वर्गीय रूपमा त्यो हाम्रो दुश्मन शक्ति हो । राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशवादीहरू पनि दुश्मन शक्तिहरू हुन् । राप्रपाले राजतन्त्रको पुनस्र्थापना र नेपाललाई हिन्दू राष्ट्र बनाउने उद्देश्य राख्दछ । मधेशवादी सङ्गठनहरूको निर्माण नेपालमा भारतीय विस्तारवादको सेवा गर्न नै भएको हो । त्यसले मुख्य रूपले राष्ट्रिय विखण्डनमा जोड दिन्छ । त्यसैले त्यो पृथकतावादी राजनीतिक सङ्गठन हो । सधैँ झैँ यहाँ हामीले यो पनि स्पष्ट गर्न चाहन्छौँ कि मधेशवादी भनेर हामीले मधेशका सम्पूर्ण जनतालाई लिदैनौँ र हामीले भारतीय समर्थनमा नेपालमा पृथकतावादी उद्देश्य पुरा गर्न काम गर्ने मुठ्ठीभर भारतपरस्त तत्वहरूलाई नै मधेशवादीका रूपमा लिएका छौँ ।
३. कुनै खास बेलाको राजनीतिक स्थिति र आवश्यकता अनुसार विभिन्न मित्र वा दुश्मन शक्तिहरूसित तात्कालिक रूपमा एकता वा सङ्घर्षको नीति अपनाउने गरिन्छ । माओवादी केन्द्र, एमाले ढुलमूल र सम्झौतापरस्त मित्र शक्तिहरू भएकाले र नेका समेत दुश्मन शक्ति भएकाले उनीहरूसित कुनै पनि अवस्थामा कार्यगत एकता वा तालमेल नगर्ने नीतिलाई हामीले गलत मान्दछौँ । हाम्रो संयुक्त मोर्चासम्बन्धी नीति माक्र्सवादी–लेनिनवादी दृष्टिकोण अनुरूप नै छ । दुवैसित आवश्यकता अनुसार एकता र सङ्घर्षको नीति अपनाइन्छ । तर उनीहरूसित अपनाइने त्यस प्रकारको एकता वा सङ्घर्षको प्रकृतिमा मौलिक अन्तर पनि छ । माओले स्पष्ट गरे अनुसार मित्रशक्तिहरूप्रतिको संयुक्त मोर्चाको नीति एकता–सङ्घर्ष–एकतामाथि आधारित हुन्छ भने दुश्मन शक्तिहरूप्रतिको नीति सङ्घर्ष–एकता–सङ्घर्ष । त्यसरीमित्र शक्तिहरूसितको संयुक्त मोर्चाको नीतिमा एकताको पक्ष प्रधान हुन्छ भने दुश्मन शक्तिहरूप्रतिको नीतिमा सङ्घर्षको पक्ष नै प्रधान हुन्छ । मित्रशक्तिहरूसितको सम्बन्धमा एकतर्फी रूपमा एकतामा जोड दिने र दुश्मन शक्तिहरूसित पनि एकतर्फी रूपमा सङ्घर्षमा जोड दिने सोचाइहरू गैर माक्र्सवादी–लेनिनवादी तथा अधिभूतवादी विचारहरू हुन् ।
४. दोस्रो संविधान संशोधन विधेयक, चीनसितका सन्धिहरू, भारतका विरुद्ध कतिपय अडान आदिका प्रसङ्गहरूमा ओली वा एमालेले लिएका अडानहरूलाई हामीले समर्थन गरेका थियौँ । त्यस सन्दर्भमा कतिपय प्रश्नहरूमा हामीले उनीहरूसित कार्यगत एकता वा काममा कोअर्डिनेसन गरेर संसदभित्र वा बाहिर संयुक्त रूपले सङ्घर्ष गरेका थियौँ । तर त्यसो गर्ने बेलामा कतिपय प्रसङ्गहरूमा उसले भारतपरस्त नीति अपनाएको कुरा पनि लुकेको छैन । संविधान निर्माणको क्रममा पहाडी भागहरूबाट अलग गरेर दुई नं. प्रदेशको निर्माण, नागरिकताबारे कतिपय उदार नीतिहरू आदिबारे उनीहरूले अपनाएका नीतिहरू वा प्रथम संविधान संशोधन विधेयकलाई पारित गराउन ओलीले खेलेको भूमिकाप्रति पनि हाम्रो ध्यान छ । महाकाली सन्धिलाई पारित गराउन ओलीले खेलेको भूमिका पनि कुनै लुकेको कुरा होइन । भारतीय विदेश मन्त्री शुष्मा स्वराजसितको उनको भेटघाटपछि उनको पहिलेको अडानबाट विचलन आउने सम्भावनालाई पनि पुरै अस्वीकार गर्न सकिन्न । एमाओवादी केन्द्रले पनि गतकालमा बारम्बार भारतपरस्त नीति अपनाउने गरेका कैयौँ उदाहरणहरू छन् । ओली सरकारमा भएका बेलामा त्यसबाट अलग भएर नेकासित गठबन्धन गरेको तथा दोस्रो संविधान संशोधन विधेयकलाई पारित गराउन पहल गरेका उदाहरणहरू पनि हाम्रा अगाडि छन् । उनीहरूका त्यस प्रकारका क्रियाकलापहरू निम्न पूँजीपति वर्गहरूमा देखा पर्ने ढुलमूल, अवसरवादी र सम्झौतापरस्त चरित्रका प्रकट रूपहरू हुन् । तर त्यो कारणले उनीहरूलाई पुरै दुश्मन शक्ति ठान्ने वा कुनै पनि अवस्थामा उनीहरूसित कार्यगत एकता नगर्ने सोचाइलाई हामीले सही मान्दैनौँ । त्यसैले गतकालमा उनीहरूका विभिन्न ढुलमूल, अवसरवादी र सम्झौतापरस्त नीतिहरूको विरोध गर्दै हामीले उनीहरूसित कार्यगत एकताको नीति अपनाउँदै आएका छौँ । त्यो नीतिले आवश्यकता अनुसार उनीहरूका वा उनीहरूको कुनै गलत नीतिका विरुद्ध सङ्घर्ष गर्ने नीतिमा अन्तर आउने छैन । उनीहरूसित आवश्यकता अनुसार सङ्घर्षमा जोड दिने नीतिका कारणले वर्गीय रूपमा उनीहरूलाई नयाँ जनवादी क्रान्तिको कालमा मित्रशक्ति ठान्ने हाम्रो सोचाइमा पनि अन्तर आउने छैन । उनीहरूप्रतिको यस प्रकारको बेग्लाबेग्लै प्रकारको सोचाइ द्वन्द्वात्मक सिद्धान्त अनुरूप नै छ ।
५. संयुक्त मोर्चा, कार्यगत एकता, कोअर्डिनेसनका सन्दर्भमा हामीले एकातिर, एमालेर माओवादीहरू तथा अर्कातिर, नेका, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशवादीप्रतिको नीतिमा अन्तर गर्नुका साथै कुनै खास बेलामा कुन शक्तिसितको एकता वा सङ्घर्षमा कति जोड दिने ? त्यो कुनै खास बेलाको स्थिति अनुसार नै निर्धातिर हुन्छ । यहाँसम्म कि कुनै खास बेलाको आवश्यकता अनुसार दुश्मन शक्तिहरूका विरुद्धभन्दा मित्र शक्तिहरूका विरुद्ध सङ्घर्षमा बढी जोड दिनु पर्ने आवश्यकता पनि हुन्छ । उदाहरणका लागि माओवादीहरूले ‘जनयुद्ध’ का कालमा हाम्रा विरुद्ध आक्रमणको नीति अपनाउँदा, हाम्रा साथीहरूको अपहरण, हत्या वा लुटपाट गर्दा उनीहरूका विरुद्धको सङ्घर्षमा नै बढी जोड दिनु परेको थियो । तर यी अस्थायी कुराहरू हुन् । वास्तवमा मित्रशक्तिहरूसितको एकता र दुश्मन शक्तिहरूसितको सङ्घर्ष नै स्थायी प्रकृतिको हुन्छ । कुनै बेला कुनै खास पक्षसित एकता वा सङ्घर्षको नीति अपनाए पनि आफ्नो स्वतन्त्र भूमिका वा उनीहरूसितका मतभेदहरूसित सम्बन्धित विरोध वा सङ्घर्षलाई लगातार अगाडि बढाउने नीति अपनाउनु पर्दछ र हामीले कुनै पक्षसितको कार्यगत एकताको दौरानमा यी कुराहरूमाथि आँच पुग्न दिने गरेका छैनौँ । राष्ट्रिय जनमोर्चा सरकारमा भएको बेलामा पनि त्यसले (राजमोले) भारतीय विस्तारवाद, सङ्घीयता वा प्रथम संविधान संशोधन विधेयक समेतको सम्झौताहीन प्रकारले विरोध गरेको कार्यबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।
६. इतिहासका बेग्लाबेग्लै कालखण्डहरूमा एमाले र माओवादी केन्द्रसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू थिए र अहिले पनि छन् । अहिले उनीहरूसित भएको चुनावी तालमेल वा कार्यगत एकता आवश्यकता अनुसार पुनः सङ्घर्षमा बदलिन सक्ने सम्भावना पनि रहने छ । उनीहरूले राष्ट्रिय महत्वका प्रश्नहरूमा, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता सहित अन्य महत्वपूर्ण राष्ट्रिय प्रश्नहरूमा, सम्झौतापरस्त नीति अपनाएमा निश्चित रूपले हामीले तिनीहरूका विरुद्ध सङ्घर्षको नीति अपनाउनु पर्दछ र अपनाउने पनि छौँ । माओवादी केन्द्रले गतकालमा कतिपय गलत र सम्झौतापरस्त नीतिहरू अपनाएको थियो । हामीले त्यस प्रकारका विभिन्न नीतिहरू, जस्तै कि सङ्घीयता, नेकासित मिलेर गठबन्धन सरकारको निर्माण, ५ नं. प्रदेशलाई टुक्राउने सहित दोस्रो संविधान संशोधन विधेयकलाई पारित गराउन गरेको प्रयत्न, क्षेत्रीयतावादी वा जातिवादी नीतिहरूलाई समर्थन गरेका कैयौँ नीतिहरूको विरोध गरेका थियौँ र भोली पनि उनीहरूले त्यस प्रकारका कुनै गलत, सम्झौतापरस्त नीति अपनाउने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न र त्यो भएमा हामीले उनीहरूका विरुद्ध सङ्घर्ष गर्नु पर्ने आवश्यकतालाई अस्वीकार गर्न सकिन्न । तर उनीहरूले जुनजुन बेला आफ्ना गलत नीतिहरूमा परिवर्तन गर्ने गरेका छन्, हामीले उनीहरूका त्यस प्रकारका सकारात्मक नीतिहरूलाई बिना पूर्वाग्रह समर्थन पनि गर्ने गरेका छौँ । त्यही प्रकारको द्वन्द्वात्मक नीति हामीले एमाले प्रति पनि अपनाउँदै आएका छौँ र भविष्यमा पनि आवश्यकता अनुसार अपनाउँदै जाने छौँ ।
७. प्रथम, हामीले कुनै राजनीतिक शक्तिप्रति पूर्वाग्रह राखेर होइन, त्यसको नीति वा भूमिकाबारे वस्तुगत प्रकारले मूल्याङ्कन गरेर नै आफ्नो नीति निश्चित गर्ने गर्दछौँ । द्वितीय, हामीले कसैप्रति एकतर्फी रूपले विरोध वा एकता गर्ने अधिभूतवादी चिन्तनका आधारमा होइन, द्वन्द्वात्मक प्रकारले विचार गरेर नै, त्यस प्रतिको नीति निश्चित गर्दछौँ । हाम्रो पार्टीको त्यस प्रकारको चिन्तन पद्धतिका कारणले नै हामीले कुनै राजनीतिक शक्तिसित आवश्यकता अनुसार एकता वा सङ्घर्षको नीतिलाई सन्तुलित प्रकारको नीति अपनाउन सफल हुने गरेका छौँ । हाम्रो त्यस प्रकारको द्वन्द्वात्मक नीतिलाई ठिकसित बुझ्न नसकेर विरोधीहरूले हामीले अपनाउने गरेका नीतिबारे कैयौँ भ्रमहरू फैलाउने गर्दछन् भने स्वयं हाम्रो पार्टी पङ्क्तिमा पनि कतिपय अवस्थामा भ्रामक सोचाइहरू देखा पर्ने गर्दछन् । हामीले लामो समयदेखि नै पार्टी बाहिर वा पार्टी भित्रका पनि त्यस प्रकारका भ्रामक सोचाइहरूका विरुद्ध सङ्घर्ष गर्दै आउनु परेको छ र त्यो सङ्घर्षको क्रममा नै हाम्रो पार्टीको सैद्धान्तिक र सङ्गठनात्मक विकास हुँदै आएको छ । 
