नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम

(२०७४ श्रावण ४–५ गते नेकपा (मसाल)को पाँचौँ राष्ट्रिय भेलामा केन्द्रीय समितिकातर्फबाट प्रस्तुत तथा पारित प्रस्ताव)

१.नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई एक वर्षसम्म चलाउने र त्यो अवधिमा सङ्गठनात्मक अवस्थामा विशेष सुधार गर्ने निर्णय गरेको थियो । त्यसको प्रथम करिब ६ महिनाको अवधिमा जिल्लाहरूमा त्यो कार्यक्रम उत्साहजनक प्रकारले अगाडि बढ्यो । तर सङ्गठनात्मक विस्तारको काम सन्तोषजनक प्रकारले हुन सकेन । पार्टीमा तलैसम्म देखापरेको सङ्गठनात्मक कार्यमा ढिला–सुस्ती र निष्क्रियताले गर्दा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको कार्यान्वयनमा धेरै नै असर पर्‍यो ।
२.स्थानीय निर्वाचन सुरु भएपछि पार्टी केन्द्रले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र चुनावको अभियानलाई साथसाथै अगाडि बढाउने निर्णय गरेको थियो । शतवार्षिकी कार्यक्रमका सिलसिलामा मुख्यतः सङ्गठनात्मक विस्तारमा जोड दिनुपर्दथ्यो । त्यसबाट चुनावलाई पनि मद्दत पुग्दथ्यो । त्यसरी दुवैलाई साथसाथै अगाडि बढाउनु पर्दथ्यो र त्यसबाट दुवैलाई मद्दत पुग्दथ्यो । तर दुवै काम समानान्तर रूपले अगाडि बढाउन पार्टी केन्द्रले बारम्बार दिएको निर्देशन पनि कार्यान्वयन भएन र पार्टीको मुख्य ध्यान चुनावप्रति नै केन्द्रित भयो । त्यसरी समग्ररूपमा अहिलेसम्म अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत सङ्गठनात्मक विस्तारको दिशामा कुनै खास प्रगति हुन नसकेको कुरा प्रष्ट छ । पहिले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको कार्यान्वयनमा जुन कारणहरूले बाधा पुर्‍याएका थिए, ती अहिले पनि विद्यमान छन् ।
३.सङ्गठनात्मक कार्यमा प्रगति हुन नसक्नुको एउटा मुख्य कारण पार्टीको सङ्गठनात्मक कार्यमा ढिलासुस्ती नै हो । वास्तवमा त्यो कमजोरी अक्टोबर क्रान्तिको सिलसिलामा मात्र देखापरेको होइन । पहिले विभिन्न आन्दोलन, सांस्कृतिक कार्यक्रम वा विभिन्न अभियानहरू भएका बेलामा पनि सङ्गठनात्मक विस्तारको कार्य पछाडि पर्ने गरेको थियो । त्यो कमजोरी अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रममा पनि देखापर्ने गरेको छ । यदि त्यसमा सुधारका लागि आवश्यक कदम नउठाउने हो भने अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको बाँकी अवधिमा पनि सङ्गठनात्मक कार्यमा कुनै खास प्रगति हुनेछैन ।
४.पहिले शतवार्षिकी कार्यक्रमको बेलामा स्थानीय चुनाव भएजस्तै आगामी दिनहरूमा पनि २ नं. प्रदेशको स्थानीय चुनाव तथा प्रादेशिक र संसदीय चुनाव हुने कुरा भइरहेको छ । उक्त शतवार्षिकी कार्यक्रमलाई चुनावसित समन्वय कायम गरेर अगाडि बढाउन नसकेमा आगामी दिनहरूमा पनि सङ्गठनात्मक विस्तार गर्ने कार्यमा सन्तोषजनक प्रगति हुन सक्ने छैन ।
५.सङ्गठनात्मक विस्तारको प्रश्न अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको एउटा महत्वपूर्ण पक्ष ता हो नै । तर शतवार्षिकी कार्यक्रम बाहेक पार्टीको सम्पूर्ण राजनीतिक आन्दोलनका लागि पनि सङ्गठनात्मक विषयले गम्भीर र निर्णयात्मक महत्व राख्दछ । त्यसैले शतवार्षिकी कार्यक्रम बाहेक वा त्यो अवधि सकिएपछि पनि सङ्गठनात्मक पक्षको विस्तारले पार्टीका लागि धेरै नै महत्व राख्दछ, त्यसकारण, हामीले त्यो विषयमा लगातार जोड दिइरहनु पर्नेछ ।
