नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



संविधान सभा चुनाव सम्पन्न भएको छ । ठूलो आशङ्का र अनिश्चयताका बीचमा अन्तमा चुनाव सफल भएको छ । वम विष्फोट र कैयौँ ठाउँमा कैयौँ मानिस, केटाकेटी सहितको निधन वा घाइते हुनुका वावजुद अत्यधिक ठूलो सङ्ख्यामा भएको जनताको सहभागिताले उनीहरूको संविधान सभाप्रतिको ठूलो समर्थन र उत्साहलाई बताउँछ । निर्वाचन आयोगले बताए अनुसार अहिलेको चुनावमा भएको मतदानको प्रतिशत अहिलेसम्म भएका सबै चुनावहरूमध्ये सबैभन्दा बढी छ । अहिले चुनावमा ७० प्रतिशत मत खसेको छ, जो २०६४ सालमा भएको संविधान सभाको चुनावभन्दा ७ प्रतिशत बढी हो । जनताको चुनावप्रतिको त्यस प्रकारको समर्थन र उत्साह संविधानको निर्माण गर्न पहिलो चुनावको असफलताका कारणले उत्पन्न पीडा र निराशा तथा दोस्रो संविधान सभाद्वारा संविधानको निर्माण हुनु पर्दछ भन्ने व्यापक जनमतको अभिव्यक्ति हो ।
जनताले ठूलो सङ्ख्यामा मतदान गरेर संविधान सभाको चुनावलाई सफल बनाएका छन् । जनताको त्यो इच्छा र आशालाई पूरा गर्ने जिम्मेवारी अब राजनैतिक दलहरूको काँधमा आएको छ । हामीले आशा र कामना गर्दछौँ ः देशका राजनीतिक दलहरूले गत कालका जस्ता गल्तीहरू दोहोयाउने छैनन् र इतिहासले उनीहरूको काँधमा राखिदिएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नेछन् । त्यसरी दोस्रो संविधान सभाले पहलो संविधान सभाको इतिहास दोहोराउने छैन भन्ने हामीले आशा गर्दछौँ ।
अहिलेको सबैभन्दा ठूलो आवश्यकता गणतन्त्रलाई संस्थागत गर्नु हो । लोकतान्त्रिक संविधानको निर्माण गरेर नै त्यो ऐतिहासिक आवश्यकता पूरा हुनेछ । जातिवादी र क्षेत्रीयतावादीहरूले जातिवादी वा क्षेत्रीयतावादी प्रकारको संविधान बनाउन प्रयत्न गर्ने कुरा स्पष्ट छ । उनीहरूको त्यो प्रयत्न सफल भयो भने देशमा जातीय र क्षेत्रीय विग्रह वा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न हुनेछ । त्यसकारण त्यस प्रकारको संविधान बन्न नदिन उच्च सतर्कता अपनाउन प्रयत्न गर्नु नयाँ निर्वाचित सभासदहरूको कर्तव्य र ऐतिहासिक दायित्व हुन्छ । जसले पहिले जातिवाद वा क्षेत्रीयतावादलाई समर्थन गरेका थिए, उनीहरूले पनि आफ्ना पहिलेका अवधारणाहरूबारे पुनर्विचार गर्नु पर्ने आवश्यकता छ, नत्र इतिहासले उनीहरूलाई क्षमा दिने छैन ।
देशको सबैजसो राजनीतिक दलहरूले सङ्घीयतालाई समर्थन गर्दछन् । हाम्रो यो स्पष्ट र दृढ मत छ कि सङ्घीयता देशका लागि अनुपयुक्त छ । त्यसैले त्यसप्रतिको हाम्रो विरोध कायम रहनेछ र संविधान सभाभित्र वा वाहिर पनि देशलाई सङ्घीयतातर्फ जान नदिन लगातार र सम्झौताहीन प्रकारले सङ्घर्ष गरिरहने हाम्रो नीति हुनेछ । राष्ट्रिय जनमोर्चाले पनि त्यस प्रकारको नीतिलाई लगातार र दृढतापूर्वक अगाडि बढाउँदै आएको छ र भविष्यमा पनि त्यसको त्यस प्रकारको नीति कायम रहनेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । त्यसका साथै अन्य राजनैतिक दलहरूसित पनि सङ्घीयताको आफ्ना अवधारणाबारे पुनर्विचार गर्न र त्यसलाई सच्याउन अनुरोध गर्दछौँ । उनीहरूले सङ्घीयतासम्बन्धी पुरानै अडान लिएर त्यस अनुसार संविधान बनाउने निर्णय गरे भने इतिहासले उनीहरूको त्यस प्रकारको कदमलाई गलत सावित गर्नेछ । त्यसपछि सम्भवतः धेरै क्षति उठाएर भविष्यमा नेपाली जनताले त्यस प्रकारको गल्तीलाई सच्याउनु पर्नेछ र पुनः सङ्घीयतालाई खारेज गर्ने निर्णय गर्नु पर्नेछ । तर त्यस प्रकारको क्षति हुन नदिइकन त्यस प्रकारको गल्तीलाई सच्याउनु बुद्धिमत्ताको कुरा हुनेछ । हामीले त्यसका लागि सम्बन्धित राजनैतिक दलहरू वा संविधान सभामा चुनिएर गएका सभासदहरूसित अनुरोध गर्दछौँ ।