८. कुनै पक्षको गतकालमा कुन प्रकारको भूमिका थियो वा भविष्यमा कस्तो भूमिका हुने छ ? तात्कालिक नीति निश्चित गर्दा हामीले त्यसबारे पनि विचार गर्नु पर्दछ । तर कुनै पक्षसित कार्यगत एकता कुनै खास बेलाको राजनीतिक परिस्थिति र आवश्यकता, त्यसले खेलेको भूमिका आदिमाथि ध्यान दिएर नै कुनै पक्षसितको कार्यगत एकता, सङ्घर्षको नीति निश्चित गरिन्छ । त्यसका साथै कुनै पक्ष, त्यो मित्र वा दुश्मन जे भए पनि जुन बेला कुनै समझदारीका आधारमा कार्यगत एकता वा तालमेल गरिन्छ, त्यसलाई इमान्दारितापूर्वक पालना गर्नु पर्दछ । त्यो बेला पनि उनीहरूसित हाम्रा कुनै मतभेदका विषयहरू उत्पन्न हुन सक्दछन् ।त्यो बेलामतभेदका विषयहरूमा आवश्यकता अनुसार आफ्ना आलोचना वा सङ्घर्षहरूलाई कायम राख्दै सहमति भएका विषयहरूमा एकतालाई कायम राख्ने हाम्रो प्रयत्न हुनुपर्दछ । हामीले के बुझ्नु पर्दछ भने कार्यगत एकता वा तालमेल भनेको मतभेदहरूका बीचमा नै एकता हो । त्यस कारण कार्यगत एकता वा तालमेलको अर्थ पुरै एकता होइन र कार्यगत एकता वा तालमेलको बीचमा पनि कैयौँ नीतिगत वा व्यावहारिक मतभेद पैदा हुन सक्दछन् । तर त्यसको बाबजुद जुन विषयहरूमा कार्यगत एकता वा तालमेल भएको छ, त्यसलाई कायम राख्न पुरै प्रयत्न गर्नु पर्दछ ।
९. जुन पक्षसित गत चुनावका बेलामा तालमेल भयो, उनीहरूसित नयाँ सन्दर्भ वा नयाँ राजनीतिक आवश्यकता अनुसार अहिलेको एकताको नीति पुनः सङ्घर्षमा बदलिने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । २०४६ सालको आन्दोलनमा गिरिजा प्रसादको नेतृत्वको नेकासित हाम्रो कार्यगत एकता वा आन्दोलन या कोअर्डिनेसन भयो । तरपछि पुनः उनको नेतृत्वको सरकारका विरुद्ध नौ वामले ढाई वर्षसम्म संयुक्त सङ्घर्ष गर्नु परेको थियो । हाम्रो कुनै पक्षसित कायम भएको एकता लामो समयसम्म चली रहोस् र त्यो स्थायी प्रकृतिको होस् । त्यसका लागि प्रयत्न गर्नु पर्दछ । तर राजनीतिक स्थिति र कुनै पक्षको भूमिकामा आउने परिवर्तन अनुसार कुनै पक्षसितका एकता वा सङ्घर्षका नीतिहरूमा परिवर्तन गर्नु पर्ने आवश्यकता पनि पैदा हुन सक्दछ । कैयौँपल्ट एकता सङ्घर्षमा र सङ्घर्ष एकतामा रूपान्तरित हुन सक्दछन् । माओले च्याङकाइसेकसितको संयुक्त मोर्चालाई कायम राख्नेर संयुक्त सरकार बनाउने पनि प्रयत्न गरेका थिए । तर च्याङकाइसेकको भूमिकाका कारण नै त्यो एकता कायम हुन सकेको थिएन । पञ्चायती कालमा चौम, सर्वहारा श्रमिक सङ्गठन, मोटो मशाल आदिसित हामीले कार्यगत एकता गरेर संयुक्त राष्ट्रिय जनआन्दोलनको गठन गरेका थियौँ । हामीले संविधान सभाको नारा दिएपछि उनीहरू हामीसितको कार्यगत एकता कायम राख्न तयार भएनन् । हामीले संविधान सभाको प्रश्नमा मतभिन्नता भए पनि त्यसलाई कायम राख्नु पर्दछ भन्ने कुरामा जोड दिएका थियौँ । १७ दलको संयुक्त आन्दोलन पनि करिब दुई वर्षसम्म चलेको थियो । त्यसलाई निरन्तरता दिने हाम्रो प्रयत्न थियो । तरपछि त्यसका धेरै पक्षहरू माओवादीसित मिल्न गएपछि टुटेको थियो । त्यस प्रकारका अरू पनि कैयौँ उदाहरणहरू छन्, तैपनि भविष्यमा कुनै पक्षसितको कार्यगत एकता टुट्न सक्ने आशङ्काका कारणले कुनै खास बेलाको राजनीकि आवश्यकता अनुसार बनेको कार्यगत एकतालाई पनि निषेध गर्नु सही हुँदैन । यस सन्दर्भमा हामीले के बुझ्नु पर्दछ भने कुनै बेलामा कुनै खास पक्षसित भएको कार्यगत एकता वा तालमेल सारमा त्यो पक्षसित कार्यगत एकता वा तालमेल नभएर कुनै खास राजनीतिक आवश्यकता पुरा गर्न नै बनेको हुन्छ र त्यो राजनीतिक आवश्यकता नै मुख्य पक्ष हो । उदाहरणका लागि २०४६ सालमा नेकासित हामीले जुन कार्यगत एकता वा कोअर्डिनेसन गर्‍यौँ, त्यो मूल रूपमा नेकासित गरिएकोभन्दा पनि त्यो बेला देशमा कायम भएको निरङ्कुश राजतन्त्र वा पञ्चायती तानाशाही व्यवस्थालाई समाप्त गर्न गरिएको कार्यगत एकता र उक्त प्रश्नमा नेकासित कायम भएको नीतिगत समानता नै प्रधान पक्ष थियो । त्यसरी त्यो कार्यगत एकताको प्रधान पक्ष नेका नभएर निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्था समाप्त गर्ने उद्देश्य नै थियो । गत चुनावमा एमाले वा माओवादी गठबन्धनलाई समर्थन गर्ने हाम्रो नीतिको प्रधान पक्ष पनि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतालाई समर्थन गर्ने राजनीतिक उद्देश्यहरू नै थिए । एमाले र माओवादी त्यसका गौण पात्ररु थिए ।
१०. गत चुनावको बेलामा प्युठान र बागलुङमा वा मपक्षीय गठबन्धसित औपचारिक रूपले नै चुनावी तालमेल भएको थियो । हामीले अर्घाखाँचीमा समेत चुनावी तालमेल गर्नका लागि कुरा उठाएका थियौँ । हाम्रो जोड यो कुरामा थियो कि देशका अन्य भागहरूमा पनि जहाँ एक–अर्काको भोटले परस्परमा असर पर्न सक्दछ, त्यहाँ पनि चुनावी तालमेल गर्ने कुरामा थियो । तर त्यस प्रकारको तालमेल कुनै एक पक्षसितको इच्छाले मात्र हुँदैन र त्यसका लागि दुवै पक्षको सहमति आवश्यक हुन्छ । त्यो बाहेक जुन स्थानमा हाम्रो पनि बलियो सङ्गठनात्मक आधार छ, त्यहाँ नै विरोधी पक्ष हामीसित तालमेल गर्न तयार हुन्छ । त्यसैले हाम्रो अपेक्षाकृत बलियो सङ्गठन भएका बागलुङ र प्युठानमा औपचारिक रूपमा तालमेल हुन सक्यो । प्युठानमा प्रतिनिधि सभाको एकसिट र बागलुङमा प्रदेश सभाका दुई वटा सिटहरू राष्ट्रिय जनमोर्चाले लिने गरी तालमेल भयो र ती तीन वटै स्थानहरूमा र वाम पक्षीय गठबन्धनका उम्मेदवारहरूको पनि विजय भयो । हामीले प्युठानमा प्रतिनिधि सभाको एउटा र प्रदेश सभाको एउटा सिट तथा बागलुङमा प्रतिनिधि सभाको एउटा र प्रदेश सभाको एउटा सिटलाई आफ्नो ‘बटम लाइन’ बनाएका थियौँ । अर्घाखाँचीमा प्रदेश सभाको एउटा सिट हामीलाई प्राप्त हुनुपर्दछ भन्ने कुरामा पनि हाम्रो जोड थियो । तर उक्त निर्वाचन क्षेत्रहरूमा हामीले भने अनुसार सहमति हुन सकेन । वाम पक्षीय गठबन्धन हामीसित अर्घाखाँचीमा कुनै तालमेल गर्न तयार भएन भने बागलुङ र प्युठानमध्ये एउटा प्रतिनिधि सभाको सिट हामीलाई दिनका लागि मात्र उनीहरू सहमत भए । त्यो अवस्थामा हामीहरूका अगाडि यो बाहेक अन्य कुनै विकल्प थिएन ः हामीले बागलुङ र प्युठानमध्ये प्रतिनिधि सभाको एउटा सिट मात्र स्वीकार गर्नु पर्दथ्यो वा आफ्नो “बटम लाइन” मा अडान लिएर उनीहरूसित कुनै तालमेल नगरिकन एक्लै चुनावमा जानु पर्दथ्यो । त्यो अवस्थामा बागलुङ र प्युठानमा प्रतिनिधि सभा वा प्रदेश सभाको एउटा सिट पनि जित्न मुश्किल पर्दथ्यो । अन्तमा हामीले प्युठानमा प्रतिनिधि सभाको एउटा सिट र बागलुङमा प्रदेश सभाका दुई वटा सिटहरू लिने गरी चुनावी तालमेल गर्ने सहमति भयो ।
११. हामीले आफ्नो ‘बटमलाइन’ बाट पछाडि हटेर जुन चुनावी तालमेल गर्‍यौँ, त्यसबारे यो पनि प्रश्न उठ्ने गरेको छ– हाम्रो प्रस्तावमा वाम पक्षीय गठबन्धन तयार नभएपछि सहमतिलाई पुरै अस्वीकार गर्नु पर्दथ्यो र एक्लै चुनाव लड्नु पर्दथ्यो । त्यसो गर्दा हामीलाई लाभभन्दा बढी हानी नै पुग्दथ्यो, त्यसैले हामीले प्रतिनिधि सभाको एउटा सिट (प्युठान) मा र प्रदेश सभाका दुई वटा सिटहरू (बागलुङ) मा लिएर पनि तालमेल गर्नु नै सही ठार्‍यौँ । २०७० को चुनावमा प्युठान र बागलुङमा प्रतिनिधि सभाको एउटा सिट पनि जित्न सकेका थिएनौँ । त्यसबाट देशव्यापी रूपमा नै ठुलो असन्तोष र एक प्रकारको निराशा पैदा भएको थियो । अहिलेको पार्टीको सङ्गठनको स्थिति वा २०७० को संविधान सभा वा गत स्थानीय चुनावमा हामीले प्राप्त गरेका मतको हिसाब गर्दा हामीले एक्लै चुनाव लडेको भए प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा कतै एक सिट पनि प्राप्त गर्न नसक्ने आशङ्का पनि थियो । खास गरेर एमाले र माओवादी केन्द्रको बीचमा एकता भएको कारणले ता त्यो झन् बढी कठिन हुन गएको थियो । पार्टीको सबैभन्दा बलियो सङ्गठन भएको बागलुङ र प्युठानमा पनि त्यस प्रकारको सफलता प्राप्त गर्न कठिन थियो । २०७० को चुनावमा समानुपतिकतर्फ हामीले ३ सिट प्राप्त गरेका थियौँ । तर अहिले थ्रेसहोल्डका कारणले समानुपातिकतर्फ एक सिट पनि प्राप्त गर्न कठिन थियो र चुनावको परिणामले त्यो कुरा प्रमाणित पनि भयो । खालि प्रदेशको समानुपातिकतर्फ थ्रेसहोल्ड काट्ने सम्भावना थियो । त्यसरी अहिले एक्लै चुनाव लडेको भए प्रतिनधि सभाको प्रत्यक्ष र प्रदेश सभाको प्रत्यक्षतर्फ समेत एक सिट पनि प्राप्त गर्नु मुश्किल थियो । २०७० मा त समानुपातिकतर्फ कमसेकम तीन सिट प्राप्त भएको थियो । अहिले त्यसको पनि सम्भावना थिएन । त्यो अवस्थामा २०७० मा प्रत्यक्षतर्फ कुनै सिट नजितेको अवस्थामाभन्दा अहिले प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश तथा प्रतिनिधि सभाको समानुपातिकतर्फ पनि एउटा सिट पनि प्राप्त नभएको भए पार्टीमा बढी असन्तोष र निराशा उत्पन्न हुन्थ्यो ।
