नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


प्रधानमन्त्री डा. बाबुराम भट्टराइले ब्राजिलको रियो अन्तर्राष्ट्रिय सम्मेलनबाट फर्केपछि दिएको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यहाँबाट फर्केपछि उनले दरो शब्दमा आगामी निर्वाचनभन्दा पहिले सरकारबाट नहट्ने जुन प्रकारको अभिव्यक्ति दिएका छन्, त्यो गम्भीर प्रकारले आपत्तिजनक छ । त्यो अभिव्यक्ति ब्राजिल जानुभन्दा पहिले सहमति भएमा कुनै बेला पनि प्रधानमन्त्री छाड्न तयार हुने भनेर उनले दिने गरेका अभिव्यक्तिहरुभन्दा विल्कुल विपरीत छ । यो बुझ्न गाह्रो पर्दैन, उनको त्यस प्रकारको अभिव्यक्ति विभिन्न देशहरुका प्रमुखहरु समेतको भेटघाटपछि, मुख्यतः भारतका प्रधानमन्त्रीबाट बल प्राप्त भएपछि नै प्रकट भएको छ । त्यस सन्दर्भमा यो पनि बुझ्न गाह्रो पर्दैन, भट्टराईलाई लगातार सत्तामा टिकाएर उनीद्वारा आफ्ना विस्तारवादी स्वार्थहरु पूरा गर्न नै भारतीय विस्तारवादले उनलाई सत्तामा रहन पूरा मद्दत गर्ने भरोसा दिएपछि नै उनको स्वरमा परिवर्तन भएको हो ।
प्रधानमन्त्रीको अहिलेको अभिव्यक्तिले यो कुराको संकेत दिन्छ कि उनले राजनीतिक सहमतिको बाटो छाडेर शक्तिको बलमा अन्य राजनीतिक शक्तिहरुलाई दवाएर सत्तामा टिकिरहन र त्यसरी भारतीय विस्तारवादको सेवाको राजनीतिलाई अगाडि बढाउन चाहन्छन् । त्यस सन्दर्भमा आवश्यक पयो भने उनी राष्ट्रपतिका पनि विरुद्ध जाने, राष्ट्रपतिलाई दवाउने प्रयत्न गर्ने, उनको सरकारले पेश गरेको अध्यादेशहरुलाई जवर्जस्तीपूर्वक हस्ताक्षर गर्न दवाव दिने र त्यसरी देशमा आफ्नो अधिनायकवादी प्रणाली कायम गर्ने प्रयत्न गर्नेछन् । समग्ररुपमा उनको त्यो अभिव्यक्तिलाई हल्का रुपमा लिनु सही हुने छैन । त्यो अभिव्यक्तिले आउने दिनमा गम्भीर प्रकारको राजनीतिक खतराको आभाष दिन्छ र व्यापक राष्ट्रिय ऐक्यवद्धताद्वारा नै त्यो खतराको सामना गर्नु पर्ने आवश्यकता उत्पन्न भएको छ ।
अहिलेको सरकार काम चलाउ सरकार मात्र हो । त्यसकारण छिटै यो सरकारको ठाउँमा राजनीतिक सहमतिका आधारमा अर्को सरकारको मातहतमा संविधानसभाको निर्वाचन तथा त्यसद्वारा संविधानको निर्माण हुनु आजका राष्ट्रिय आवश्यकताहरु हुन् । त्यो निर्वाचनका लागि भएका संवैधानिक वा कानूनी समस्याहरुलाई राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको बाधा अडकाउ फुकाउने अधिकारको प्रयोग गर्दै छिटोभन्दा छिटो संविधानसभाको निर्वाचन सम्पन्न गरिनु पर्दछ ।
माओवादीमा भएको फुटलाई पनि हाम्रो पार्टीले गम्भीर रुपमा लिएको छ । उनीहरुले सार्वजनिक रुपले नै शान्ति, संविधान र गणतन्त्र वा स्पष्ट शब्दमा भन्ने हो भने स्वयं उनीहरुको चुनवाङ बैठकको लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिका विरुद्ध जाने नीति अपनाएका छन् । उनीहरुले क्रान्तिकारिताको नाममा त्यस प्रकारको नीतिलाई अगाडि बढाउने कुरा गरिरहेका छन् । संस्थापन पक्षका विरुद्धको उनीहरुको नवसंशोधनवादको आलोचना तथा अन्य कतिपय आलोचनाहरुलाई गलत मान्न सकिन्न । तर उनीहरुको नीतिले मूल रुपमा गणतन्त्रको पक्षलाई कमजोर पार्नेछ । त्यसरी उनीहरुको फुटले लोकतन्त्रको आन्दोलनलाई कमजोर पार्ने र प्रतिगमनलाई मद्दत गर्ने नै काम गर्नेछ ।