६.अहिले विश्वव्यापी रूपमा नै कम्युनिष्ट आन्दोलन रक्षात्मक र कमजोर अवस्थामा छ । यो अवधिमा पहिलेका ठूला क्रान्तिकारी इतिहास वा गौरवपूर्ण भूमिका भएका कैयौँ कम्युनिष्ट पार्टीहरूको विघटन नै भएर गएको छ वा माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट विचलन भएर उनीहरू करिब–करिब बुर्जुवा सङ्गठनहरूका रूपमा मात्र बाँकी रहेका छन् । त्यस प्रकारको अन्तर्राष्ट्रिय पृष्ठभूमिमा पनि ने.क.पा. (मसाल)ले क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक मान्यताहरू कायम राख्दै आफ्नो अस्तित्व बचाउन सफल भएको छ र त्यो कम महत्वपूर्ण कार्य होइन । एकातिर, दक्षिणपन्थी र, अर्कातिर, उग्र“वामपन्थी” अवसरवादी विचारहरूका विरुद्ध सफलतापूर्वक सङ्घर्ष गर्दै र कार्यकर्ताहरूलाई वैचारिक रूपले प्रशिक्षित गर्ने वा कार्यकर्ताहरूको वैचारिक स्तर र सङ्गठनात्मक कार्यशैलीलाईमाथि उठाउन लगातार प्रयत्न गरेर नै हामीहरूलाई त्यस प्रकारको सफलता प्राप्त भएको हो । हाम्रो पार्टीको त्यस प्रकारको सफलताका कारण संसारका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू मध्ये ने.क.पा. (मसाल) धेरै नै बलियो र ठूलो पार्टीहरू मध्ये मानिन्छ । तर अहिलेसम्म हामीले जेजति सफलता प्राप्त गरेका छौँ, त्यो अत्यन्त कम छ र अहिले पनि ती प्रयत्नहरूमा कैयौँ कमजोरीहरू रहेका छन् । खास गरेर हाम्रो सङ्गठनात्मक संरचना धेरै नै कमजोर छ । देशका धेरै भागहरूमा हाम्रो सङ्गठनात्मक विस्तार हुन सकेको छैन र जहाँ सङ्गठन बनेको छ, त्यहाँ पनि हाम्रो सङ्गठनको अवस्था अपेक्षाकृत कमजोर छ । हामीले शतवार्षिकी कार्यक्रमको बेलामा त्यो अवस्थामा सुधार गर्ने निर्णय गरेका थियौँ । तर त्यो दिशामा पनि खास प्रगति हुन सकेन । तर हामी निराश हुनहुन्न र शतवार्षिकी कार्यक्रमको बाँकी अवधिमा त्यो उद्देश्यलाई अधिकतम मात्रामा पूरा गर्नु पर्दछ । 
७.उपरोक्त वास्तविकता र आवश्यकतामाथि गम्भीरतापूर्वक ध्यान दिंदै तत्काल निम्नलिखित सङ्गठनात्मक कार्यक्रमहरूमा जोड दिनुपर्दछ ः
(क)अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका लागि अब समय एकदम कम छ । असोज र कार्तिक दशैं–तिहारका महिनाहरू हुन् । त्यही बेला चुनाव पर्‍यो भने त्यो बेला पनि सङ्गठनात्मक काममा जान मुश्किल पर्नेछ । त्यसैले श्रावण १५ गतेदेखि भाद्रको अन्तसम्म सङ्गठनात्मक अभियान सञ्चालन गर्ने र तिहारपछि, अर्थात् कार्तिक १० गतेदेखि पुनः त्यो सङ्गठनात्मक अभियानलाई कार्तिक महिनाभर निरन्तरता दिने । यदि त्यही बीचमा कुनै चुनाव परेमा वा चुनावको मितिमा परिवर्तन भएमा त्यससित तालमेल गर्दै हामीले हाम्रो सङ्गठनात्मक अभियानलाई अगाडि बढाउने नीति अपनाउनु पर्नेछ ।
(ख)आश्विन २ गते प्रदेश नं. २ मा स्थानीय चुनाव हुँदैछ । त्यहाँ हाम्रो सङ्गठनात्मक आधार कमजोर भएकाले त्यहाँको चुनावमा हाम्रो भूमिका अपेक्षाकृत कम हुनेछ । त्यसैले त्यहाँको चुनावमा सामान्य रूपले लागे पनि त्यो अवधिमा देशव्यापी रूपमा सङ्गठनको अवस्था सुधारका लागि नै मुख्य जोड दिनुपर्नेछ ।