१२. हामीले अर्घाखाँची, गुल्मी र डडेलधुराका प्रतिनिधि सभाका आफ्ना उम्मेदवारहरूलाई फिर्ता गरेर वाम पक्षीय उम्मेदवारहरूलाई समर्थन गर्ने कार्यको पनि चर्को विरोध हुने गरेको छ । हाम्रो वार्ता टोलीले पहिले एमाले र माओवादीका कतिपय केन्द्रीय नेताहरूसित वार्ता गरेको थियो । तर तालमेलबारे कुनै सहमति हुन सकेको थिएन । त्यही प्रकारको वार्ताको क्रममा अर्घाखाँचीका माओवादी केन्द्रका केन्द्रीय नेतासित भेट गरेर हामीले चुनावी तालमेलका लागि आफ्नो ‘बटम लाइन’ स्पष्ट गरेका थियौँ । त्यस अनुसार हामीले यो बताएका थियौँ कि प्युठानको प्रतिनिधि सभा र प्रदेश सभाका एक एक सिट, बागलुङको प्रतिनिधि सभा र प्रदेश सभाका एक÷एक सिट र अर्घाखाँचीको प्रदेश सभाको एउटा सिट हामीलाई प्राप्त हुनुपर्दछ । त्यस सिलसिलामा अर्घाखाँचीको प्रतिनिधि सभाको एउटा सिट माओवादी उम्मेदवारलाई दिने कुरामा पनि हामीले सहमति प्रकट गरेका थियौँ ।पछि वाम पक्षीय गठबन्धनको उच्च तहमा छलफल हुँदा उनीहरू प्युठान र बागलुङमा मात्र तालमेल गर्न तयार भएको कुरा हामीले पहिले नै प्रष्ट गरी सकेका छौँ, तैपनि पहिले अर्घाखाँचीका माआवादी केन्द्रका केन्द्रीय नेतासित कुरा गर्दा त्यहाँको प्रतिनिधि सभाको एउटा सिट उनीहरूलाई दिन स्वीकार गरेका हुनाले हामीले त्यहाँ आफ्नो वचनबाटपछि हट्नु सही ठानेनौँ र माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्‍यौँ ।पछि ओलीले गुल्मी र डडेलधुरामा उनीहरूका उम्मेदवारहरूलाई समर्थन गर्न अनुरोध गरेका थिए । त्यसको बदलामा हामीले राष्ट्रिय सभाको हाम्रो एउटा उम्मेदवारलाई समर्थन गर्नका लागि प्रस्ताव राखेका थियौँ । त्यसबारे उनले सकारात्मक रूपले विचार गर्ने जबाफ दिएका थिए । त्यस अनुसार हामीले गुल्मीमा एमालेका र डडेलधुरामा माओवादी केन्द्रका उम्मेदवालाई समर्थन गर्ने निर्णय गरेका थियौँ । अर्घाखाँचीमा एमाले र माओवादीका केन्द्रीय नेताहरूले राष्ट्रिय सभाका लागि ५ नं. प्रदेशमा राष्ट्रिय सभाका एक जना उम्मेदवारलाई समर्थन गर्ने लिखित प्रतिबद्धता गरेपछि अर्घाखाँचीको पार्टीले त्यहाँका प्रदेश सभाका आफ्ना दुई वटा उम्मेदवारहरू फिर्ता गर्ने निर्णय गरेको थियो र उनीहरूको निर्णयलाई केन्द्रले पनि अनुमोदन गरेको थियो ।
१३. हामीले एमाओवादी अध्यक्ष प्रचण्डसित भेटेर राष्ट्रिय सभाका लागि ४ वा ५ नं. प्रदेशका हाम्रो एक जना उम्मेदवारलाई समर्थन गर्नका लागि अनुरोध गरेका थियौँ र त्यसबारे उनी सकारात्मक भएको कुरा बताएका थिए । हामीले एमाले र माओवादीले उम्मेदवारहरूको चयनका लागि बनाएको कार्यदलका संयोजक सुवास नेम्वाङलाई भेटेर पनि त्यसबारे कुरा गरेका थियौँ र उनले पनि त्यसबारे सकारात्मक जबाफ दिएका थिए । तरपछि राष्ट्रिय सभाको चुनावमा उनीहरूले हाम्रो एकजना उम्मेदवारलाई पनि समर्थन गरेनन् । वास्तवमा अहिले मात्र होइन, पहिले २०५१ तिर राष्ट्रिय सभाको चुनावमा, २०५६ तिर कपिलवस्तुको चुनावमा समेत हामीसित भएको तालमेलका विरुद्ध उनीहरूले राप्रपाका उम्मेदवारहरूलाई जिताउने काम गरेका थिए । केही पहिले सम्पन्न कर्मचारीको चुनावका उनीहरू केन्द्रीय समितिमा हामीलाई एक सिट दिनका लागि सहमति भएका थिए । चुनावमा जित भएपछि उनीहरूले त्यो सहमतिलाई पालन गरेनन् । उनीहरूले कैयौँपल्ट हामीसित भएको सहमति वा प्रतिबद्धतालाई उल्लङ्घन गर्ने गरेको भए पनि त्यो कारणले हामीले उनीहरूसित सधैँका लागि कार्यगत एकता वा तालमेलका लागि ढोका बन्द गर्न मिल्दैन र आवश्यकता अनुसार कैयौँपल्ट सहमति कायम गर्नु पर्ने आवश्यकता हुन्छ । उनीहरूको त्यस प्रकारको इतिहास भए पनि अहिलेको चुनावमा बागलुङ र प्युठान दुवै जिल्लाहरूमा सहमति अनुसार हाम्रा उम्मेदवारहरूलाई जिताउन उनीहरूले इमान्दारितासाथ मतदान गरेको उदाहरण पनि हाम्रा अगाडि छ ।
१४. माओवादी र एमालेका कैयौँ उम्मेदवारहरूले कैलाली, दाङ, कपिलवस्तु, रूपन्देही, पर्सा, काठमाडौँ आदि जिल्लाहरूका कतिपय निर्वाचन क्षेत्रहरूमा उनीहरूका उम्मेदवारहरूलाई समर्थन गरेर हाम्रा उम्मेदवारहरूलाई फिर्ता गर्नका लागि सम्पर्क गरेका थिए । कतिपय उम्मेदवारहरूले हामीले उनीहरूको सुझाव अनुसार आफ्ना उम्मेदवारहरू फिर्ता गरेर उनीहरूलाई समर्थन नगरेमा प्युठानमा हाम्रा उम्मेदवारलाई हराउने कुरा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले इशारा गरेका थिए । तर त्यसको जबाफमा हामीले ७ नं. प्रदेशमा र ५ नं. प्रदेशमा प्रदेश सभाका लागि हामीलाई एक सिटमा समर्थन गरेमा प्रतिनिधि सभामा उनीहरूका उम्मेदवारहरूको समर्थनमा आफ्ना उम्मेदवारहरू फिर्ता गर्ने कुरा बताएका थियौँ । काठमाडौँ र पर्सामा उनीहरूका उम्मेदवारहरूलाई समर्थन गर्ने प्रश्नमा पनि उनीहरूसित आफ्नो केन्द्रीय नेतृत्वसित कुरा गरेर हाम्रो पार्टीसित केन्द्रीय स्तरमा नै कुरा गरेर सहमति कायम भएपछि उनीहरूको समर्थन गर्ने कुरा स्पष्ट गरेका थियौँ । तर हाम्रो त्यस प्रकारको जबाफको उनीहरूले कुनै सकारात्मक जबाफ दिएनन् र हामीले अन्यत्र कतै पनि आफ्ना उम्मेदवाररुलाई फिर्ता लिने काम गरेनौँ । त्यसरी स्पष्ट छ कि वाम गठबन्धन पक्षसित तालमेलको कुरा गर्दा हामीले आफ्ना उम्मेदवारहरूको पक्षमा समर्थन जुटाउने कुरामा लगातार जोड दिएका थियौँ । काठमाडौँका २ वटा सिटहरूमा केन्द्रको स्वीकृति बिना नै हाम्रा २ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
१५. यो प्रश्न पनि उठ्ने गरेको छ, वामपक्षसितभन्दा नेकासित तालमेल गरेको भए हामीलाई बढी फाइदा हुन्थ्यो । यसबारे मुख्य विचारणीय कुरा यो छ कि कुनै बेला कुनै पक्षसित कार्यगत एकता वा तालमेल गर्दा हामीले व्यावहारिक रूपमा तात्कालिक रूपमा प्राप्त हुने लाभ–हानीभन्दा बढी ध्यान राजनीतिक पक्षमाथि नै दिन्छौँ र दिनु पनि पर्दछ । राजाको कोदारी र पूर्व पश्चिम राजमार्गलाई समर्थन गर्दा, २०४६ साल वा २०६२–६३ सालमा नेकासित कार्यगत एकता गर्दा, २०६२–६३ मा मधेशवादीहरूसित समेतसित कार्यगत एकता गर्दा वा महाकाली सन्धिका विरुद्ध राप्रपासित कार्यगत एकता गर्दा समेत हाम्रा अगाडि राजनीतिक प्रश्नहरू नै मुख्य थिए । यदि राजनीतिक पक्षलाई गौण बनाएर तात्कालिक लाभ–हानीलाई नै मुख्य आधार बनाएर हामीले कसैसित कार्यगत एकता वा तालमेल गर्ने नीति अपनाएको भए हामीले पञ्चायती चुनावमा पनि भाग लिने थियौँ । माओवादी केन्द्र र नेकाको गठबन्धन सरकारमा पनि सामेल हुनका लागि प्रयत्न गर्ने थियौँ, जस्तो कि संसदमा एक सिट भएका अन्य कतिपय पक्षहरूले पनि गरेका थिए । शायद त्यसबाट व्यावहारिक रूपमा हामीलाई अपेक्षाकृत बढी लाभ हुन सक्दथ्यो । कतिपय अवस्थामा व्यावहारिक र स्थानीय वा कतिपय विकास कार्यहरूलाई लिएर पनि अन्य पक्षसित तालमेल गर्ने गरिन्छ । तर कुनै गम्भीर राजनीतिक प्रश्नहरू अगाडि आएका बेलामा तिनीहरूलाई उपेक्षा गरेर व्यावहारिक लाभमाथि मात्र ध्यान दिएर तालमेल गर्नु गलत र राजनीतिक दृष्टिले आत्मघाती पनि हुन्छ । चुनावको बेलामा सामान्यत जुन प्रकारको राजनीतिक स्थिति उत्पन्न भएको थियो, राजनीतिक धु्रवीकरण देखा परेको थियो र एमाले तथा माओवादीका बीचमा भएको गठबन्धनका कारणले देशमा वाम लहर देखा परेको थियो, विशेषतः नेका पक्षीय गठबन्धनको विजय भएमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा नै गम्भीर खतरा पुग्ने सम्भावना थियो, त्यो अवस्थामा नेकासित चुनावी तालमेल गरेर वाम पक्षधर शक्तिहरूको विरोध गर्नु गम्भीर गल्ती हुन्थ्यो । व्यावहारिक रूपले पनि नेकाको देशव्यापी रूपमा भएको पराजयमाथि विचार गर्दा त्यससित तालमेल गरेको भए चुनावमा हाम्रो उपलब्धी पनि नगण्य हुन्थ्यो । स्पष्ट छ– राजनीतिक र व्यावहारिक दुवै दृष्टिले वामपक्षसितको हाम्रो चुनावी तालमेलको नीति सही थियो ।