उनीहरुले उनीहरुको संगठन पनि अब देशको एउटा प्रमुख राजनीतिक शक्ति भएकाले प्रमुख राजनीतिक शक्तिहरुको वार्तामा उनीहरुलाई समेत सामेल गर्नुपर्ने कुरा उठाउन थालेका छन् । संगठनात्मक रुपमा उनीहरुको नवगठित संगठन पनि देशको एउटा बलियो संगठन भएको कुरालाई अस्वीकार गर्न सकिन्न । तर राजनीतिक रुपमा यो वास्तविकताप्रति पनि हाम्रो ध्यान छ  कि ०६२६३ को आन्दोलन, शान्ति, लोकतान्त्रिक संविधान र गणतन्त्र समेतप्रतिको उनीहरुको नकारात्मक दृष्टिकोणका कारणले उनीहरु राष्ट्रिय महत्वको कुनै वार्तामा सामेल भए पनि शान्ति, संविधान र गणतन्त्रका पक्षमा सहमति कायम गर्नेभन्दा ती कार्यहरुमा सम्भव भएसम्म बाधा हाल्ने र ती कार्यहरु सफल हुन नदिने नै उनीहरुको मुख्य प्रयत्न हुनेछ ।
नवगठित माओवादी संगठनले घोषित रुपले नै जातिवाद र क्षेत्रीयतावादका पक्ष लिएको छ । त्यसले गर्दा उनीहरुका राजनीतिक भूमिकाले जातीय र क्षेत्रीय विग्रह वा राष्ट्रिय विखण्डनका प्रवृत्ति वा प्रयत्नहरुलाई नै प्रोत्साहित गर्ने छ । उनीहरुले संविधानसभाको चुनाव समेतको विरोध गरेर गोलमेच सम्मेलनद्वारा संविधानको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइरहेका छन् । उनीहरुले जुन प्रकारको गोलमेच सम्मेलनको कुरा गरिरहेका छन्, त्यसमा सबै जातिवादी र क्षेत्रीयतावादी संगठनहरुका प्रतिनिधिहरुलाई समेत सामेल गर्ने उनीहरुको प्रयत्न हुनेछ । त्यसरी उनीहरुद्वारा प्रस्तावित गोलमेच सम्मेलनले राजनीतिलाई कुनै सही र सकारात्मक दिशा दिन नसक्ने कुरा प्रष्ट छ । उनीहरुको बढी ध्यान देशमा शान्ति, संविधान र गणतन्त्रको पक्षमा वातावरण वा सहमति तयार पार्नेतिरभन्दा पनि ती सबैमा बाधा हाल्ने र सबै सम्भव तरिकाले अशान्ति र अव्यवस्था पैदा गर्ने तर्फ नै बढी केन्द्रित छ । उनीहरुले अपनाउने त्यस प्रकारको नीतिहरुको विरुद्ध सही सैद्धान्तिक र राजनीतिक आधारमा सशक्त रुपले संघर्ष गरेर नै अहिलेको राष्ट्रिय जिम्मेवारीहरु पूरा गर्नु सम्भव हुनेछ । तैपनि वर्तमान सरकारलाई वर्खास्त गर्ने र राष्ट्रियताको पक्षमा उनीहरुले स्पष्ट अडान लिएका छन् । उनीहरुले देशको राजनीतिक सन्दर्भमा लिने त्यस प्रकारका कुनै पनि सकारात्मक नीतिहरु वा उनीहरुले संगठित गर्ने आन्दोलनहरुप्रति हाम्रो सकारात्मक दृष्टिकोण हुनेछ र प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस प्रकारका नीति वा कार्यक्रमहरुसित तालमेल गर्ने वा विषयको औचित्यता अनुसार समर्थन गर्ने हाम्रो प्रयत्न हुनेछ ।
सरकारले राष्ट्रपतिको अध्यादेशद्वारा कतिपय विधेयकहरुलाई जारी गर्ने काम गरिसकेको छ । ती विधेयकहरु स्वयं कति सही वा गलत छन् भन्ने कुराभन्दा पनि एउटा काम चलाउ सरकारद्वारा अपनाइएको त्यस प्रकारको प्रक्रिया गम्भीर रुपले गलत छ । अब प्रधानमन्त्रीले राष्ट्रपतिको अध्यादेशद्वारा नै पूर्ण बजेट पनि जारी गर्ने घोषणा गरेका छन् । त्यस प्रकारको अभिव्यक्तिका पछाडि एउटा काम चलाउ सरकारले पूरै अधिकार सम्पन्न सरकारका रुपमा काम गर्ने तथा त्यसलाई अधिनायकवादी रुपमा निरन्तरता दिने उद्देश्यले काम गरेको कुरा प्रष्ट छ । अहिलेको बजेट एउटा काम चलाउ सरकारको सिफारिसमा होइन, राष्ट्रिय सहमतिद्वारा गठन भएको सरकारको सिफारिसमा नै राष्ट्रपतिको अध्यादेशमा जारी गरिनु पर्दछ । तर वर्तमान सरकारद्वारा नै त्यसलाई जारी गर्ने प्रयत्न गरियो भने त्यसले गम्भीर राजनीतिक परिस्थिति र एक प्रकारको भिडन्तको अवस्थाको सिर्जना गर्नेछ ।
कोरिया स्थित भारतीय राजदुतको सगरमाथा
भारतमा भएको बताउने वक्तव्य अत्यन्त आपत्तिजनक ता छ नै । त्यो वक्तव्य नेपालप्रतिको भारतीय श्रृंखलावद्ध विस्तारवादी नीतिको एउटा कडी मात्र हो । त्यसैले खालि यो वक्तव्यका मात्र होइन, त्यस प्रकारको सम्पूर्ण विस्तारवादी नीतिको विरुद्ध नै सशक्त रुपले आवाज उठाउनु वा संघषर््ँ गर्नु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

मिति २०६९ आषाढ १२ गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.