अहिले देशको राष्ट्रियताका अगाडि पनि गम्भीर खतरा उत्पन्न भएको छ । सङ्घीयता, जातिवाद र क्षेत्रीयतावाद स्वयं विदेशी शक्तिहरूबाट देशको सार्वभौमिकता, राष्ट्रियता र अखण्डताका विरुद्धका सुनियोजित षडयन्त्रका परिणामहरू हुन् । सङ्घीयतासम्बन्धी गलत अवधारणाहरूलाई नसुधारिएमा सङ्घीयताका कारणले देशको राष्ट्रियतामा गम्भीर क्षति पुग्ने सम्भावना छ । सङ्घीयता वा त्यससित जोडिएका जातीय राज्य, आत्मनिर्णयका अधिकार, एक मधेश एक प्रदेश, वहुराष्ट्रवाद आदि अवधारणाहरूका कारणले देशको राष्ट्रियताका अगाडि गम्भीर खतरा उत्पन्न हुनुका साथै साम्राज्यवादी वा विस्तारवादी शक्तिहरूका नीति, हस्तक्षेप वा विभिन्न प्रकारका षडयन्त्रकारी भूमिकाहरूका कारणले पनि देशको राष्ट्रियताका अगाडि गम्भीर खतरा उत्पन्न भएको छ र त्यो लगातार बढ्दै गैरहेको छ । त्यो वाहेक गत कालमा देशको जलसम्पदा र अन्य विभिन्न विषयहरूमा गरिएका असमान र राष्ट्रघाती सन्धिहरू, नागरिकतासम्बन्धी राष्ट्रघाती अध्यादेश वा कानुन आदिका कारणले राष्ट्रियताका अगाडिको खतरा धेरै नै गम्भीर बनेको छ र देश फिजी वा सिक्किम बन्ने खतरा बढ्दै गैरहेको छ । त्यसकारण देशको राष्ट्रियताका अगाडि बढिरहेको त्यस प्रकारको खतराका विरुद्ध उच्च प्रकारको सतर्कताको दृष्टिकोण अपनाउनु अहिलेको एउटा प्रमुख राजनैतिक आवश्यकता भएको छ । आगामी संविधान सभामा पनि त्यो पक्षलाई गम्भीर रूपमा लिनका लागि हामीले सबै देशभक्त शक्तिहरूको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ ।
अहिले संविधान सभाको चुनाव सम्पन्न भैसकेको छ । लोकतान्त्रिक संविधानको निर्माण गर्नु र गणतन्त्रलाई संस्थागत गर्नु त्यसका मुख्य जिम्मेवारीहरू हुन् । तर ती कामहरू सम्पन्न भए पनि यो व्यवस्था अन्तर्गत जनताका आधारभूत समस्याहरूको समाधान हुने छैन र वास्तविक अर्थमा लोकतन्त्र संस्थागत हुने छैन । त्यसका लागि लामो क्रान्तिकारी आन्दोलन, वर्तमान राजनैतिक र आर्थिक व्यवस्थामा आमूल परिवर्तन, देशको विद्यमान अर्धसामन्ती व्यवस्थाको अन्त र नयाँ जनवादी क्रान्तिको सफलता आवश्यक हुनेछ । तर संविधान सभाको चुनाव र त्यसका उपलब्धीहरूको त्यस प्रकारको सीमाका वावजुद हाम्रो पार्टीले प्रथम, वर्तमान संसद्भित्र पनि संविधानलाई अधिकतम रूपमा प्रगतिशील र जनपक्षीय रूप दिने प्रयत्न गर्नेछ । द्वितीय, लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्न सबै सम्भव तरिकाले योगदान दिने हाम्रो प्रयत्न हुनेछ । त्यसका साथै वर्तमान व्यवस्थामा आमूल परिवर्तनका लागि जनताको चेतना र सङ्घर्षको स्तर उठाउन हाम्रो सङ्घर्ष जारी रहनेछ ।
अहिलेको चुनावमा विदेशस्थित नेपाली नागरिकहरूलाई मताधिकारबाट वञ्चित गराइयो । उनीहरूलाई मतदाता सूचीमा आफ्नो नामावली दर्ता गर्न पनि आवश्यक व्यवस्था गरिएन । प्रमुख राजनीतिक दलहरू, सरकार वा निर्वाचन आयोगले प्रवासी नेपालीप्रति देखाएको त्यस प्रकारको उपेक्षापूर्ण नीतिको तीव्र आलोचना गर्दै हाम्रो पार्टीले भविष्यमा हुने चुनावमा उनीहरूलाई मताधिकार र समानुपातिक प्रतिनिधित्वको अधिकार दिलाउन लागि संविधानभित्र र वाहिर आफ्नो सङ्घर्षलाई जारी राख्ने प्रतिवद्धता प्रकट गर्दछ । त्यसका साथै अहिले कतिपय राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा प्रवासी नेपालीहरूलाई मताधिकार दिन सकारात्मक दृष्टिकोण अपनाएको कुरालाई स्वागत गर्दै सबै राजनैतिक शक्तिसित प्रवासी नेपालीहरूलाई मताधिकार र समानुपातिक प्रतिनिधित्व दिलाउनका लागि आवश्यक कानुनी व्यवस्था गर्न ठोस पहल गर्नका लागि हामीले अनुरोध गर्दछौँ ।