१६. स्थानीय चुनावमा नेकासित पनि तालमेल गर्ने नीति अपनाइएको थियो । प्रतिनिधि सभा र प्रदेश सभाका चुनावमा त्यो तालमेल गर्न किन गलत भयो ? स्थानीय चुनाव र पछिल्लो चुनावका बेलामा नेकाको चरित्रमा के अन्तर आयो र पहिले नेकासित अपनाएको कार्यगत एकताको नीतिपछि किन गलत भयो ? यो प्रश्न पनि उठ्ने गरेको छ । लेनिनले भने अनुसार कतिपय अवस्थामा २४ घण्टामा पनि कार्यनीतिमा परिवर्तन गर्नु पर्ने आवश्यकता हुन्छ । प्रतिनिधि र प्रदेश सभाका चुनावका बेलामा देशको राजनीतिमा एउटा महत्वपूर्ण धु्रवीकरण आएको थियो । एमालेले, एकातिर, दोस्रो संविधान संशोधन प्रस्तावका विरुद्ध अडान लिएर, कतिपय प्रश्नहरूमा भारतका विरुद्ध अडान लिएर तथा चीनसित व्यापार पारवहन सन्धि समेत गरेर सकारात्मक भूमिका खेलेको थियो । त्यो अवस्थामा माओवादी केन्द्रले एमालेसित गरेको गठबन्धन ती दुईवटा सङ्गठनहरूका बीचको एकता मात्र थिएन, त्यसले देशको राजनीतिमा अर्थ र महत्व राख्दथ्यो । माओवादी केन्द्र नेकासित अलग भएको थियो र एमालेसित त्यसको गठबन्धन बनेको थियो । त्यसले गर्दा देशमा एक प्रकारले वामपन्थी लहर उठेको थियो । अर्कातिर, नेकाको नेतृत्वमा राजावादी, मधेशवादी, पृथकतावादी र प्रतिक्रियावादी शक्तिहरू एकीकृत भएका थिए । त्यो गठबन्धनबाट गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा गम्भीर आँच पुग्ने वा नेपालप्रतिको भारतका विस्तारवादी नीतिहरूलाई बल पुग्ने सम्भावना थियो । देशमा, एकातिर, वाम पक्षधर शक्तिहरू र अर्कातिर, प्रतिक्रियावादी शक्तिहरूका बीचमा त्यस प्रकारको धु्रवीकरण भएको अवस्थामा नेका पक्षसित चुनावी तालमेलले दीर्घकालीन राजनीतिक रूपले नै हाम्रो पार्टीको राजनीतिक छविमा ठुलो आघात पुग्दथ्यो । ती सबै कुराहरूमाथि विचार गरेर नै हाम्रो पार्टीले नेकासित तालमेल गर्ने नीतिलाई दृढतापूर्वक अस्वीकार गर्‍यो र वाम पक्षधर गठबन्धनसित तालमेल गर्ने नीति अपनायो । अहिले वामपक्षसित तालमेल गरेकोमा पार्टीमा केही आलोचना गर्ने कार्य पनि भई रहेको छ । बताई रहनु पर्ने आवश्यकता छैन कि नेका पक्ष गठबन्धनसित तालमेल गरेको भए त्यसको विरोध कैयौँ गुणा बढी हुन्थ्यो । पहिले स्थानीय चुनावमा नेकासित तालमेलको नीति अपनाउँदा पार्टीभित्र त्यो तालमेलको पनि विरोध भएको थियो । अहिले नेकासित तालमेल गरेको भए त्यसको विरोध कैयौँ गुणा बढी हुने कुरा निश्चित थियो ।
१७. गत चुनावमा प्युठानको एउटा प्रतिनिधि सभाको सिट र बागलुङको प्रतिनिधि सभाका दुई वटा सिटहरू नै हामीले जित्ने सम्भावना भएका सिटहरू थिए । त्यहाँ हुने जित वा हारले देशव्यापी रूपमा नै असर पर्न सक्दथ्यो । त्यसैले त्यहाँ विजयलाई सुनिश्चित गर्न हामीले पुरै शक्ति लगाउनु पर्ने आवश्यकता थियो । पहिलेका सबै चुनावहरूमा पनि जित्ने बढी सम्भावना भएका निर्वाचन क्षेत्रहरूमा हामीले बढी शक्ति लगाउने गरेको इतिहास छ । त्यो अवस्थामा अहिले प्युठानमा बढी शक्ति लगाइएको भए पनि त्यो गलत हुँदैनथ्यो । अहिलेको प्युठानको चुनावमा पहिलेका संसद र संविधान सभाका चुनावहरू वा स्थानीय चुनावका बेलामाभन्दा पनि कम शक्ति लागेको थियो । काठमाडौँ वा प्रवासबाट आउने साथीहरूको सङ्ख्या पहिलेभन्दा धेरै नै कम थियो । प्युठानका राष्ट्रिय जनमोर्चाका उम्मेदवारका विरुद्ध सामाजिक सञ्जालमा आफ्नै साथीहरूद्वारा व्यापक रूपले प्रचार गरिएको थियो । शायद त्यसले गर्दा पनि प्युठानको चुनावमा प्रचारमा प्रवासबाट आउने साथीहरूको सङ्ख्या धेरै कम भयो । कुनै एक जना कार्यकर्ता चुनावको प्रचारका लागि प्युठान जाँदा पनि पुरै शक्ति त्यहाँ लाग्यो भनेर प्रचार गरिन्थ्यो । आफ्नै पार्टीको उम्मेदवारका विरुद्ध आफ्नै साथीहरूद्वारा यति धेरै विरोध भएको पार्टीको इतिहासमा अर्को कुनै उदाहरण छैन । उम्मेदवारको चयन गर्दा कतिपय साथीहरूको चित्त नबुझ्ने गरेका पहिलेका र अहिलेका पनि कैयौँ उदाहरणहरू छन्, तैपनि एकपल्ट उम्मेदवार चयन भएपछि पार्टीको सबै कार्यकर्ताहरू त्यसको पक्षमा इमान्दारितापूर्वक लाग्दछन् । तर अहिले प्युठानका उम्मेदवारबारे त्यो नियमलाई कार्यान्वयन गर्नेबारे केही कमजोरीहरू देखा परे । विरोधीहरूको कडा प्रतिस्पर्धा त छँदै थियो, त्यो बाहेक आफ्नै साथीहरूको विरोधका बीचमा चुनाव लड्नु परेको थियो । त्यसरी प्युठानमा अत्यन्त प्रतिकूल अवस्थामा नै चुनाव लडिएको थियो, तैपनि त्यहाँ करिब ४७ हजारको मतले विरोधी उम्मेदवारलेभन्दा करिब १६ हजार मतले राष्ट्रिय जनमोर्चाका उम्मेदवारको विजय भयो । त्यो सफलता यस कारणले प्राप्त भयो कि त्यसरी विरोध गर्ने वा सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्ने साथीहरूको सङ्ख्या एकदम कम थियो र त्यसका तुलनामा समर्थनमा उभिएका साथीहरू वा जनताको सङ्ख्या कैयौँ गुणा बढी थियो । प्युठान मात्र होइन, बागलुङ र देशका अन्य सिटहरूमा पनि आफ्ना उम्मेदवारहरूका पक्षमा पार्टीका सबै साथीहरू गोलबन्द भएर आफ्ना उम्मेदवारलाई जिताउन प्रयत्नशील भएका थिए ।

(ख)
पार्टी अनुशासनको मूल्याङ्कन
१. सिद्धान्त र राजनीतिक लाइन निर्धारण गरेपछि सही सङ्गठनात्मक लाइनले पार्टीका लागि निर्णयात्मक महत्व राख्दछ । पार्टीको सिद्धान्त र राजनीतिक लाइन अनुसार पार्टीको सङ्गठनात्मक प्रणालीलाई सही माक्र्सवादी–लेनिनवादी प्रणाली अनुसार सङ्गठित गर्न सधैँ प्रयत्न गर्नु पर्दछ । विश्व स्तरमा र नेपालमा पनि कम्युनिस्ट आन्दोलनमा पार्टीको सिद्धान्त र राजनीतिक लाइनलाई विभिन्न प्रकारले संशोधन गर्ने प्रयत्न गर्नुका साथै माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई पनि गलत दिशामा लैजान वा उदारवादी रूप दिन पनि बारम्बार प्रयत्न हुँदै आएका छन् । हाम्रो पार्टीको इतिहासमा पनि कैयौँपल्ट माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली बारम्बार कमजोर हुने वा अनुशासनविहीनता र अराजकताको स्थिति पैदा हुने गरेको छ । त्यस प्रकारको स्थितिको विरुद्ध सङ्घर्ष गरेर नै हाम्रो पार्टीले विकास गर्दै आएको छ । जब जब पार्टीमा त्यस प्रकारको स्थिति उत्पन्न हुन्छ, हामीले त्यसमा सुधार वा नियन्त्रणका लागि प्रयत्न गर्नु पर्दछ । सर्वप्रथम ता प्रशिक्षण र पार्टी सदस्यहरूको चेतनाको स्तर उठाएर हामीले त्यो समस्यालाई समाधान गर्ने प्रयत्न गर्नु पर्दछ । त्यसका लागि पार्टीले सधैँ प्रयत्न गर्दै आएको छ । पार्टी स्कुल वा अन्य विभिन्न स्तरका प्रशिक्षण कार्यक्रमद्वारा हामीले त्यो दिशामा प्रयत्न गर्दै आएका छौँ । कतिपय अवस्थामा आवश्यकता अनुसार अनुशासनको कारवाहीद्वारा पनि अनुशासन कायम गर्ने वा पार्टीको सङ्गठनात्मक प्रणालीलाई व्यवस्थित राख्ने प्रयत्न गर्नु पर्दछ । तर त्यो कार्य सजिलो छैन । एकातिर, कार्यकर्ताहरूको निम्न पूँजीवादी चरित्र र अर्कातिर, विश्व स्तरमा तथा हाम्रो देशको कम्युनिस्ट आन्दोलनमा पनि उदारवादी दृष्टिकोणहरूको प्रभाव बढ्दै गएकाले त्यो कार्य सजिलो छैन । हामीले आफ्नो यो कमजोरीलाई स्वीकार गर्नु पर्दछ कि गतकालमा अनुशासनको प्रश्नमा पार्टीको विधान र नियम अनुसार प्रभावशाली प्रकारले कारवाही गर्ने प्रश्नमा केही शिथिलता आउने वा उदारवादी दृष्टिकोण देखा पर्ने गरेको छ । त्यसले पनि अनुशासनविहीनतालाई प्रोत्साहित गर्नका लागि केही न केही मद्दत गर्ने गरेको छ । केन्द्रको नीतिमा देखा परेको त्यस प्रकारको कमजोरीमा पनि सुधार गर्नु पर्ने आवश्यकता छ । 
२. विश्वमा कम्युनिस्ट आन्दोलनमा पार्टीका क्रान्तिकारी सिद्धान्त र राजनीतिक लाइनमा चौतर्फी आक्रमण हुँदै आएको छ । त्यसै गरेर पार्टीको माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली, खास गरेर जनवादी केन्द्रीयतामाथि आधारित सङ्गठनात्मक प्रणालीलाई उदारवादी रूप दिने प्रयत्नहरू पनि निकै बढेर गएका हुन्छन् । वास्तवमा त्यो समस्या खालि व्यावहारिक रूपमा मात्र रहेको छैन, जनवादी केन्द्रीयता वा त्यसमाथि आधारित अनुशासनलाई सैद्धान्तिक रूपले नै गलत ठहराउने प्रयत्नहरू पनि बढ्दै गएका छन् । त्यस सन्दर्भमा २१ औँ शताब्दीको विकसित परिस्थितिमा अनुशासनका नियमहरूबारे पार्टी सदस्यहलाई छुट दिनु पर्दछ, लेनिनको जनवादी केन्द्रीयतामाथि आधारित अनुशासन पुरानो जमानाको कुरा भई सक्यो र नयाँ परिस्थितिसित मेल नखाने कुरा भई सक्यो भन्ने सोचाइ पनि देखा पर्न थालेका छन् । त्यसरी विश्वको र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा सिर्जनात्मक विकासको नाममा दक्षिणपन्थी संशोधनवादी विचार प्रवल बन्नुका साथै सङ्गठनात्मक प्रणालीमा पनि उदारवादी वा अनुशासनविहीन र अराजक प्रवृत्तिहरू बढेर गएका छन् । त्यो कम्युनिस्ट आन्दोलनको गम्भीर समस्या बनेको छ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सही र क्रान्तिकारी दिशामा अगाडि बढाउन हामीले त्यो समस्यालाई हल गर्नु नै पर्दछ । त्यसका लागि हामीले दुई दिशामा प्रयत्न गर्नु पर्ने आवश्यकता छ ः प्रथम, जनवादी केन्द्रीयता र अनुशासनसम्बन्धी गैर माक्र्सवादी–लेनिनवादी सोचाइहरूबारे सैद्धान्तिक रूपले पनि त्यो समस्यालाई समाधान गर्न ठोस पकलकदमी गर्नु पर्दछ । द्वितीय, सङ्गठनात्मक र व्यावहारिक रूपले पनि त्यो समस्यालाई समाधान गर्न अधिकतम प्रयत्न गर्नु पर्दछ ।