(ग)हामीले सङ्गठनात्मक अभियान सञ्चालन गर्दा सङ्गठनात्मक अवस्थाको अनुपातमा नै सङ्गठनात्मक अभियानको सञ्चालन गर्ने नीति अपनाउनु पर्दछ । शतवार्षिकी कार्यक्रमको बाँकी रहेको छोटो अवधिमाथि विचार गर्दा त्यो अवधिमा देशव्यापी रूपमा सङ्गठनात्मक अभियान सञ्चालन गर्नु सम्भव हुनेछैन । खास गरेर जुन स्थानहरूमा हाम्रो सङ्गठन अपेक्षाकृत बलियो छ, त्यहाँ सङ्गठनलाई अरू विस्तार गर्न र सुदृढ गर्ने प्रयत्न गर्नुपर्दछ भने त्यही नीति अनुसार अन्यत्र पनि क्रमशः सङ्गठनको अवस्था अनुसार अभियान सञ्चालन गर्ने नीति अपनाउनु पर्दछ । अहिले हामीले आफ्ना सीमित कार्यकर्ताहरूलाई सबैतिर छर्नेभन्दा पनि सङ्गठन विस्तारको बढी सम्भावना भएका जिल्ला वा स्थानहरूमा नै आफ्नो सीमित कार्यकर्ता र साधनहरू केन्द्रित गर्ने नीति अपनाउनु पर्दछ ।
८.आर्थिक आधारलाई बलियो नबनाई सङ्गठनात्मक विस्तार गर्नु, कार्यकर्ताहरूको परिचालन गर्नु, आन्दोलनलाई सफलतापूर्वक सञ्चालन गर्नु, प्रचार कार्य गर्नु पनि सम्भव हुन्न । पार्टी समिति, मोर्चा र विभिन्न जनवर्गीय सङ्गठनहरूबाट प्राप्त हुने लेभि, जनताबाट चन्दाको सङ्कलन, माथिल्लो समितिमा पठाउने कोटा समेतलाई नियमित पार्न र बढाउन विशेष ध्यान दिनु पर्दछ । आर्थिक अभाव भयो भने सङ्गठनात्मक अभियान सञ्चालन गर्नु सम्भव हुनेछैन । त्यसकारण, जुन जिल्लाहरूमा कार्यकर्ताहरू सङ्गठनात्मक अभियानका लागि जान्छन्, उनीहरूको सम्पूर्ण खर्चको जिम्मेवारी सामान्यतः जिल्ला पार्टीको हुनेछ भने सङ्गठनात्मक अभियानमा लागेका कार्यकर्ताहरूले स्वयं पनि आर्थिक सङ्कलन गर्ने प्रयत्न गर्नुपर्नेछ । पार्टी केन्द्रले पनि त्यसका लागि आर्थिक सङ्कलन गर्ने प्रयत्न गर्नुपर्नेछ ।
९.हामीले तात्कालिक रूपमा बढीभन्दा बढी सदस्य बनाउन, सङ्गठनात्मक विस्तार गर्न प्रयत्न गर्नुका साथै त्यसलाई सुदृढ गर्नेतिर पनि ध्यान दिनुपर्नेछ । त्यसका लागि ठूलो सङ्ख्यामा स्थायी पेशेवर कार्यकर्ताहरूको आवश्यकता हुनेछ । त्यसका लागि पार्टीले अनिवार्य कार्यकर्ता सहायता कोष अन्तर्गत बढीभन्दा बढी सङ्ख्यामा न्यूनतम मासिक एक हजार दिने सहयोग दाताहरू बनाउने प्रयत्न गर्नुपर्दछ । सङ्गठनात्मक अभियानको दौरानमा नियमित रूपमा आय आर्जन गर्ने देश र विदेशका सबै पार्टी सदस्य, समर्थक वा शुभचिन्तकहरू, उद्योगपति, व्यापारी, निर्माण व्यवसायी आदि सबैलाई मासिक एक हजार सहयोग दिनका लागि प्रेरित गर्नुपर्दछ ।
१०.हामीले हाम्रा अगाडि भएका जिम्मेवारीहरू पूरा गर्न तथा सङ्गठन विस्तार गर्नका लागि बढीभन्दा बढी सक्रिय हुनुका साथै अत्यन्त अनुशासित भएर तथा एकतालाई सुदृढ बनाएर पनि काम गर्नुपर्ने आवश्यकता छ । सङ्गठनमा अनुशासनको कमी भयो वा आपसमा अन्तर्विरोधहरू बढ्दै गए भने हामीले हाम्रा कुनै जिम्मेवारी पनि सफलापूर्वक सम्पन्न गर्न सक्ने छैनौँ । त्यसैले कार्यकर्ताहरूको सक्रियतालाई उच्चस्तरमा बढाउनुका साथै अनुशासन र एकतालाई सुदृढ गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टी अत्यन्त जोड दिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रिय कार्यालय

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्ति
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.