नेकपामाओवादीसित संविधान सभाको चुनावप्रति सकारात्मक दृष्टिकोण अपनाउन हाम्रो पार्टीले प्रारम्भदेखि नै अनुरोध गर्दै आएको थियो । अब संविधान सभाको चुनाव सम्पन्न भैसकेको छ । पहिले उनीहरूले संविधान सभाको चुनावप्रति विरोधको नीति अपनाए पनि अब लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्रलाई संस्थागत गर्ने कार्य, संविधानलाई बढीभन्दा बढी प्रगतिशील र जनपक्षीय रूप दिन वा राष्ट्रियताको रक्षाका लागि सकारात्मक भूमिका खेल्नका लागि हामीले उनीहरूसित अनुरोध गर्दछौँ । त्यो दिशामा उनीहरूले अपनाउने नीति र आन्दोलनहरूसित एक्यवद्धता कायम गर्ने हाम्रो नीति हुनेछ । त्यसका साथै वहिष्कार आन्दोलनको दौरानमा गिरफ्तार भएका उनीहरूका सबै कार्यकर्ताहरूका विरुद्ध कुनै मुद्दा नचालाउन र बिना शर्त रिहा गर्न पनि हाम्रो पार्टीले सरकारसित माग गर्दछ ।
चुनावको दौरानमा कतिपय राजनैतिक शक्तिहरूले पैसा, गुण्डागर्दी वा विभिन्न गैरराजनैतिक तरिकाहरू अपनाएर जनतालाई प्रभावित वा आतङ्कित गर्ने प्रयत्न गरे पनि, सङ्घीयता, जातिवाद र क्षेत्रीयतावादका पक्षमा जनतालाई व्यापक रूपले उत्तेजित पार्ने प्रयत्न गरे पनि जनताले ठूलो सङ्ख्यामा हाम्रो पार्टीद्वारा समर्थित प्रत्यक्ष वा समानुपातिक उम्मेदवारहरूलाई समर्थन गरेका छन् । त्यो वास्तवमा हाम्रो पार्टीका नीतिहरूप्रतिको समर्थन वा राष्ट्रिय जनमोर्चाका गणतन्त्रलाई संस्थागत गरौँ, राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयताको विरोध गरौँ भन्ने नाराहरू र त्यसले पहिलेदेखि र अहिले संविधान सभाको चुनावका बेलामा खेलेको भूमिकाप्रतिको समर्थन हो । त्यस प्रकारको समर्थन र मतदानका लागि हाम्रो पार्टीले सम्पूर्ण जनताप्रति आभार प्रकट गर्न चाहान्छ । गणतन्त्र र राष्ट्रियताका पक्षमा र सङ्घीयताका विरुद्धको हाम्रो अहिलेको सङ्घर्ष संविधान सभाभित्र र वाहिर पनि लगातार चलिरहनेछ । अहिले हामीलाई मत नदिएका जनताले पनि लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत वा राष्ट्रियताको पक्षमा जनताले ठूलो सङ्ख्यामा मतदान गरेका छन् । त्यसरी मतदान गर्ने जनतालाई पनि हाम्रो पार्टीले वधाइ दिन चाहान्छ ।
अहिले सम्पन्न चुनाव कहाँसम्म स्वच्छ र स्वतन्त्र तरिकाले सम्पन्न भयो वा त्यसमा विभिन्न प्रकारले कहाँसम्म धाँदली गरियो ? त्यो कुरा पछि आउने विवरणहरूबाट नै थाहा हुनेछ । त्यसका आधारमा हाम्रो पार्टीले चुनावको सम्पूर्ण रूपमा समीक्षा गर्नेछ र त्यससम्बन्धी आफ्ना व्याख्याहरू प्रस्तुत गर्नेछ । त्यसका साथै चुनावको सम्पूर्ण परिणाम आएपछि हाम्रो पार्टीले त्यसको सम्पूर्ण स्वरूपबारे पनि आफ्नो विस्तृत व्याख्या र विश्लेषण प्रस्तुत गर्नेछ । त्यसैले अहिले यो वक्तव्यमा हामी चुनावसम्बन्धी आफ्ना प्रारम्भिक र सर्सरी प्रकारका विचारहरू प्रकट गर्नेसम्म नै सीमित रहेका छौँ ।

मिति ः २०७० मंसिर ५ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.