३. नयाँ जमाना अनुसार पार्टी सदस्यहरूलाई बढी छुट दिनु पर्दछ भन्नुको अर्थ हुन्छ ः पार्टी सदस्यहरूलाई बहुमत, उच्च समिति वा केन्द्रीय समितिका नीति र निर्णयहरूलाई अस्वीकार गर्ने, विरोध गर्ने र सार्वजनिक रूपमा नै भिन्न मत प्रकट गर्ने अधिकारलाई मान्यता दिनु । यो गैर माक्र्सवादी–लेनिनवादी सोचाइ र उदारवादी दृष्टिकोण हो । वास्तवमा यो जस्तो कि भनिन्छ, कथित नयाँ जमानाको सिर्जनात्मक विचार मात्र होइन, लेनिनले जनवादी केन्द्रीयतामाथि आधारित मिलिटेन्ट कम्युनिस्ट पार्टीको निर्माणको कार्य सुरु गरेको समयदेखि नै त्यो लेनिनवादी सिद्धान्तमाथि आक्रमण हुँदै आएको छ । रोजा लक्जमबर्गले नै लेनिनको त्यस प्रकारको पार्टीको निर्माणको विरोध गरेकी थिइन् । मेन्सेभिकहरूले पनि त्यस प्रकारको अनुशासित पार्टीको निर्माणको कडा विरोध गरेका थिए । अहिले विश्व क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर हुँदै जानुका साथै पार्टीको माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक पद्धति र अनुशासनको अतिक्रमण गर्ने प्रवृत्तिहरू पनि निकै बढेर गएका छन् । पूँजीवादी पार्टीहरूमा यो आम रूपमा प्रचलित कुरा हो । दक्षिणपन्थी संशोधनवादी पार्टीहरूमा पनि जनवादी केन्द्रीयता अव्यावहारिक भई सक्यो भन्ने सोचाइ र अनुशासनको खुला रूपले उल्लङ्घन गर्ने सोचाइहरू निकै देखा पर्न थालेका छन् । त्यो व्यक्तिवादी अराजकतावादी सोचाइ हो । तर त्यसलाई उनीहरूले जनवाद र व्यक्तिगत स्वतन्त्रताको उच्च रूप ठान्दछन् । त्यस प्रकारको सोचाइहरूको असर हाम्रो पार्टीमा पनि पर्न थालेको कुरालाई अस्वीकार गर्न सकिन्न । अब हाम्रा अगाडि यो गम्भीर चुनौती छ ः जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त र अनुशासनमाथि आधारित पार्टीको रक्षाका लागि सङ्गठित रूपले प्रयत्न गर्ने वा अहिले विश्वमा र नेपालमा पनि चलेको दक्षिणपन्थी संशोधनवादी वा उदारवादी हावा अनुसार लेनिनवादी सङ्गठनात्मक पद्धतिबाट पछाडि हट्दै जाने ? पछिल्लो सोचाइ निश्चित रूपले गलत हो र त्यो माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीका विरुद्ध छ । त्यसबाट पार्टीको सङ्गठनात्मक अवस्था र त्यसको राजनीतिक भूमिकामा गम्भीर दुष्परिणामहरू हुनेछन् । 
४. वुर्जुवा पार्टीहरूमा जनवादी केन्द्रीयता जस्तो कुनै कुरा हुँदैन । त्यहाँ, एकातिर, नेतृत्वले जनवाद जस्तो कुनै पद्धतिलाई मानेर काम गर्दैन । त्यहाँ नेतृत्वले नोकरशाही प्रकारले कार्य गर्दछ । नेकाको नेतृत्वको अहिलेको नोकरशाही कार्यप्रणालीलाई हेरेपछि पनि त्यो कुरा प्रष्ट हुने छ । अर्कातिर, पार्टी सदस्यहरूलाई पार्टीका स्वीकृत नीति र निर्णयहरूलाई खुला रूपले विरोध गर्ने, उल्लङ्घन गर्ने वा गुटहरू बनाएर काम गर्ने छुट हुन्छ । त्यस प्रकारको हामीले पनि अपनाउँदै गयौँ भने हाम्रो पार्टी पुरै नै वुर्जुवा पार्टी जस्तै हुने छ । अहिले हाम्रो पार्टीमा देखा परी रहेका अनुशासनविहीन र अराजकतावादी प्रवृत्तिहरूमाथि समयमा नै नियन्त्रण गरिएन भने हाम्रो पार्टी वुर्जुवा पार्टीमा परिणत हुने कुरामा कुनै शङ्का छैन । त्यो अवस्थामा पार्टीको सङ्गठनात्मक अवस्था र त्यसको राजनीतिक भूमिकामा गम्भीर दुष्परिणामहरू हुनेछन् । जनवादी केन्द्रीयता वा अनुशासनको पद्धतिलाई पूँजीवादीहरूले तानाशाही वा निरङ्कुश बताउने गरेका छन् । त्यस प्रकारको वुर्जुवा सोचाइहरूको असर कम्युनिस्ट पार्टीहरूमा पनि पर्दै गएको सम्भावनालाई हामीले अस्वीकार गर्न सक्दैनौँ । नेपालको नै कुरा गरौँ, यहाँका दक्षिणपन्थी संशोधनवादी सङ्गठनहरूमा जनवादी केन्द्रीयता वा अनुशासनका प्रश्नमा उदारवादी सोचाइ खुला रूपले नै देखा पर्न थालेका छन् । ती सङ्गठनहरूमा कैयौँ बेग्लाबेग्लै गुटहरू हुन्छन् । केन्द्रका नीतिलाई नमान्ने, विरोध गर्ने वा अस्वीकार गर्ने कार्य बढ्दै गएको छ । एउटा गुटका विरुद्ध अर्को गुटले खुला रूपले प्रचार गरी रहेको हुन्छ वा पार्टीभित्र अनियन्त्रित प्रकारले गुटबन्दी गरी रहेको हुन्छन् । त्यस प्रकारको अन्तर्राष्ट्रिय र राष्ट्रिय स्थितिमा पार्टीभित्र जनवादी केन्द्रीयताका आधारमा पार्टी अनुशासन कायम गर्ने कार्य पनि धेरै कठिन हुँदै गएको छ । केन्द्रीय समिति, उच्च समिति वा बहुमतका नीति निर्णय वा निर्देशनहरूलाई मानेर काम गर्नुलाई नोकरशाही वा ‘निरङ्कुशता’ ठान्ने सोचाइहरू पनि देखा पर्न थालेका छन् । यस प्रकारको सोचाइहरूलाई हामीले गम्भीर रूपमा लिनु पर्दछ । तिनीबाट पार्टी अनुशासन र एकतालाई बचाउन पुरा प्रयत्न गर्नु पर्दछ ।
५. जनवादी केन्द्रीयताको एउटा आधारभूत सिद्धान्त यो हो कि केन्द्रीय समिति, उच्च समिति वा बहुमतका निर्णयहरूलाई पार्टी समिति वा सदस्यहरूले कडाइपूर्वक पालन गरिनु पर्दछ । कामको दौरानमा तिनीहरूको कुनै विरोध वा उल्लङ्घन गरिनु हुँदैन वा आफ्नो मतभेदहरूलाई पार्टी बाहिर, तल्ला समिति वा असम्बन्धित पार्टी सदस्यहरूकहाँ लग्नु हुँदैन । पार्टीमा जुन जुन बेला ती मान्यताहरूको उल्लङ्घन गरिने गरिएको छ, पार्टीमा व्यापक गुटबन्दीको स्थिति उत्पन्न हुने गरेको छ । त्यस प्रकारको स्थितिमा नै तेस्रो महाधिवेशनपछि पार्टी कैयौँ टुक्राहरूमा बाँडिएको थियो भने पाँचौँ महाधिवेशनपछि पार्टी विभाजित भएको थियो । जब पार्टीमा अनुशासनविहीनता र अराजकताको स्थिति उत्पन्न हुन्छ, पार्टीले प्रभावशाली प्रकारले राजनीतिक भूमिका खेल्न पनि सक्दैन । त्यसका राजनीतिक र सङ्गठनात्मक रूपले गम्भीर दुष्परिणामहरू हुने गर्दछन् ।
६. पार्टी सदस्यहरूले छलफलका दौरानमा सम्बन्धित समितिमा स्वतन्त्रतापूर्वक विचारहरू प्रकट गर्ने अधिकार हुन्छ । मतभेद भएका विषयहरूमा सम्बन्धित उच्च समिति, पार्टी भेला, सम्मेलन वा महाधिवेशनमा पनि उठाउने अधिकार हुन्छ । तर एकपल्ट निर्णय भई सकेपछि कामको दौरानमा बिना हिचकिचाहट, इमान्दारितापूर्वक वा एकताबद्ध भएर पार्टीका नीति र निर्देशनहरूलाई कार्यान्वयन गरिनु पर्दछ । लेनिनले त्यस प्रकारको प्रणालीलाई ‘छलफलमा स्वतन्त्रता र काममा एकता’ बताएका छन् । छलफलको स्वतन्त्रतालाई कुण्ठित गर्नु नोकरशाही प्रवृत्ति हो भने एकतर्फी रूपमा स्वतन्त्रतामा मात्र जोड दिने सोचाइ अराजकतावादी सोचाइ हो । अराजकतावादी सोचाइले लेनिनको सिद्धान्तको एउटा पक्ष, छलफलमा स्वतन्त्रतालाई मात्र समात्दछ र कामका दौरानमा पनि त्यसलाई नै अनियन्त्रित रूपले प्रयोग गर्ने कुरामा विश्वास राख्दछ । त्यस प्रकारको प्रवृत्तिहरू हाम्रो पार्टीमा पनि केही न केही देखा पर्न थालेका छन् । कतिपय अवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले त्यस प्रकारको सोचाइलाई सैद्धान्तिक रूपले नै सही ठहराउने प्रयत्न पनि गरिन्छ । हाम्रो पार्टीले छलफलको स्वतन्त्रतालाई लागु गर्ने कार्यमा पुरा ध्यान दिने गरेको छ । पार्टी पी.बी., केन्द्रीय समिति वा भेलाहरूमा पनि छलफलको स्वतन्त्रतालाई कहिल्यै पनि नियन्त्रण गर्ने गरिन्न । पार्टी सदस्यहरूलाई आफ्नो सम्बन्धित समितिमा छलफल गर्ने, मतभेदहरूलाई उच्च समितिहरूमा पठाउने अधिकारमा कहिल्यै पनि नियन्त्रण गर्ने गरिएको छैन । जनवादलाई नियन्त्रण गर्ने प्रणाली अपनाउने गरिएको छैन । त्यसरी जनवादको पक्ष हाम्रो पार्टीमा उच्च रूपमा रहने गरेको छ । तर त्यसका साथै केन्द्रीयता, अनुशासन वा कामका दौरानमा एकता कायम गर्ने प्रश्नमा कैयौँ कमजोरीहरू देखा पर्ने गरेको कुरा एउटा वास्तविकता हो । आफू सहमत भएका विषयहरूमा काम गर्ने, नत्र विरोध गर्ने । यो व्यक्तिवाद हो । त्यसको वैचारिक स्रोत अराजकतावाद हो । त्यस प्रकारको प्रवृत्ति हाम्रो पार्टीमा पनि बारम्बार देखा पर्ने गरेको छ । अहिले पनि विभिन्न रूप र मात्रामा त्यस प्रकारका प्रवृत्तिहरू देखा पर्ने गरेका छन् । पार्टीमा गतकालमा जस्तै गम्भीर र चरम रूपमा नभए पनि सामान्य रूपमा त्यस प्रकारका प्रवृत्तिहरू निकै देखा पर्ने गरेका छन् र त्यसबाट पार्टीको एकता र अनुशासनमा गम्भीर समस्याहरू देखा पर्ने गरेका छन् । कतिपय अवस्थामा केन्द्रीय समिति, उच्च समिति वा बहुमतका नीति वा निर्णयहरूलाई पालना गर्न जोड दिने वा त्यो क्रममा देखा पर्ने अनुशासनविहीनता नियन्त्रण गर्न चाहने कार्यलाई ‘निरङ्कुश’ भनेर आलोचना पनि गरिएको पाइन्छ । त्यो स्पष्ट रूपले गलत दृष्टिकोण हो ।
७. पार्टीमा देखा परेको अनुशासनविहीनताका सन्दर्भमा पार्टी नेतृत्वको नीति गलत भएकाले नै पार्टीमा अनुशासनविहीनता देखा परेको हो भन्ने पनि गरिन्छ । पार्टीको कुनै नीति वा भूमिका गलत भएमा त्यसको विरोध गर्नु पर्दछ । तर त्यो कुरा उठाएर अनुशासनविहीनतालाई ढाकछोप गर्ने कार्य सही होइन । कुनै पार्टी सदस्य वा समितिलाई महामन्त्री, पी.बी. वा केन्द्रीय समितिका कुनै सदस्य वा पुरै केन्द्रीय समितिका पनि कुनै नीति वा कारवाही गलत लागेमा तिनीहरूबारे उजुरी गर्ने स्वतन्त्रता हुन्छ । उक्त प्रश्नहरूबारे पी.बी., केन्द्रीय समिति, कुनै भेला, सम्मेलन वा महाधिवेशनमा छलफल हुन र निर्णय हुन सक्दछ । महामन्त्री, पी.बी. कुनै सदस्यहरूबारे त्यस प्रकारको कुनै आरोप सही ठहराएमा उनीहरूको आलोचना गर्ने, नेतृत्वबाट हटाउने वा निष्कासन पनि गर्न सकिन्छ । गतकालमा कैयौँपल्ट त्यस्तो हुने पनि गरेको छ । तर कसैलाई पार्टी नेतृत्वका नीति वा कारवाहीहरू व्यक्तिगत रूपमा गलत लाग्दैमा वा केन्द्रीय समितिका कुनै सदस्यको काम कारवाही चित्त नबुझेकाले पार्टीको अनुशासन मान्नु पर्दैन र जुनसुकै प्रकारले पनि अनुशासनको उल्लङ्घन गर्ने छुट हुन्छ भनेर सोच्नु सही होइन । औपचारिक रूपले पार्टीको कुनै नीति गलत भएको भनेर निर्णय नहुँदासम्म पार्टीको कुनै नीति वा निर्णयलाई गलत बताउनु वा त्यसको असम्बन्धित पार्टी समिति र सदस्यहरूमा वा सार्वजनिक रूपमा पनि टिकाटिप्पणी गर्नु सही हुँदैन ।
८. हालै सम्पन्न चुनावमा पार्टी केन्द्रको चुनावसम्बन्धी नीति, चुनावी तालमेल, कतिपय उम्मेदवारबारे पनि असम्बन्धित स्थानहरूमा वा सार्वजनिक रूपमा पनि आलोचना गर्ने प्रवृत्तिहरू पनि केही न केही देखा परेका छन् । खास गरेर सामाजिक सञ्जालहरूमा त्यस्तो कुरा बढी भएको छ । त्यस प्रकारका कार्यहरूबाट चुनावमा पनि केही असर पर्‍यो । त्यसले चुनावमा पार्टीका कार्यकर्ता वा समर्थकहरूको सक्रियता, एकता वा उत्साहमा केही प्रतिकूल असर पर्‍यो । भारतबाट धेरै साथीहरूमा चुनावमा नआउनुका पछाडि त्यो पनि एउटा मुख्य कारण थियो भनेर स्वयं भारतमा हालै सम्पन्न एकता समाजको एउटा बैठकमा रिपोर्टिङ भएको थियो । पार्टीको चुनावसम्बन्धी कतिपय नीति, उम्मेदवार वा निर्णयहरूमा मतभिन्नता भए पनि अनुशासित र एकताबद्ध भएर त्यसलाई सफल पार्न लाग्नु पर्दथ्यो । समग्र रूपमा भन्ने हो भने त्यसरी अनुशासित र एकताबद्ध भएर चुनावको प्रचार गर्ने काम देसव्यापी रूपमा नै भएको छ । तर कतिपय स्थानहरूमा वा कतिपय व्यक्तिद्वारा चुनावका बेलामा नै पार्टीको चुनावसम्बन्धी नीति, तालमेल वा उम्मेदवारको विरोध गर्ने काम पनि गरियो । त्यसबारे दुस्परिणाम पनि हुने गर्‍यो । एक ठाउँमा कुनै असन्तोष देखा परे त्यसले देशव्यापी र अन्तर्राष्ट्रिय रूप पनि लिने गर्‍यो । त्यस प्रकारको कार्यपद्धति पार्टीको अनुशासनसित मेल नखाने कुरा हुन् । त्यसका साथै त्यो गम्भीर चिन्ताको विषय पनि हो । पार्टीको कुनै नीति वा निर्णयमा चित्त नबुझ्ने बित्तिकै पार्टीका कुनै समिति वा सदस्यले त्यसको विरोध गर्दै जाने सिलसिला बढ्दै जाने हो भने त्यसले पार्टीको अनुशासन र एकतामा गम्भीर आघात पुर्‍याउने छ । त्यस प्रकारका गतिविधिलाई रोक्न पार्टीले पुरा ध्यान दिनु पर्ने आवश्यकता छ ।
९. अहिलेको चुनाव मात्र होइन, पार्टीका अन्य कैयौँ नीतिहरूबारे पनि पार्टीमा मतभिन्नता रहने गरेको लामो इतिहास छ । २०२८ सालमा केन्द्रीय न्युक्लसको गठन गरेपछि राजनीतिक स्वतन्त्रता, राजबन्दीहरूको रिहाइ, पार्टीमाथिको प्रतिबन्ध हटाउने आदिबारे हाम्रो पार्टीले लिएका नीति वा कतिपय आन्दोलनहरूलाई ‘कानुनी’ माक्र्सवाद भनेर विरोध गर्ने गरिएको थियो । हामीले निरङ्कुश राजतन्त्र वा पञ्चायती तानाशाही व्यवस्थाको विरोध गर्दा नेका वा भारतीय विस्तारवादबाट राष्ट्रियतामा खतरा पुगेकाले राजालाई समर्थन गर्नु पर्दछ भन्ने सोचाइहरू पनि हाम्रो पार्टीमा देखा नपरेका होइनन् । हामीले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनलाई समर्थन गर्दा चीनले पाकिस्तानको तानाशाह याहखाँलाई समर्थन गरेकाले र बङ्गलादेशको स्वतन्त्रता आन्दोलन पाकिस्तानका विरुद्ध भएकाले त्यसको (बङ्गलादेश) को आन्दोलनको विरोध गर्नु पर्दछ भन्ने सोचाइहरू पनि जोडदार किसिमले आएका थिए र त्यस प्रकारका सोचाइहरूसित हाम्रो तीव्र मतभेद थियो । किसान सङ्घर्ष, जनवर्गीय सङ्गठनहरूको सङ्गठन र उनीहरूमा मागहरूका लागि चल्ने सङ्घर्षहरूलाई संशोधनवादी भनेर विरोध गर्ने विचारहरूका विरुद्ध पनि हामीले सङ्घर्ष गर्नु परेको थियो । जनमत सङ्ग्रहका बेलामा हामीले निर्दलीय व्यवस्थाका विरुद्ध बहुदलीय व्यवस्थालाई समर्थन गरेका थियौँ । तात्कालीन मालेले बहुदल र निर्दल दुवै एकै हुन् भनेर त्यो चुनावको बहिष्कार गरेको थियो । त्यसको असर हाम्रो पार्टीमा पनि परेको थियो र बहुदललाई समर्थन गर्ने हाम्रो नीतिसित पनि कतिपय मतभेदहरू देखा परेका थिए । २०४६ सालको आन्दोलनलाई नेकाले आह्वान गरेकाले र भारतीय विस्तारवादले पनि समर्थन गरेकाले त्यसको विरोध गर्नु पर्दछ भनेर हाम्रो पार्टीमा चर्को बहस भएको थियो । हामीले नेकासित मिलेर मन्त्री बन्न वा सत्ता र भत्ताको लोभले त्यो आन्दोलनलाई समर्थन गरेको भनेर हामीमाथि थुप्रै आरोपहरू लागेका थिए । हाम्रो पार्टीले संविधान सभाको माग गर्दा माओवादीले त्यसलाई दक्षिणपन्थी संशोधनवादी माग भनेर देशव्यापी रूपमा अभियान चलाइएको थियो । त्यो सोचाइले हाम्रो पार्टीभित्र पनि केही न केही असर परेको थियो । हाम्रो पार्टीले चुनावको बहिष्कार गर्दा त्यसमा भाग लिनु पर्दछ र उपयोग गर्दा बहिष्कार गर्नु पर्दछ भनेर मत राख्ने साथीहरू पनि थिए । यस प्रकारका उदाहरणको ठुलो सूची छ । त्यस प्रकारका उदाहरणले के बताउँछन् भने पार्टीले इतिहासका बेग्लाबेग्लै कालखण्डमा अपनाएका विभिन्न नीतिहरूबारे पार्टीमा कैयौँ मतभेदहरू थिए । पार्टीमा केन्द्रीय समिति, भेला वा महाधिवेशनमा पनि कुनै न कुनै रूपमा सधैँ मतभेदहरू रहने गरेका छन् । जुन बेला पार्टीमा कुनै मतभेदहरू हुन्छ, मतभेद राख्ने वा चित्त नबुझ्ने सबै पार्टी समिति वा सदस्यहरूले पार्टीका कार्यक्रमहरूलाई विरोध गर्ने वा सार्वजनिक रूपमा पनि आलोचना गर्ने प्रणाली अपनाइएको भए पार्टीको अवस्था कस्तो हुन्थ्यो होला ? त्यो अवस्थामा पार्टीले कहिल्यै पनि प्रभावशाली प्रकारले कुनै राजनीतिक भूमिका खेल्न सक्ने थिएन । तर गतकालमा केही खास कालखण्डहरूमा बाहेक आम रूपमा त्यस प्रकारको तरिका अर्थात् मतभेद भएमा पार्टीका नीति वा कार्यहरूको विरोध गर्ने तरिका अपनाइएन र मतभिन्नताका बाबजुद पार्टीले पारित गरेका नीति वा निर्णयहरूलाई सबै पार्टी समिति वा सदस्यहरूद्वारा कार्यान्वयन गर्ने गरिएको थियो । चुनावको बहिष्कार गर्दा उपयोग गर्नु पर्दछ भन्ने साथीहरूले विरोध गर्ने चुनावको उपयोगिताको नीति अपनाउँदा बहिष्कारको पक्षपातीहरूले विरोध गर्दै गएको भए पार्टी अनुशासन र एकताको अवस्था के हुन्थ्यो ? त्यो अवस्थामा के कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी रहन सक्दथ्यो ? त्यही कुरा अहिलेको चुनावका सन्दर्भमा पनि सत्य हो । माथिका विभिन्न ऐतिहासिक कालका अनुभवहरूको प्रकाशमा नै चुनावका बेलामा मतभेद भएकाले, चुनावसम्बन्धी पार्टीका विभिन्न नीति निर्णय वा निर्देशनहरूसित मतभेद भएकाले वा चित्त नबुझेकाले चुनावमा असहयोग गर्ने, विरोध गर्ने वा सार्वजनिक रूपले नै टिकाटिप्पणी गर्ने कार्यहरू कति सही हुन् ? त्यो कुरालाई बुझ्ने प्रयत्न गर्नु पर्दछ ।
१०. पार्टीभित्रको अनुशासनको प्रणालीलाई अहिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव र प्रादेशिक समानुपातिकको बन्दसूचीका केही उम्मेदवारका सन्दर्भमा कतिपय स्थानहरूमा खुला प्रकारले विरोध गर्ने वा सार्वजनिक रूपले नै टिकाटिप्पणी गर्ने कार्य गरियो । हामीले गम्भीरतापूर्वक विचार गर्नु पर्ने आवश्यकता छ ः गतकालमा आफ्ना मतभिन्नताका बाबजुद पार्टीका नीति र कार्यक्रमलाई एकताबद्ध भएर सफल पार्ने प्रणालीलाई कायम राख्ने प्रणाली सही हो वा चित्त नबुझेका विषयमा पार्टीका नीति र निर्णयहरूलाई विरोध र खुला प्रकारले आलोपालो गर्ने पद्धति सही हो ? पार्टीले अहिले जुन नीति अपनाएको छ, त्यसलाई भोलि पार्टीले गलत ठहराउन वा परिवर्तन गर्न सक्दछ । त्यस प्रकारका परिवर्तनहरूसित कैयौँ समिति वा सदस्यहरूको मतभेदहरू हुन सक्दछ । यदि कुनै विषयमा चित्त नबुझेका नीतिहरूको खुला र अनुशासनविहीन तरिकाले विरोध गर्न पाउने पद्धति अपनाउने हो भने त्यसको परिणामस्वरूप पार्टीभित्रको वातावरण वा अनुशासनको स्थिति कस्तो होला ? पार्टीमा विभिन्न नीतिहरू निर्धारित गर्दा मतभेद हुने र कुनै नीतिमा परिवर्तन गर्दा पनि त्यसबारे मतभेद हुने सिलसिला सधैँ चल्दै आएको छ र आउने दिनहरूमा पनि चली रहने छ । तर कुनै विषयमा चित्त नबुझ्दैमा वा मतभेद हुँदैमा पार्टीका कामहरूमा असहयोग गर्ने वा विरोध गर्ने कार्यहरूलाई छुट दिइयो भने पार्टीमा अनुशासन भन्ने कुनै चिज बाँकी रहने छैन । अहिले त्यस प्रकारका प्रवृत्तिहरू केही व्यक्तिहरूसम्म सीमित छ । तर त्यस प्रकारका प्रवृत्तिहरू बढ्दै र फैलिदै गए भने पार्टीको सङ्गठन र राजनीतिमा पनि त्यसको परिणाम अत्यन्त घातक हुने कुरा प्रष्ट छ । त्यसरी कुरा अहिलेको चुनावसित मात्र सम्बन्धित नभएर सम्पूर्ण सङ्गठन प्रणालीसित सम्बन्धित छ । मतभेद भएका वा चित्त नबुझेका विषयहरूमा आफ्नो मतभिन्नता र विरोध गर्ने अधिकारलाई हाम्रो पार्टीको विधानले स्वीकार गरेको छ । तर त्यस प्रकारको विरोध पार्टीको विधान र नियम अन्तर्गत रहेर नै गर्नु पर्छ । पार्टीमा अनुशासनविहीनता र अराजकतालाई प्रोत्साहन दिइयो वा संरक्षण गरियो भने स्पष्ट छ– पार्टीले कुनै पनि नीति वा कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउन सक्ने छैन । त्यस कारण पार्टीमा त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन हामीले सधैँ प्रयत्न गर्नु पर्दछ । समयमा त्यस प्रकारका प्रवृत्तिहरूलाई सुधार्न वा नियन्त्रण गर्न सकिएन भने त्यस प्रकारको प्रवृत्ति नै पार्टीमा हावी हुन्छ ।
११. चुनावका बेलामा सामाजिक सञ्जालहरूमा पार्टीको चुनावसम्बन्धी नीति, तालमेल, प्रतिनिधि सभाका वा प्रदेश सभाका समानुपातिकतर्फका कतिपय उम्मेदवारहरूको सार्वजनिक रूपमा नै विरोध गर्ने वा व्यक्तिगत चरित्र हत्या पनि गर्ने कार्यहरूसम्म गरिए । वुर्जुवा पार्टीहरूमा पनि पार्टीले खडा गरेका कुनै उम्मेदवारको विरोध गरियो भने त्यसलाई गम्भीर अपराधका रूपमा लिइन्छ र त्यसका लागि कडा अनुशासनको कारवाही गरिन्छ । कम्युनिस्ट पार्टी जस्तो अनुशासित पार्टीमा त्यस प्रकारका विरोधका कार्यहरू अत्यन्त गलत भएको कुरा स्वतःसिद्ध छ । सामाजिक सञ्जालहरूमा क्षेत्रीयतावादका सोचाइहरू पनि देखा परे । जस्तो कि पहिले भनियो– बागलुङ र प्युठानमध्ये प्रतिनिधि सभाको एउटा मात्र सिटमा सहमति हुने स्थिति उत्पन्न भएपछि २ वटा जिल्लाहरूमध्ये एउटा जिल्लामा मात्र प्रतिनिधि सभाको सिटलाई छाडेर एउटा मात्र लिनु पर्ने कुराको विकल्प थिएन । त्यो अवस्थामा कुनै एउटा जिल्लामा प्रतिनिधि सभाको उम्मेदवार नभएकाले जिल्लागत आधारमा अर्को जिल्लाको उम्मेदवारको विरोध गर्नु वैमनस्यता पैदा गर्नु क्षेत्रीयतावाद हो । मानिलिऊँ, बागलुङबाट का. चित्र बहादुर केसीले उम्मेदवार हुन स्वीकार गरेको भए प्युठानको प्रतिनिधि सभाको उम्मेदवार हटाउनु पर्दथ्यो । त्यो अवस्थामा प्युठानको अवमूल्यन गरियो भनेर जिल्लागत आधारमा बागलुङको उम्मेदवारको विरोध गर्नु क्षेत्रीयतावाद नै हुन्थ्यो ।
१२. क्षेत्रीयतावाद अत्यन्त पिछडिएको र अराजनीतिक सोचाइ हो र हाम्रो पार्टीमा त्यस प्रकारको सोचाइ कहिल्यै देखा पर्ने गरेको छैन । तर अहिले त्यस प्रकारको सोचाइ अत्यन्त भद्दा र विकृत रूपमा देखा पर्‍यो । खास गरेर सामाजिक सञ्जालमा प्युठानमा हाम्रो पार्टीका समर्थक उम्मेदवारका विरुद्ध त्यस प्रकारको सोचाइ अत्यन्त भद्दा रूपमा अगाडि आयो । प्युठान वा कुनै जिल्लामा को उम्मेदवार छ भन्ने कुरा मुख्य होइन । मुख्य कुरा पार्टीको जो उम्मेदवार भए पनि वा जतिसुकै चित्त नबुझेको भए पनि क्षेत्रीय आधारमा कुनै उम्मेदवारको विरोध गर्नु सही होइन । ४ नंं प्रदेशमा समानुपातिकतर्फकी एकजना महिला उम्मेदवारका विरुद्ध पनि त्यस प्रकारले विरोध गर्ने वा चरित्र हत्या गर्ने काम गरिएको थियो । यी सबै अत्यन्त निम्न राजनीतिक प्रकारका कार्यहरू हुन् । तर यहाँ यो स्पष्ट हुनुपर्दछ कि पार्टीका कुनै जिम्मेवार नेता वा कार्यकर्ताहरूद्वारा सामाजिक सञ्जालमा पार्टीका नीति वा उम्मेदवारका विरुद्ध सार्वजनिक रूपमा नै अभिव्यक्ति दिने काम गरिएको थिएन र एकाध व्यक्तिहरूद्वारा नै त्यस प्रकारका कार्यहरू गरिएका थिए, तैपनि सामाजिक सञ्जालहरूको देशव्यापी संयन्त्रका कारणले एकाध व्यक्तिहरूद्वारा गरिएको त्यस प्रकारको प्रचारले पनि व्यापक रूप लियो र चुनावमा त्यसको निकै नै असर पर्‍यो । सामाजिक सञ्जालमा पार्टी सदस्यहरूको त्यस प्रकारको गतिविधिलाई रोक्न सबै पार्टी सदस्यहरूले ध्यान दिनु पर्ने आवश्यकता छ ।
१३. अनुशासनसित जोडिएको एउटा अर्को पक्षतिर पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । अधिकतर अवस्थामा पार्टीभित्र अनुशासनविहीनता नीतिगत रूपमा नै देखा पर्दछ, जस्तै कि पार्टीका कुनै नीतिसित मतभेद भए, चित्त नबुझेर वा आफ्नो निम्न पूँजीवादी चरित्रका कारणले जनवादी केन्द्रीयता अनुशासनमा बस्न नसकेर पनि । तर कतिपय अवस्थामा त्यस प्रकारका प्रवृत्तिहरू व्यक्तिगत असन्तोष वा अन्तर्विरोधका कारणले पनि उत्पन्न हुने गर्दछन् । व्यक्तिगत रूपमा देखा पर्ने त्यस प्रकारका प्रवृत्तिहरू कुनै नीतिको विरोधका रूपमा अगाडि आए पनि मूल रूपमा तिनीहरू व्यक्तिगत प्रकारका असन्तोष वा अन्तर्विरोधहरूका नै परिणामहरू हुन्छन् । व्यक्तिगत असन्तोष वा त्यस प्रकारको अन्तर्विरोध मूल रूपमा व्यक्ति केन्द्रित हुन्छ । कुनै व्यक्तिप्रति त्यस प्रकारको विरोध भएमा उसका जुनसुकै नीति वा कार्यहरूको पनि विरोध गर्ने गरिन्छ । त्यहाँ नीतिको प्रश्न गौण हुन्छ । कतिपय अवस्थामा बदला वा प्रतिशोधका कारणले पनि विरोध गर्ने गरिन्छ । पार्टीमा देखा पर्ने कतिपय अनुशासनविहीनताका विरुद्ध आवश्यकता अनुसार आलोचना गर्नु वा कारवाही गर्नु पर्ने आवश्यकता हुन्छ । कतिपय अवस्थामा त्यस प्रकारको कारवाहीप्रति प्रतिशोध वा बदलाको भावनाले पनि व्यक्तिगत विरोधका प्रवृत्तिहरू देखा पर्ने गर्दछन् । कतिपय अवस्थामा कुनै समिति वा कुनै पदमा निर्वाचित नभएकाले, कुनै चुनावमा उम्मेदवार बन्न नपाएकाले, कुनै प्रतिनिधि मण्डलमा सामेल हुन नपाएकाले त्यही प्रकारका अन्य व्यक्तिगत कारणले पनि त्यस प्रकारका असन्तोष वा अन्तर्विरोधहरू पैदा हुने गर्दछन् । पार्टी सदस्यहरूको सैद्धान्तिक स्तरलाई उठाएर पनि हामीले त्यस प्रकारको असन्तोष, अन्तर्विरोध वा ती कारणले पैदा हुने अनुशासनविहीनतालाई समाधान गर्ने प्रयत्न गर्नु पर्दछ । निश्चय नै कतिपय अवस्थामा अनुशासनको कारवाही गर्नु पर्ने आवश्यकतालाई पनि अस्वीकार गर्न सकिदैन । 
१४. हामीले चुनावको जुन नीति अपनायौँ वा उम्मेदवारको चयनका लागि जुन नीति अपनायौँ, त्यो पार्टीको स्वीकृत नीति र पार्टीको सङ्गठनात्मक पद्धति अनुसार नै छ । अहिलेको स्थितिमा हाम्रो पार्टीले जनआन्दोलनलाई सङ्घर्षको प्रधान रूप ठेगान गरेको छ र त्यस अन्तर्गत चुनावमा भाग लिने नीति निश्चित गरेको छ । बेग्लाबेग्लै परिस्थितिमा पार्टीले चुनावको उपयोग वा बहिष्कार गर्ने नीति अपनाउँछ र अहिले पार्टीले उपयोग गर्ने नीति अपनाएको छ । पार्टीको त्यही स्वीकृत नीति अनुसार नै हामीले चुनावमा भाग लिएका छौँ । 
१५. उम्मेदवारको चयनमा पार्टीले जुन पद्धति अपनाएको छ, त्यो पनि पार्टीको सङ्गठनात्मक पद्धति अनुसार र पहिलेदेखि अपनाउँदै आएको प्रणाली अनुरूप नै छ । पार्टीले प्रतिनिधि सभा वा प्रदेश सभाका लागि तलबाट ३÷३ जनाको नाम माग्दछ । त्यसरी आएका नामबाट पार्टीको संसदीय बोर्डले एउटा नाम टुङ्गाउँछ । त्यसरी नै प्युठान, बागलुङ वा देशभरका अन्य स्थानहरूमा पनि प्रतिनिधि सभा, प्रादेशिक सभा वा समानुपातिक उम्मेदवारहरू चुनिएका थिए, यद्यपि यो कुरा बेग्लै हो कि कतिपय अवस्थामा तलबाट आएका सुझावभन्दा बेग्लै र बाहिरबाट पनि पार्टीले उम्मेदवार ठेगान गर्न सक्दछ । संसदीय बोर्डले ठेगान गरेका नामलाई केन्द्रीय समितिले अनुमोदन गरेको थियो ।पछि पार्टीका विभिन्न तहका सुझाव, पार्टी केन्द्रमा चल्ने छलफल वा अन्य पक्षहरूसितको समझदारी अनुसार कैयौँ उम्मेदवारहरू फिर्ता लिने वा उम्मेदवार बदल्ने काम पनि गरियो । पार्टीमा त्यस प्रकारको फेरबदल गर्ने अधिकार केन्द्रीय समिति, संसदीय बोर्डको बैठक नबसकेको बेलामा केन्द्रीय कार्यालय वा खास अवस्थामा महामन्त्रीलाई पनि हुन्छ । त्यसरी दर्जनौ ठाउँहरूमा त्यसरी उम्मेदवारहरूको फेरबदल गर्ने काम गरिएको छ । त्यो अहिले अपनाइएको नयाँ पद्धति होइन । पहिलेका सबै चुनावहरूमा त्यस प्रकारको पद्धति अपनाउने गरिएको थियो र अहिले पनि त्यो प्रणालीलाई अपनाइएको थियो ।
१६. बागलुङ र प्युठानमा प्रतिनिधि सभाका उम्मेदवारका सन्दर्भमा दुवैमध्ये एक ठाउँको उम्मेदवार छाड्नु पर्ने स्थिति उत्पन्न भएपछि पार्टीको पद्धति अनुसार नै त्यसबारे पनि निर्णय गरिएको थियो । बागलुङका जिल्ला समितिका प्रमुख साथीहरूको सल्लाह, वार्ता टोलीका संयोजक र ४ नं. प्रदेशका इन्चार्ज समेतको उपस्थितिमा केन्द्रीय समितिद्वारा नै बागलुङका प्रदेश सभाका दुई वटा सिटहरू र प्युठानमा प्रतिनिधि सभाको एक सिट लिने सर्वसम्मत निर्णय गरिएको थियो । अर्घाखाँचीमा त्यहाँका माआवादीका केन्द्रीय नेतासित पहिले भएको समझदारी अनुसार नै त्यहाँको प्रतिनिधि सभाको चुनावमा उनलाई समर्थन गर्ने र हाम्रो उम्मेदवारलाई फिर्ता गर्ने कार्य गरिएको थियो ।पछि त्यहाँको हाम्रो पार्टीको जिल्ला समिति तथा एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरूका बीचमा भएको लिखित सहमति अनुसार प्रदेश सभाका दुई वटा सिटहरूमा एमाले र माओवादीहरूका उम्मेदवारहरूलाई समर्थन गर्ने कार्य गरिएको थियो । केन्द्रीय कार्यालयको निर्णय अनुसार नै गुल्मीमा एमालेका र डडेलधुरामा माओवादी केन्द्रका उम्मेदरवारलाई समर्थन गरिएको थियो । त्यो बाहेक पार्टीका आफ्नै उम्मेदवार प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारहरूलाई पनि कैयौँपल्ट परिवर्तन गरिएको थियो । अन्य करिब एक दर्जन निर्वाचन क्षेत्रहरूमा एमाले वा माओवादीका उम्मेदवारहरूले समर्थनका लागि अनुरोध गरेको भए पनि उच्च नेतृत्व स्तरमा तालमेल हुन नसकेकाले अन्यत्र कतै पनि हामीले आफ्ना उम्मेदवारहरू फिर्ता गर्ने कार्य गरेका थिएनौँ । बागलुङको समानुपातिकतर्फको बन्दसूचीमा पनि केन्द्रमा भएको छलफल वा सम्बन्धित जिल्लाबाट आएको सुझाव अनुसार उम्मेदवारहरूमा कैयौँपल्ट फेरबदल गरिएको थियो । अन्तमा निर्वाचन आयोगले ठेगान गरेको पद्धति अनुसार नै ४ नम्बर प्रदेशको समानुपातिकतर्फ एकजना जनजाति महिला र ५ नम्बर प्रदेशको समानुपातिकतर्फ एक जना खस महिलालाई प्रदेश सभामा पठाउने निर्णय गरिएको थियो । विभिन्न जिल्लाहरूको रिपोर्ट र आवश्यकता अनुसार देशका प्रत्यक्ष वा समानुपातिकतर्फका कैयौँ उम्मेदवारहरूको नाममा परिवर्तन गरिएको थियो । त्यो सम्पूर्ण कार्य पार्टीले पहिलेदेखि अपनाउँदै आएको पद्धति अनुसार नै गरिएको छ ।
––– –––
समग्रमा अहिलेको चुनावको परिणाम सन्तोषजनक नै रहेको छ । अहिलेको चुनावमा प्रतिनिधि सभाको समानुपातिकतर्फ पहिलेकोभन्दा कम मत आएकाले परिणाम निराशाजनक भयो भन्ने आलोचना पनि हुने गरेको पाइन्छ । तर कुरा त्यस्तो होइन । प्रथम पहिलेदेखि नै चुनावको परिणाम क्रमशः कम हुँदै गएको छ । पहिले हाम्रो वैधानिक मोर्चाले ५ वटा संसदीय सिटहरू जितेको थियो (बागलुङमा २, प्युठानमा २ र अर्घाखाँचीमा १) । २०६४ को चुनावमा बागलुङमा प्रत्यक्षतर्फ १ सिट मात्र जितेको थियो । २०७० को संविधान सभाको चुनावमा हामीले प्रत्यक्षतर्फ कतै पनि एउटा सिट पनि जित्न सकेका थिएनौँ । त्यो अवस्थामा अहिले कमसेकम प्रतिनिधि सभामा १ र प्रदेश सभामा ४ वटा सिटहरूमा विजय प्राप्त भएको छ । त्यसरी २०७० को चुनावको तुलनामा अहिलेको चुनावको परिणाम उपलब्धिमूलक नै भएको भन्न सकिन्छ ।
२०७० को चुनावमा समानुपातिकतर्फ हामीले ३ सिट प्राप्त गरेका थियौँ भने अहिले १ सिट पनि प्राप्त गरेनौँ । तर त्यस प्रकारको परिणाम परिस्थितिजन्य हो । २०७० को चुनावमा थ्रेसहोल्ड लगाइएको थिएन । तर अहिले चुनावमा लगाइएको थियो । २०७० मा हाम्रो समानुपातिकतर्फको भोट एक प्रतिशत पनि पुगेको थिएन । त्यो अवस्थामा त्यो बेला पनि थ्रेसहोल्ड लगाइएको भए हामीले समानुपातिकतर्फ १ सिट पनि प्राप्त गर्न नसक्ने कुरा प्रष्ट छ । अहिलेको चुनावमा थ्रेसहोल्डका कारणले हामीले १ सिट पनि प्राप्त गर्नु सम्भव हुने छैन भन्ने कुरा हाम्रा साथीहरूमा प्रारम्भदेखि मानसिकता बन्यो । त्यसले गर्दा हाम्रा साथीहरूले समानुपातिकतर्फको चुनावमा खास उत्साह वा सक्रियता देखाएनन् । केन्द्रले बारम्बार जोड दिनुको बाबजुद समानुपातिकतर्फका उम्मेदवारहरूको पक्षमा कुनै प्रचार नै गरिएन वा अत्यन्त कम प्रचार गरियो । सामाजिक सञ्जालहरूमा पार्टीको चुनावमा तालमेलको नीति वा कतिपय उम्मेदवारहरूको विरोध गरेका कारणले प्रवासबाट नेपालको चुनावको प्रचारमा आउने साथीहरूको उत्साहमा प्रतिकूल असर पर्‍यो र पहिलेका चुनावहरू वा स्थानीय चुनावहरूमा जति पनि साथीहरू नेपालमा आएनन् । ती कारणले गर्दा पनि समानुपातिकतर्फको चुनावमा कम मत प्राप्त भयो, तैपनि जस्तो किमाथि भनियो, अहिलेको चुनावको परिणाम उपलब्धीमूलक नै रहेको छ र त्यो हाम्रो साङ्गठनिक स्थिति अनुरूप नै छ । निश्चय नै देशव्यापी रूपमा चुनावको परिणाम अत्यन्त कम छ । तर त्यो देशव्यापी रूपमा हाम्रो सङ्गठनको अवस्था कम भएकाले नै त्यस्तो भएको हो । सङ्गठनात्मक स्थितिमा सुधार नगरिकन आन्दोलन वा चुनावमा प्रभावशाली भूमिका खेल्न सम्भव हुँदैन । अन्य पक्षहरूसित पनि हामीहरूको बलियो सङ्गठन भएपछि मात्र देशव्यापी रूपमा तालमेल हुन सक्दछ, अन्यथा होइन । त्यसैले हाम्रो ध्यान सङ्गठन विस्तार, सुदृढीकरण, अनुशासित र एकताबद्ध पार्टीको निर्माणतिर हुनुपर्दछ ।
पार्टीमा देखा परेको अनुशासनविहीनताका प्रवृत्तिहरूप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । अहिले चुनावका दौरानमा पार्टीको चुनावी तालमेलको नीति वा कतिपय ठाउहरूमा प्रतिनिधि सभाका प्रत्यक्ष उमेदवार वा प्रादेशिक सभाका समानुपातिकतर्फका उमेदवारहरूको खुला रूपले विरोध गर्ने कामहरू पनि भए । पार्टीका नीतिहरूको सार्वजनिक रूपले नै विरोध गर्ने कतिपय अवस्थामा देशव्यापी रूपमा ‘ह्विस्परिङ’ गर्ने कार्यहरू पनि भए । त्यसरी पार्टीभित्र देखा परेका अनुशासनविहीनताका प्रवृत्तिहरूलाई हामीले गम्भीर रूपमा लिनुु पर्दछ र पार्टीभित्र अनुशासन र एकताको वातावरण तयार पार्न प्रयत्न गर्न विशेष ध्यान दिनु पर्ने आवश्यकता छ ।
पार्टीभित्र स्वतन्त्रतापूर्वक आफ्ना विचार वा मतभिन्नतालाई पनि प्रस्तुत गर्ने कार्यलाई हाम्रो पार्टीले कहिल्यै पनि रोक्ने गरेको छैन । तर त्यो कार्य पार्टीको विधान र नियम अनुसार अनुशासित प्रकारले नै हुनुपर्दछ । पार्टी अनुशासनको ख्याल नगरिकन एकतर्फी रूपमा पार्टी नेतृत्व वा नीतिहरूको विरोध गर्ने वा कामका दौरानमा पनि एकता कायम गर्ने कार्यमा ध्यान दिइएन भने अराजकताको स्थिति उत्पन्न हुन्छ । त्यो अवस्थामा पार्टी कम्युनिस्ट पार्टी नरहेर वुर्जुवा पार्टीमा बदलिने सम्भावना हुन्छ । त्यसैले हामीले एकातिर पार्टी सदस्यहरूको जनवादी अधिकार, अर्कातिर, पार्टी अनुशासनको रक्षाका लागि सबै पार्टी सदस्यहरूले ध्यान दिनु पर्ने आवश्यकतामा विशेष जोड दिन्छौँ । अहिले पार्टीमा जनवादलाई कुण्ठित गर्ने कुनै कार्य गरिएको छैन । तर अनुशासनको प्रश्नमा कैयौँ कमजोरीहरू देखा पर्ने गरेका छन् । कतिपय पार्टी सदस्यहरूमा पार्टी अनुशासनको उल्लङ्घन गर्ने वा खुला रूपले नै आफ्ना मतभेदहरूलाई बाहिर लैजान पाउने स्वतन्त्रतालाई नै जनवाद सम्झने सोचाइहरू पनि पाइन्छन् । तर जनवादी केन्द्रीयताको सिद्धान्तले एकातिर, जनवाद र अर्कातिर, केन्द्रीयता दुवैमाथि जोड दिन्छ । तर अराजकतावादी चिन्तन पद्धतिले ती दुवैमध्ये जनवाद वा छलफलको स्वतन्त्रतामाथि मात्र एकतर्फी रूपले जोड दिएर केन्द्रीयता र अनुशासनको विरोध गर्दछ । अहिले हाम्रो पार्टीमा त्यस प्रकारको अराजकताको स्थिति ता पैदा भएको छैन, तर त्यस प्रकारका कतिपय प्रवृत्तिहरू भने अवश्य देखा परेका छन् । त्यस कारण समयमा नै त्यस प्रकारका प्रवृत्तिहरूमा सुधार र नियन्त्रण गरेर जनवादी केन्द्रीयतका आधारमा पार्टी अनुशासन र एकतालाई कायम गर्न प्रयत्न गर्नु सबै पार्टी सदस्यहरूको दायित्व हुन्छ । धन्यवाद !

फर्कनुस्

बाँकी समाचार

•  देशको तात्कालिक राजनीतिक परिस्थिति बारे ने.क.पा. (मसाल)को नीति
•  तात्कालिक राजनैतिक प्रस्ताव
•  २०६३ फागुन २६-३० गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी मसालको सातौं महाधिवेशनमा पारित दस्तावेजहरु
•  तात्कालिक राजनीतिक प्रस्ताव
•  राजनीतिक प्रस्ताव
•  खस जाति सम्बन्धी प्रस्ताव (छलफलका लागि)
•  राज्य पुनर्संरचना सम्बन्धी ने.क.पा. (मसाल) को प्रस्ताव
• 
• 
• 
• 
•  तात्कालिक राजनीतिक प्रस्ताव
• 
•  निर्दलीय सरकारको विरोध गरौं, संविधानसभाको निर्वाचन सुनिश्चित गर्न संघर्ष गरौं ।
• 
• 
• 
•  अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सम्बन्धि प्रस्ताव
•  सरकारमा सहभागितासम्बन्धी राजनीतिक प्रस्ताव
• 
• 
•  तात्कालिक राजनीतिक प्रस्ताव
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.